कविताः अनारकली

शंकरप्रसाद रिजाल
५ माघ २०८१ ७:०३

अनार दाना दाँतको माला मुख भित्र लुकेको
मुसुक्क हाँसी खुलेको मुख क्या राम्रो खुलेको।

निधार सानो टुपुक्क टीका ओठ त्यो जोडेको
म भित्र तिम्रो अनुहार देख्छु मुसुक्क हाँसेको।

बुलाकी तिम्रो नाकमा टल्की उज्यालो छरेको
पूर्णिमा जस्तै त्यो आकासमा चन्द्रमा झुल्केको।

अनार दाना दाँतका लहर चिटिक्क मिलेको
कोमल रुप सुन्दरी रानी अनुहार खुलेको।

श्रृंगार छैन मुखमा तिम्रो तैपनि उज्यालो
छ रुप तिम्रो खुलेर हेर्दा चन्द्रको उज्यालो।

जिउडाल सबै राम्रो देख्छु म स्वर्ग कि परी
अगाडि आउँकी भन्दा तिमी लुक्छौ घरिघरी।

तस्बीर तिम्रो मनमा मेरो आउँछ सधैंभरी
टोलाई हेरिरहन्छु म ऐनामा सम्झी घरीघरी।

आगो बाली तिमी हिँड्छौ मेरो मनमा यहाँ
रोइ कराइ के गर्नु तिमी हिँड्छौ कहाँकहाँ।

कस्तो रुप त्यो तिम्रो हीरा सरी चम्किने
सारा इच्छा एकै हुन्छ एकै तिमी पाउने।

तिमी छौ कहाँ दूर म त्यसै टाढा भएसरी
कोही छैन यहाँ हाम्रो बेसहारा बनी रही।

आउ साथमा मेरो पृथ्वी आकास मिलेसरी
देखाउ तिम्रो त्यो रुप अनारकली भए सरी।

सागरबाट आउँछ्यौ कि माथिबाट नै झरी
जसरी पनि तिमी आउ उही अनारकली सरी।

बादलमा नलुक धेरै त्यो बादलले लुकाउँछकी
पौडी पानीमा नखेल धेरै पानीले डुबाउँछकी।

अनारकली हौ तिमी यसैमा रहनु सधै
आशिकी म तिम्रो हुँ बनी रहुँ सधैं सधैं।

जीवन साथी

साथी तिमी जीवनको गहिरो प्रेमको दह
राखेको छु यो मनमा बाली भरोसाको दियो।

माया गर्छु तिमीलाई कहाँसम्म लैजाउँ म
धर्ती र आकास छुने किनारामा पुर्याउँ म।

छुटदिन तिमीदेखि म त्यहाँबाट म कहिल्यै
मर्दिन म चाँडै यहाँ बुझाई यो मन जहिलै।

साथी म तिम्रो यो जीवनको भेट्छु है सधैंभरी
त्यो तिम्रो दिल कत्रो हो मलाई लुकाउने घरिघरी।

सारा शरीर तिम्रो त्यो मेरो मनमा बसी रह्यो
बिहान सूर्यको उदयसँगै अस्ताचलमा रही रह्यो।

माया प्रीतिमा मेरो जीवन साथी तिमी भयौ
जीवनको हरेक पलमा तिमी दियो बनी रह्यौ।

गोरो अनुहारको त्यो लाली मन भित्र गढ्दछ
फुट्दा मुखको त्यो बोली सारा शरीर काम्दछ।

त्यो जुल्फ कपाल तिम्रो सारा अनुहार लुकाउने
लुकेर फर्की हेर्दामा लाजÞले जिउ लज्जÞाउने।

म हेर्छु फेरि तिमीलाई नजिकबाट झन् वर
भागी जान्छौ मदेखि झन् कता कता पर।

साथी मेरो जीवनमा मेरो यो जीवनको
तिमीनै बँधिनु साथी यो जीवन सफरको।

आशा मनमा राखी हिँड्नेछु म यो मार्गमा
बेलाको बोली पुग्लाकी भन्ने त्यो आशमा।

दुबैको मन यो मिलेमा प्रेमको फूल फुल्दछ
त्यो फूलमा गुलाबको सारा सुवास भर्दछ।

सारा दिन बिते मेरा तिम्रो यो गुण गानमा
लेख्दछु यही यो कबिता तिम्रै यो सम्झनामा।

नबनाउ हुरीको चरा जस्तो मेरो यो मन भड्किने
देउ मलाइ त्यो प्रेम हीरा झैं टलक्क टल्किने।

