भरतपुर महानगरपालिकाले ल्यायो १४ करोड २८ लाख रुपैयाँको पूरक बजेट

डिसी नेपाल
२८ पुष २०८१ १७:०७

चितवन । भरतपुर महानगरपालिकाले १४ करोड २८ लाख रुपैयाँको पूरक बजेट ल्याएको छ। आइतबार बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सभाहलमा भएको १६औं नगर सभाको बैठकमार्फत पूरक बजेट ल्याइएको हो। ११४ वटा वडास्तरीय तथा नगरस्तरीय योजनाको कार्यक्रम संशोधन तथा रकमान्तर भएको १४ करोड २८ लाख ल्याइएको हो।

उपमेयर चित्रसेन अधिकारीले विनियोजन ऐन, २०८० ले विभिन्न खर्च शीर्षक तथा उपशीर्षकअन्तर्गत नयाँ कार्यक्रम थप एवं संशोधन गर्नुपरेको बताए।

बजेट शीर्षक तथा उपशीर्षक अन्तर्गत श्रोत सुनिश्चितता गरी योजना समयमै सम्पन्न गर्न, आर्थिक, भौतिक एवं सामाजिक र वातावरणीय पूर्वाधार विकास गरी समुन्नत र सुदृढ महानगर बनाई राष्ट्रको विकासमा टेवा पुर्‍याउन, साधन–स्रोत, अवसर र क्षमताको विकास तथा उच्चतम उपयोग गरी समृद्ध महानगर बनाउन, सेवा प्रवाहलाइ सरल तथा प्रभावकारी बनाउन, र वित्त विश्लेषणमार्फत जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पूरक बजेट ल्याइएको अधिकारीले बताए।

चालू आर्थिक वर्षको अर्ध वार्षिक प्रगति स्थितिको विष्लेशणको आधारमा बजेट तथा कार्यक्रम संशोधन एवं समायोजन गरिएको उनले बताए। महानगरले आर्थिक वर्ष २०८१/०८२ का लागि ६ अर्ब ५६ करोड १ लाख ४३ हजार बजेट विनियोजन गरेको थियो।

नगर सभालाई सम्बोधन गर्दै महानगर प्रमुख रेणु दाहालले नारायणी नदीको किनारमा २३ किलोमिटर तटबन्धको कार्य अन्तिम चरणमा रहेको उल्लेख गरिन्। भरतपुर विमानस्थलको टर्मिनल भवन निर्माणधिन अवस्थामा रहेको र धावनमार्ग निर्माण प्रक्रिया सुरु भएको उनले जानकारी दिइन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणले गति लिएको, एशियाली मापदण्डको सिक्स लेन सडक निर्माणको अन्तिम चरणमा रहेको उनको ऐनाइ छ।

यस्तै ८८ किलोमिटर लामो रिङरोडसहित संघ, प्रदेश र महानगरपालिकाको लगानीमा १ हजार ३ किमि कालोपत्रे सडक निर्माण भएको उनले बताइन्।
महानगरको प्रशासकीय भवन, सिटी हल, जंगली जनावरबाट मानव तथा पशु वालीमा हुने क्षति न्यूनीकरणको लागि फाउण्डेशन सहितको मेस जाली निर्माण भइरहेको उनले उल्लेख गरिन्।

उत्पादनमा आधारित अनुदान कार्यक्रमले दूध उत्पादनमा उल्लेख्य वृद्धि भई आम कृषकको आर्थिक अवस्थामा सुधार आएको बताए। विभिन्न निकायसँगको समन्वयमा ७ हजार ९ सय विगाहा क्षेत्रफलमा सिंचाइको व्यवस्था गरिएको, नारायणी लिफ्ट सिंचाई आयोजनालाई १२ महिनै सञ्चालन गर्ने गरी काम अगाडि बढेको दाहालले जानकारी दिइन्।

संस्थागत विद्यालयबाट वितरण हुने कक्षा १२ सम्मका छात्रवृत्तिलाई लक्षित वर्ग केन्द्रित गरी १४५ जना युवा स्वयंसेवक शिक्षकको व्यवस्था गरी सबै विद्यालयमा शिक्षक व्यवस्थापन गरिएको उनले उल्लेख गरिन्। महानगरका स्थायी बासिन्दा महिलाबाट सरकारी स्वास्थ्य संस्थामा जन्मिएका ८ सय ९१ जना छोरीहरूको बालउमङ्ग जीवन बिमा गरिएको उनको भनाइ छ।

भरतपुर भ्रमण वर्ष २०२४ को अवधिमा भरतपुर महानगरपालिकामा ११ लाख ६४ हजार आन्तरिक पर्यटक र २ लाख ८४ हजार वाह्य पर्यटकसहित जम्मा १४ लाख ४९ हजार जना पर्यटकले भरतपुर भ्रमण गरेको तथ्यांकले देखाएको छ।

महानगरको फोहर व्यवस्थापनका लागि भ्याट बाहेक ७ करोड ६१ लाखमा तीन वर्षे आय ठेक्का सम्झौता भई मंसिर १ गतेबाट फोहोरमैला संकलन र व्यवस्थापनको काम सुरु भएको मेयर दाहालले जानकारी दिइन्।

अति सीमान्तकृत र लोपोन्मुख ७९६ जना र दलित समुदायका ४ हजार ९सय ७६ जना गरी सामुदायिक विद्यालयको आधारभूत तहमा अध्ययतरत लक्षित वर्गका सबै बालबालिकाहरूलाई शैक्षिक प्रोत्साहन कार्यक्रम अन्तरगत छात्रवृत्ति वितरण गरिएको उनको भनाई थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *