उल्टो दिशामा नेपालको राजनीति

शंकरप्रसाद रिजाल
१ माघ २०८१ ७:५७

मानिसहरुका अनगिन्ती इच्छा र मागहरु हुन्छन्। मानिसले भौतिक र अध्यात्मिक सुख चाहन्छ। जीवनको एक चरणमा प्रवेश गरेपछि मानिसले ज्ञान चाहन्छ र अध्यात्म चिन्तन गरी सुख पूर्वक शान्त जीवन व्यतित गर्न चाहन्छ।

मानिसको पहिलो आवश्यकता भनेको गास, बास र कपास नै हो। आज संसारभरका लाखौं मानिस यही आभारभूत आवश्यकताका लागि भौंतारी रहेका छन्।
किन मानिसमा अनमेल छ? किन संसारमा युद्धको नाममा हजारौं लाखौँ बम बारुद पड्की रहेका छन्? किन संसारका अनमोल निर्मित संरचनाहरु भत्काइ रहेका छन्?

के नेपाल र नेपालीहरु यसबाट सुरक्षित छन्? किन संसार जसरी बन्दै गयो, त्यसरी नै भत्किइ रहेको छ? के यो संसारले मागेका कुराहरु हुन? के यी नेपाल र नेपालीहरुले मागेका कुराहरु हुन्?

अवश्य होइन। संसारमा धेरै बिनाश भयो र धेरै बिकाश पनि भयो। तर दिगो किन हुन् सकेन? संसारका ४ खण्ड मानिसहरुमा ३ खण्ड मानिसहरु किन अझै भोका र नांगा छन्।

अरबौं-खरबौं रकम गरिबी उत्थानको लागि खर्च गर्दागर्दै पनि किन गरिबी घटेको छैन? किन संसारमा व्यवस्था र बिचारको खाडल बढ्दै गइरहेको छ? संसारको भूराजनैतिक चपेटामा किन नेपाल पनि फस्दै गइरहेको छ? यो अहम् प्रश्न हो।

नेपाल एक बैद्धिक सनातन हिन्दु राष्ट्र र बेलायत जस्तै राजसंस्थाले सजिएको राष्ट्र थियो। राणाको त्यत्रो १०४ वर्ष सम्मको शासशनमा पनि राजा भन्ने राजसंस्था थियो चाहे त्यो नाम मात्रको किन नहोस्। राजा हुन्जेल देशले कहिले पनि आन्तरिक बिबाद र बाह्य बिबादको त्यति सामना गर्नु परेको पक्कै थिएन।

किनकि राजसंस्थाको संसारमा बेग्लै शान र इज्जत थियो जसरी बेलायत, जापान, बेल्जियम, ब्रुनाई, भुटान, कम्बोडिया, युएइ, मलेसिया, अस्ट्रेलिया, क्यानाडा, बाहामास, सेन्ट लुसिया, जोर्डन, नेदरल्याण्ड्स, पपुवा न्युगिनी आदि देशमा  आजसम्म पनि राजसंस्था इज्जतसाथ कायमै छ।

जस्तै भएपनि कसैले आँखा लगाउन सकेका थिएनन्। किनकि राजाको शासनमा त्यो नैतिकता र परराष्ट्र नीतिमा त्यो कुटिलता र दूरदर्शिता थियो। हिन्दु राष्ट्र कायमै थियो जो कि संसारको एकमात्र जेठो सनातन धर्म र संस्कृति हो।

के कुराको कमी थियो नेपालमा? खाली एक व्यवस्थामा सुधारको खाँचो त्यो पनि २०४७ सालदेखि सुधारिँदै आएको थियो। त्यत्रो परापूर्व कालदेखि र राणाको एक तन्त्रीय शासनमा पनि बचेको राजसंस्था आज किन अफाप भयो।

के त्यस्तो अपराध गरेका थिए हाम्रा राजाहरुले? केही थिएन। बिस्तारै जनताले खोजेको माग पूर्ति गर्दै गएका थिए। कसैसँग नझुकी। देश बिकास त खास राणा सरकारहरुले गर्नु पर्ने थियो, किनकि त्यो १०४ वर्षको लामो अवधि थियो।

तर नेपाल र नेपालीहरुको माग बिस्तारै पूर्ति गर्दै जानु पर्नेमा आफैं ऐश आराममा डुबी मदिरा सेवन गर्दै उन्मादमा हुकुमी शासन गर्दै १०४ वर्षको समय त्यसै खेर फाल्ने काम भयो। शिक्षा स्वास्थ्य, सडक, आर्थिक, उन्नति र उद्योगहरु खोली दिएको भए आज देशले यो अवस्था खेप्नु पर्दैनथ्यो र नेपालको माग पूरा हुने थियो।

तसर्थ यो शासनको अन्त्य त हुने पर्दथ्यो। २००७ सालमा प्रजातन्त्र आएपनि जनताका छोरा भनाउँदा प्रधानमन्त्रीहरु सबै भारतकै बुइ चढेर शासन गर्ने मनस्थितिका भएकाले देश झन् झन् कमजोेर बन्दै गयो। त्यहीकारणले नै राजा महेन्द्रले २०१७ सालको निर्दलीय पञ्चायती व्यवस्था घोषणा गर्नुपर्‍याे।

राजा महेन्द्रले १२ वर्षको शासन कालमा के कति बिकास भयो त्यो इतिहासमा आजपनि दर्ज भएको छ। तर पञ्चायती व्यवस्था निरंकुश शासन भनेर प्रजातन्त्रको खोल ओढेका नेताहरुले जनताहरुलाई सारा माग पूरा गरिदिन्छु भनी लोकतन्त्र गणतन्त्र र देशमा धर्म निरपेक्षता ल्याइ अन्धाधुन्ध तरिकाले शासन गर्न थाले।

बिस्तारै जनतालाई स्थिर सरकार, आर्थिक उन्नति बिकास र समृद्धि प्रदान गरी शान्ति प्रदान गर्नु पर्नेमा उल्टो राजनीतिमा अस्थिरता ल्याइ बिदेश जान बाध्य गराई जनताको आर्थिक उन्नतिमा ह्रास ल्याइ, सारा युवाहरुलाई बिदेश जान बाध्य गराइयो र देश सम्पूण रुपमाा रेमिट्यान्समा चल्ने गराइयो। लोकतन्त्र र गणतन्त्र पश्चात देशमा चार पाँच जना नेताहरुकै बीचमा पटक पटक प्रधानमन्त्रीको चयन भयो।

तर देशले मागेको कुरा भने पाउन सकेन। यो नेपालको दुर्भाग्य र नेताहरुको अचेतन, खराब मनोवृत्ति र अदूरदर्शिता र सत्ता लिप्सा नै हो भन्नुमा कुनै दुईमत छैन।

आज देश जताततै ठूलो भड्खालोमा फसेको छ। कुनै कुरामा स्थिरता छैन। राजनीति र अर्थ नीतिमा ठूलो ह्रास आएको छ। भूराजनीतिक चपेटामा त्यत्तिकै अल्झेको छ।

उद्योग छैन, कारखाना छैनन्, सारा देशका जमिनहरु बाँजो छन्। सबै आयात गरी जीवन चालाउनु परेको छ। देशलाई पश्चिमा शक्ति, चीन र भारतले आफ्नो चंगुलमा पार्ने कोशिस गरिरहेका छन्। देश एक किसिमको कुचक्रमा फसिरहेको छ।

यस्तो अवस्थाबाट उक्सिन अब देशका नेताहरुको घैंटोमा घाम अवश्य लाग्नु पर्ने देखिन्छ। “हाम्रा हैन, रामा मानिस” र बिज्ञहरुको जरुरत छ र आजको परिप्रेक्ष्यमा देशको समस्त विषयलाई पुनरावलोकन गरी नयाँ पुनस्र्थापना गर्नु पर्ने अत्यन्त जरुरत रहेको छ।

अन्यथा नेपाल र नेपालीहरुले मागेको कुराहरु पूर्ति गर्न अझ करीब २५ बर्ष लाग्ने निश्चित छ। हेरौं अबको भविष्यले नेपाललाई कस्तो अवस्थामा पुर्‍याउँछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *