सरकारले अध्यादेशमार्फत विदेशमा बस्ने नेपालीलाई लगानीको बाटो खोलेको छ : योगेश भट्टराई
उत्तर अमेरिका । नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारले अध्यादेशमार्फत विदेशमा बस्ने नेपालीलाई नेपालमा लगानी गर्न सहज हुने बाटो खोलेको बताएका छन्। डिसी नेपालको ‘द ब्रिज टक’ कार्यक्रममा आफ्नो धारणा राख्दै भट्टराईले उक्त कुरा बताएका हुन्।
‘सरकारले विधेयकमार्फत गैरआवासीय नेपाली नागरिकता लिएको व्यक्तिले नेपाल बस्दा १० वर्षसम्म निःशुल्क भिसा प्राप्त गर्ने निर्णय गरेको छ। यसले उनीहरूलाई नेपालमा लगानीको सहज बाटो खोलिदिएको छ। यो गैरआवासीले नेपालीहरूले उठाउँदै आएको माग हो। उहाँहरूको माग केही हदसम्म सम्बोधन भएको हाम्रो बुझाइ छ,’ उनले भने। उनले माग सम्बोधन नभएको लागेमा त्यस्ता विषय सम्बोधन हुँदै जाने बताएका छन्।
गैरआवासीय नेपाली नागरिकलाई नेपाली नागरिक सरह लगानीको सुनिश्चितता गर्ने, कम्पनी खोल्न पाउने, विदेशमा लगानी गर्न पाउने, विदेशबाट नाफा कमाएर नेपाल ल्याउन पाउने, नेपालबाट पुँजी लगेर विदेशमा लगानी गर्न पाउने माग विद्येकमा सम्बोधन भएको भट्टराईको प्रस्टोक्ति छ।
‘राजनीतिक बाहेकका सबै अधिकार गैरआवासीय नेपालीका लागि सुनिश्चित छन्। सांस्कृतिक, सामाजिक अधिकार सुनिश्चित छ। आर्थिक कारोबारका बारेमा केही अधिकार थिए। जुन एनआरएनले उठाउँदै आएको थियो। ती समस्या अध्यादेशबाट धेरै हदसम्म सम्बोधन भएका छन्,’ उनले भने। अन्य सम्बोधन गर्नु पर्ने विषय आगामी संसद्बाट सम्बोधन गरिने भट्टराईले प्रस्ट पारेका छन्।
सरकार एनआरएनए नेपालीप्रति निकै सकारात्मक रहेको उनी बताउँछन्। सरकारको नीति कार्यक्रम र दुई पार्टीको सम्मेन्त्रका घोषणापत्रमा समेत नेपालमा लगानी गर्ने महत्त्वपूर्ण क्षेत्र विदेशमा रहेका नेपाली भएको प्रस्ट रहेको भट्टराईले स्मरण गरेका छन्।
‘उहाँहरूलाई मान, सम्मान, उचित कानुनी सुरक्षा, लगानी सुरक्षालगायत कुरालाई सुनिश्चित गर्नुपर्छ हाम्रो प्रतिवद्धता छ। नागरिकताका विषयमा पनि संविधानले केही कुरा प्रस्ट पारेकोमा त्यसको कार्यान्वयन आवश्यक छ। कार्यान्वयन हुन्छ। केही कुरा अस्पष्ट भए संशोधनबाट सच्याउन सकिन्छ,’ उनले भने।
Facebook Comment