रवि लामिछाने थप दुई दिन प्रहरी हिरासतमा बस्नुपर्ने

डिसी नेपाल
२९ पुष २०८१ १६:३४

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कम्तिमा दुई दिन हिरासतमा बस्नुपर्ने भएको छ। काठमाडौं जिल्ला अदालतले थुनछेक बहस नसकिएपछि उनलाई हिरासतमा पठाउने आदेश दिएको हो।

सोमबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि लामिछाने थप प्रहरी हिरासतमा बस्नुपर्ने भएको हो। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आइतबार लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश गरे पछि लामिछाने हिजो प्रहरी हिरासतमा थिए।

न्यायाधीशले आज पनि आइतबारकै आदेशलाई निरन्तरता दिएपछि लामिछाने थप दुई दिन प्रहरी हिरासतमा बस्नुपर्ने भएको हो। भोलि सरकारी बिदा रहेका कारण अदालत नखुल्ने भएकाले पर्सिमात्रै थुनछेकको बाँकी बहस हुनेछ।

सुर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहिवार साँझ ६५ लाख धरौंटी बुझाएर पोखराबाट छुटेका थिए।

हाल कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले काठमाडौंमा पनि बयान लिइरहेको हो। उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लामिछानेसहितलाई लागेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *