पृथ्वी जयन्ती विशेष

पृथ्वीनारायणको पहिलो विवाह: उपत्यका विजयको मूहूर्त बन्यो

राजेन्द्रप्रसाद अर्याल
२७ पुष २०८१ ७:२८

गोरखा राज्यको राजगद्दीका उत्तराधिकारी, जसको विवाह उपयुक्त समयमा गर्ने र बेलैमा उसको सन्तान देख्ने चाहना राजा नरभूपाल शाहको परिवारमा बढ्दै जानु स्वभाविकै थियो। त्यस बखत युवराज पृथ्वीनारायणको उमेर १६ वर्ष पुगेको थियो।

विबाहको प्रशंगमा राजपरिवारको चाहना पनि बढ्दै गएको अवस्थाले युवराजको विवाहका गफगाफ, छलफल र बैठकहरू गोरखा दरवारमा चल्दै गयो। आफ्ना छिमेकी वाइसी चौबिसी राजा रजौटा परिवारमा हुर्केका कन्याहरूका सम्बन्धमा जानकारी राख्दै जाने क्रम पनि बढ्दै गयो।

पृथ्वीनारायणको विवाह प्रसंगले छिमेकी मुलुकहरूमा पनि चर्चाको विषय बन्यो। त्यही क्रममा मकवानपुरका राजा हेमकर्ण सेनले पनि आफ्नी सुपत्री जसको उमेर १२ वर्ष भइसकेको थियो, निजको विवाहको सम्बन्धमा एउटा सुयोग्यवरको कल्पना गरिरेहको अवस्था थियो।

यही अवस्थामा पृथ्वीनारायणको विवाह चर्चाको समाचार मकवानपुर दरवारमा छिर्‍याे। हेमकर्ण सेनले आफ्नी छोरी इन्द्रकुमारीलाई युवराज पृथ्वीनारायणसँग विवाह गराउने अठोट गरे।

सेन वंशले आफ्नो खान्दानी प्रभाव जमाएकै थियो। हेमकर्ण सेनले गरेको अठोटलाई गोरखा दरवार पुर्‍याइयो। गोरखाभन्दा ठूलो राज्य, शक्ति सम्पन्न, मजबुत आर्थिक अवस्था थियो मकवानपुरको।

गोरखा दरबारले इन्द्रकुमारीसँग विवाह हुन सकेमा विविध पक्षको फाइदा लगाएत गोरखालीको प्रतिष्ठामा बृद्धि हुने र भविष्यमा राजनैतिक सहयोग मिल्नसक्ने सम्भाबना देख्यो। यसरी दुवै पक्षको आ-आफ्नो अनुकूल र फाइदाको खातिर पृथ्वीनारायण शाह र इन्द्रकमारीको बीचमा विवाह सम्पन्न हुन गयो।

गोरखा र मकवानपुर भौगोलिक हिसाबले टाढा भएको हुँदा आ-आफ्नो स्थानमा बसेर विवाह सम्पन्न गर्न सजिलो अवस्य थिएन। अतः पृथ्वीनारायण केही समयपूर्व नै मकवानपुर जाने र त्यहाँ नै बसेर विवाह सम्पन्न गर्नु पर्ने अवस्थाले गर्दा कालु पाण्डे र भानुभक्त अर्याललाई आवश्यक तयारीको लागि मकवानपुर पठाइयो।

हेमकर्ण सेनको परिवार लगाएत दरबारका अन्य भाइ-भारदारहरूले गोरखा सानो राज्य र पहाडिया भएबाट जिस्क्याउने, रवाफ देखाउने अनि आफुहरू सभ्य, सौम्य हौँ भन्ने जस्ता अभिव्यक्ति झल्किने गरी ठाँटबाँट, तडकभडक अनि रवाफ देखाउदै विवाह सम्पन्न गरे।

अर्कोतर्फ हेमकर्णको श्रीमतीले-“हाम्री छोरी सानी छ। अहिले नै घर पठाउन सकिँदैन। कमजोर अनि सानो राज्य गोरखा। चन्द्रप्रभावती चढेबडेकी छन्” भन्ने जस्ता अनास्थापूर्ण अभिव्यक्तिले गर्दा स्वाभिमानी पृथ्वीनारायणको हृदयमा चोट पार्‍याे।

अझ विशेष गरी आफ्नी जेठी आमा, आमा मात्र नभएर जसले आफुलाई शिक्षादिक्षा, तालिम र पालनपोषण गरिन् त्यस्ती सम्मानीत र प्यारी व्यक्ति उपर त्यस्तो दुर्वाच्य बोल्नाले पृथ्वीनारायणको धैर्यको सीमा नै रहेन। त्यसपछि उनले पनि आवेगमा आएर नौलखा हार र एक दन्ता हात्ति दाइजो मागे। हेमकर्ण सेनले दिन सकेनन्।

“यी र यस्तै विविध कुराहरूबाट असमझदारी बढ्दै गई हेमकर्ण सेनसँग रिसाएर पृथ्वीनारायण शाह दुलही नै नलिई गोरखा फर्किए” भनि गोरखा बंशावलीमा उल्लेख भएको पाइन्छ। अर्कोतर्फ पृथ्वीनारायण र हेमकर्ण सेनको बीचमा वैमनस्यता वा झगडा नभएको तर उनको छोरा दिग्वन्धन सेनसँग मात्र पृथ्वीनारायणको झगडा भएका कुरा पृथ्वीनारायणले आफ्नो अन्तिम समयमा दिएको उपदेशबाट स्पष्ट हुन आउछ।

यो प्रशंगमा अर्को मत पनि सुनिन्छ-मकवानपुर वा तराईतिर विवाह सम्पन्न भएको १ वर्षपछि मात्र बधुलाई घर पठाउने प्रचलन अनुसार विवाह गरेर पृथ्वीनारायण रित्तै गोरखा गए। १ वर्षपछि श्रीमती लिन मकवापुर जाँदा हेमकर्णसेनको छोरा दिग्बन्धन सेन र मन्त्री कनक सिंह बानियाले- दुलही नानीले छोरा नजन्माएसम्म गोरखा नपठाइने हुँदा दुलाह दुलही मकवानपुर नै बस्नु पर्दछ भनि जिस्क्याए।

मकवानपुरे सिपाहीले जुत्ता नफुकाली सलाम गरेबाट अपमान अनुभव गरी पृथ्वीनारायणले निजलाई काटीदिएका कारण दिग्बन्धन सेन र कनकसिंहले पृथ्वीनारायणको वासस्थनमा आक्रमण गर्न सैनिक पठाउँदा हेमकर्णंले रोकेका थिए।

आपसमा असमझदारी बढ्दै गएपछि पृथ्वीनारायणले पनि नौलखा हार र एकदन्त हात्ती दाइजो मागेका तर सो प्राप्त हुन नसकेको। यसरी घट्दै गएका विविध घटनाले आफ्नो इज्जत र सम्मानमा हानी पुर्‍याउने काम विशेषतः दिग्बन्धन सेनले गरेको हुँदा बिबाह सम्पन्नपछि पृथ्वीनारायणले श्रीमती नै नलिई रिसाएर गोरखा फर्किए।

वैवाहिक सम्बन्धको कारणले धनी, बलियो र शक्तिशाली ससुरालीबाट हुन सक्ने विविध पक्षको फाइदाको खातिर अपमानको आँसु पिउँदै दोश्रो पटक पनि पृथ्वीनारायण श्रीमती लिन मकवानपुर गए तर अवस्था सहज हुन सकेन र पुन: रित्तै फर्किए।

झगडा र असमझदारीहरू समयको गतिसँगै विस्तारै झन् बढ्दै गयो। अन्तत: विवाह सम्पन्न भएको २ वर्षपछि सन् १७४० मा काशीका राजपुत अहिमान सिंहकी सुपुत्री नरेन्द्रलक्ष्मीसँग पृथ्वीनारायणको दोश्रो विवाह हुन पुग्यो।

पृथ्वीनारायण शाह बाबु राजा नरभुपाल शाहको मृत्युपछि विक्रम सम्वत् १७९९ मा गोरखाको राजगद्दीमा बसे र राजकाजको प्रत्यक्ष जिम्मेवारी पाए। उनले बाइसे चौविसी राज्यलाई पराजित गरी एउटा बलियो र ठूलो मुलुक निर्माण गर्ने अठोट लिएर अगाडि बढ्न थाले। यसै क्रममा वि.सं. १८०१ म नुवाकोट विजय भै सकेको थियो।

त्यस्तै उपत्यका विजयको लागि त्यहाँको जनजीवन अस्तव्यस्त पार्ने हेतुले आर्थिक नाकाबन्दी हुँदै गयो। तर काठमाडाैंको दक्षिण पश्चिममा रहेको मकवानपुर हुँदै उपत्यकालाई बंङ्गालदेखि सामाग्रीहरूको आपूर्ति हुँदै रहेको अवस्थाले उपत्यकाको पूर्ण नाकाबन्दी हुन सकेन।

त्यसलाई अझ तेज पार्न मकवानपुरको विजय प्राप्त हुन अनिवार्य देखियो। विवाहको कचिङ्गल, जेठान दिग्वन्धन सेनसँगको झगडा र असमझदारी आदिको कारणबाट नैतिक दृष्टिले पनि मकवानपुरलाई आक्रमण गर्न कुनै असजिलो र अप्ठेरो महसुस भएन।

ससुरा हेमकर्ण सेनको पनि वि.सं. १८१६ मा मृत्यु भइसकेको थियो। अतः आफ्ना चार भाइहरू, तुलाराम पाण्डे र केहर सिंहको मातहतमा ठूलो फौज पठाई मकवानपुरमाथि आक्रमण भयो र वि. सं. १८१९ भाद्र ९ गते मकवानपुर विजय भयो। दिग्वन्धन सेन हरिहरपुर गएर बसे।

गोरखालीले हरिहरपुर पनि विजय प्राप्त गर्‍याे। तब दिग्वन्धन सेनलगायतका उनका मतियारहरू बंगालको नवाव मीरकासिमकोमा गुमेको सत्ता प्राप्तिका लागि सहयोग माग्दै शरण लिन पुगे। भारतमा अंग्रेजले जतासुकै धावा बोलिरहेको थियो। मीरकाशिम राष्ट्रबादी व्यक्ति भएबाट उनले अंग्रेजकाे पाउ पर्नुभन्दा लडेर मुकाविला गर्नु देशभक्ति ठानी आफ्ना सैन्य शक्तिलाई मजबुत पारेर लडाइको तयारीमा राखेका थिए।

त्यही समयमा दिग्बन्धनसेनले शरण लिन आएको हुँदा अंग्रेजसँग लड्न प्रशिक्षण पाइरहेको आफ्ना सैनिकको रणकौशल परीक्षण गर्न तथा सम्पत्ति हत्याउने सोच बनाए। मकवानपुरको पाहाडी भूभाग प्रयोग गरी पछि अंग्रेजसँग लड्न सजिलो पर्ने, यस्तै अन्य विविध स्वार्थले प्रेरित भएर नवाव मीरकासिमले दिग्वन्धनसेनलाई गोरखालीको विरुद्धमा पूर्ण सहयोग गर्ने निर्णयमा पुगे।

दिग्वन्धनसेनको रोदनपूर्ण अश्रुधाराको बदलामा नवावले गर्ने भनिएको सैनिक सहयोग सामान्य नै होला भन्ने गोरखाली फौजले अनुमान गरेको थियो। तर दुई हजारको विशाल सैनिक वलको साथै हजार जतिको अन्य सहयोगी समेत भै वि.सं. १८१९ पौष २७ गते गोरखालीको कब्जामा रहेको मकवानपुरको सैनिक थाना चारैतर्फबाट घेरी नवावको सैनिकले कब्जा गर्‍याे।

भाग्यवश त्यही समयमा नजिकै दहचोकमा पृथ्वीनारायण शाह स्वयं उपस्थित रहेको हुँदा थप गोरखाली फौजहरूले (काजी वंशाराज पाण्डे, रामकृष्ण कुँवर, कहर सिंह वस्नेतको मातहतमा) पहाडी थुंकाबाट मीरकासिमको सेनामाथि बहादुरीका साथ प्रत्याक्रमण गर्‍याे।

उक्त प्रत्याक्रमण यति धेरै ओजिलो र चोटिलो हुन गयो कि नवावको २००० सेनामा १७०० त्यहाँ नै मारिए। बाँकी भागाभाग हुन पुग्यो । प्रत्याक्रमणबाट एकातर्फ गोरखाली सेनाको आत्मवल अत्याधिक बृद्धि हुन गयो भने अर्कोतर्फ मीरकासिम पक्षको भारिमात्रामा हातहतियार प्राप्त हुन गयो।

नवावले गोरखाली सेनालई पराजित गरिदिन्छन् र पुनः राज्यभोग गरौँला भनेर लुकेर बसेका दिग्वन्धनसेनले आफ्नो पक्राउपूर्व नै गोरखाली सेनासँग आत्मसमर्पण गर्न पुगे र उनलाई आजीवन कारावस सजाय दिएर नुवाकोट जेलमा राखियो।

मकवानपुर विजयले गोरखाको आर्थिक स्थितिमा ठूलो परिवर्तन ल्यायो। साथै वारा, पर्सा, सर्लाहि, महोत्तरी आदि तराईका भूभाग कब्जा गर्न सजिलो पनि भयो। यतातर्फ धुलिखेल, नाला, बनेपा कब्जा हुन सक्यो। यसरी उपत्यकाको पूर्णनाकाबन्दी हुन पुग्यो र नै विजय सुनिश्चित हुन गयो।

समय परिवर्तनशील छ, गतिशिल छ अनि वलवान पनि। विवाहको कारणबाट हुन सक्ने सुमधुर सम्बन्ध अनि मौलाउँदै जान सक्ने माया र आपसी सहयोग तथा हुन सक्ने विविध लाभका कल्पनाहरू कल्पनामै सीमित हुन गयो।

नाता सम्बन्धको आधारमा दुई राज्य मिलेर शत्रु पक्षहरूमाथिको विजय प्राप्तिको कल्पना आखिरमा स्वयम् दुई पक्ष बीच दुस्मनीको यथार्थमा परिणत हुन पुग्यो। यो विवाह निर्णय शान्ति, सदभाव र आपसी हितको लागि भएको थियो तर बैरी बनेर युद्ध, काटमार र लुछाचुडीको परिणतिपछि मात्र पटाक्षेप हुन गयो।

अन्ततगोत्वा विवाह निर्णय नै मकवानपुर विजयको साइत बन्यो। विवाहको निर्णय हुँदाको चाहना, अपेक्षा र कल्पनाको ठीक विपरितको परिणति सबैको लागि स्वीकार्य मात्र भएन त्यस्तो परिणतिको सिर्जना गर्न सफल समयप्रति सबै जनता कृतज्ञ बने।

हामीले भन्नै पर्ने हुन्छ कि पहिलो विवाह निर्णयले पृथ्वीनारायण शाहको जीवनमा ठुलो परिवर्तन ल्यायो। मकवानपुर विजय त उल्लेखित घटनाक्रमको आधारमा भयो नै।

उपत्यका विजय गर्नमा पनि उक्त विवाह निर्णयले एउटा सोच, दृष्टिकोण र कल्पनाको विकास गरायो। भनिन्छ पृथ्वीनारायणले मकवानपुर ससुरालीबाट फर्कदा चन्द्रागिरी डाँडाबाट जब उपत्यकालाई देखे तब उनमा सो प्राप्तिको सोच र चाहना पैदा भयो।

यसरी इतिहासका घटनाक्रमहरूको विश्लेषण र व्याख्या गर्दा निश्कर्षमा पुग्न सकिन्छ कि-पृथ्वी नारायण शाहको पहिलो विवाह निर्णयले नेपालको इतिहासमा ठूलो महत्त्व राख्दछ। महत्त्व यो शर्तमा राख्दछ कि-विवाहको निर्णय जुन सोचमा भएता पनि अन्ततोगत्वा मकवानपुर विजय हुन पुग्यो।

सो विवाह निर्णय नभएको भए चन्द्रागिरिबाट उपत्यका देखेर सो प्राप्तिको भावनात्मक सोच अन्य अवस्थामा पृथ्वीनारायणमा विकास नहुन सक्थ्यो। समग्रमा मकवानपुरपछि उपत्यका पनि विजय भएबाट पृथ्वीनारायणको पहिलो विवाह निर्णय मकवानपुर विजयको साइत मात्र भएन, उपत्यकाको नै विजयको शुभमूर्हत सावित भयो।

गोरखा बजार
हाल-: म्याडिसन, अमेरिका।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *