भारतीय मूलकी अनिता आनन्दले क्यानडाको प्रधानमन्त्री पदको दाबेदारी छोडिन्
काठमाडौं । भारतीय मूलकी अनिता आनन्द क्यानडाको प्रधानमन्त्री बन्ने दौडबाट बाहिरिएकी छन् । उनले एक विज्ञप्तिमा ओन्टारियोको ओकभिलबाट सांसदको रूपमा देशको अर्को चुनावमा भाग नलिने बताएकी छन्।
उनको भनाइ ट्रुडोले प्रधानमन्त्री पदबाट राजीनामा दिने प्रस्ताव गरेको केही दिनपछि आएको हो । जस्टिन ट्रुडोको स्थानमा अनिता आनन्दलाई हेरिएको थियो। तर, अहिले उनको घोषणापछि उनी यो दौडबाट बाहिरिएकी छिन् । उनीअघि दौडमा रहेका अन्य दुई नेताले आफ्नो नाम फिर्ता लिएका थिए ।
आफ्नो निर्णयको बारेमा जानकारी दिँदै अनिता आनन्दले ओकभिल, ओन्टारियोबाट सांसदको रूपमा पुन: चुनाव नलड्ने पुष्टि गरेकी छिन् । विज्ञप्तिमा उनले क्यानडाका प्रधानमन्त्रीलाई संसद सदस्यका रूपमा लिबरल टोलीमा स्वागत गरी महत्वपूर्ण मन्त्रिपरिषद्को जिम्मेवारी दिएकोमा धन्यवाद दिएकी छिन् । यसपछि उनले क्यानडाको हाउस अफ कमन्समा आफूलाई निर्वाचित गरेकोमा ओकभिलका जनतालाई धन्यवाद पनि दिइन् ।
तमिल बुबा र पञ्जाबी आमाबाट जन्मेकी ५७ वर्षीय आनन्दले ट्रुडोको क्याबिनेटमा धेरै मन्त्रालयहरू सम्हालेकी छिन्। उनी ट्रुडोको मन्त्रिपरिषद्मा समावेश भएदेखि आनन्दले सार्वजनिक सेवा र खरिद र रक्षा जस्ता प्रमुख मन्त्रालयहरू सम्हालेकी थिइन् । उनी २०२४ मा ट्रेजरी बोर्डको अध्यक्ष पनि बनेकी थिइन् ।
Facebook Comment