झुठ असत्य र सत्य

झुठो जीवन यो हाम्रो, कहाँगइ ठोक्किने हो
मुर्ख मानिसको जीवन, कहाँपुगी बल्झिने हो।

नहुने कुरागरी हिँड्ने, झुठो साबित हुन्छ त्यो
सच्चा मानिसको लागि काँडा सरी हुन्छ त्यो।

कुरा बनाई हिँड्ने ती झुठा हुन् सबै यहाँ
कसैले पुजने छैनन् त्यो सज्जनको जगतमहा।

असत्य नबोल कहिलै पछि पछुताउनु पर्छ है
सत्यको पथमा सधैं लाग, कुकर्म सब छुट्छ है।

नछोड सत्यको बाटो, उपहास गरिकन
झुठले लान्छ सबलाई नरकै पुर्याइकन।

बोली बचन मिठो होस् सत्यको पथमा सधैं
भइ झुठो बनी मुर्ख जीवन बिग्रिनेछ सधैं।

टुसाओस प्रेमको आँकुर दुःखीमाथि दया रहोस्
राष्ट्र र अन्तर्राष्ट्रमा सबको नाम सधैं रहोस्।

सत्यको रुपनै झलल उज्यालो हुन्छ सबैतिर
निर्घात झुठको बानी उदासी छ अघिल्तिर।

धोका झुठको ढोका खोलिने नै छ एकदिन
अँध्यारो रात झैं उसको पाइला चल्छ हरदिन।

नगर्नु झुठको बोली फटाहा र असत्यको मन
मिल्ने छैन तिमीलाई कहिल्यै त्यो सत्यको दिन।

सत्य चम्किने छ तारा झैं साँझको आकासमा
उदाउनेछ असत्य औंसीझैं त्यो कालो चन्द्ररातमा।

सत्य उज्यालो भै हिँड्छ दिनको सूर्य झैं सधैं
असत्य मनको कालो निशा छ यो जीवन सधैं।

तसर्थ स्वधर्म सत्यको बाटो सबैले लिनु पर्दछ
कुकर्म असत्यको बाटो सबैले त्याग्नु पर्दछ।

मुर्खताको समाधान

मुर्ख त्यो मुर्ख होइन घमण्ड भरिपूर्ण छ
ज्ञानी हुने त्यो गुण मन मन्दीर भित्र बस्दछ।

टाढा बस्नु मुर्खहरुको शत्रुदेखि पर बस
मुर्ख ज्ञानीको माथि सधैं घमण्ड गर्दछ।

के हो? त्यो घमण्ड उसको रावण झैं बन्दछ
सारा समाजमाथि उ धुन्दुकारी झैँ देखिन्छ।

चिन्ता छैन उसलाई इश्र्या द्वेष र डाहको
इच्छा छैन उसलाई कसैको प्रेम र मोहको।

ध्यान छैन कहिले आफ्नो स्वयम् ज्ञानको
ठूलै बनी सधैं हिँड्ने छ त्यो उसको कुकर्मको।

थोरै ज्ञान लिइ उसले धेरैको मुख खोल्दछ
ज्ञानीको बीचमा बस्दै उ प्रबचन गर्दछ।

घाँटी फुलाई ऊ हिँड्छ छाती ठूलो फुलेसरी
छैन कोही उसको साथी त्यो डोरीमा झुन्डेसरी।

मुखमाछैन कोमलता छ मनमा ठूलो कपटता
सर्बज्ञ बनी हिँड्छ सर्बत्र डुल्छ यताउता।

को ज्ञानी को छ सज्जन किटान छैन उसको
धुन्दुकारी बनी हिँड्ने छ उसको भेष त्यो।

रिस, राग, द्वेष र निन्दा छ उसको शीरमा
कहिले कुन्नि हो एक दिन लड्नेछ उ भीरमा।

जीवन उसको मरेतुल्य बिषपान गरीकन
घमण्डले सारा करुणा खरानी बनीकन।

सबै यि कुकर्म छोडी यदि हिँड्छ उ भने
मुर्खताको समाधान भित्रैबाट खुल्यो भने।

राख मनमा शान्ति बुद्ध जस्तो बनिकन
शान्ति मनको उज्यालो यसैमा भेट्टाउन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *