प्रधानमन्त्री कप क्रिकेटः एपीएफको विजयी सुरूवात

डिसी नेपाल
१ माघ २०८१ १७:३३

काठमाडौं। प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लबले विजयी सुरूवात गरेको छ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार भएको खेलमा एपीएफले कर्णाली प्रदेशविरुद्ध १ सय ११ रनको फराकिलो जित दर्ता गरेर प्रतियोगितामा विजयी सुरूवात गरेको हो।

एपीएफले प्रस्तुत गरेको एक सय ८३ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै ७१ रन मात्रै बनायो।

एपीएफका लागि करुणा भण्डारीले तीन तथा रेखा रावल, सुमन विष्ट र विनु बुढाले समान एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको एपीएफले निर्धारित २० ओभरमा एक विकेट गुमाउँदै एक सय ८२ रनको योगफल तयार पारेको थियो। एपीएफका लागि ममता चौधरीले ६६ बलमा १० चौकाको मद्धतले अविजित ७८ रनको योगदान गरिन्।

यसैगरी कप्तान इन्दु बर्माले ३४ बलमा सात चौकाको मद्दतले अविजित ५२ र राजमति ऐरीले २२ रन बनाइन्। कर्णालीका लागि एक मात्र विकेट दिक्षा पुरीले लिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *