लघुकथा : अन्तर्य
ओल्लो घर भक्तलालको; पल्लो घर शिवलालको।
दाजुभाइ हुन्-यिनीहरू। अर्थात् बाबुआमा एउटै। हुर्केबढेको काख एउटै। पार्टी भने फरकफरक।
पार्टीको यति कुरा गरेपछि भनिरहनु नपर्ला- यिनीहरूका बीचमा बोलचाल नभएको वर्षौ भएको थियो। हिजो शिवलालको जन्मदिन रहेछ।
वर्षौंपछि हिजो शिवलालको फेसबुकवालमा भक्तलालले लेखेको देखियो- ‘जन्मदिनको शुभकामना ।’ देख्नेमध्ये कसैले ‘हा…हा…’ लेखे; कसैले ‘वाह!’ लेखे; कसैले ‘एङ्ग्री’ लेखे।
केही दिनअघि दुवै दाजुभाइलाई एउटै आमसभामा एउटै नेताको भाषणमा ताली बजाउँदै गरेको देखेको थियो-चन्द्रेले।
यी दाजुभाइलाई हिजो केले छुट्ट¥याएको थियो र आज केले गाँस्यो भन्ने कुरा चन्द्रेलाई थाहा थियो। त्यसैले भक्तलालको शुभकामना सन्देश पढेर चन्द्रेले कुनै प्रतिक्रिया देखाएन।
चन्द्रेले अन्तर्य बुझेको थियो।
Facebook Comment