संघर्षको मैदानबाट आमालाई चिट्ठी
आदरणीय आमा,
नमस्कार !
आराम छु, आरामको कामनासहित सम्झाना स्वरुप केही हरफहरु कोर्न लागिरहेको छु।
व्यवस्था परिबर्तनको निम्ति निरन्तर संघर्ष पश्चात नेपाली भुईंमान्छेको अबस्था परिबर्तनको घनिभूत मोर्चाहरुमा छटपटाइ रहेको यो घाइते शरीर, टुक्रिएको मन, जलिरहेको तन, आवेग, पीडा र आक्रोशको चौतर्फी घेराबन्दीको बीचबाट पनि बिबेक र धर्यतालाई जोगाउँदै मनभरी उत्साहका फूलहरु फूलाउँदै आमाको सम्झानामा भावना र बिचार मिश्रित केही शब्दहरु जबर्जस्त कोर्न लागिरहेको छु।
भौतिक रुपमा हाम्रो प्रत्यक्ष भेटघाट नभएको पनि लामोसमय भइसकेछ।
संघर्षको प्रत्यक्ष मोर्चामा कैयन् हण्डर र ठक्करलाई ब्यहोर्नुपर्दा अनि छाती चर्किएर भावना निमोठिँदा आमाको काखको याद आइरहने रहेछ। अनायसै लामो समयसम्म बिछोडिनु पर्दा सम्झनाले सताइरहने रहेछ। भयानक पीडाले मुटु निचोरिँदा सिंगो छाती नै चहराउँदो रहेछ। हो आमा! भाबनाको संसारभित्र यस्तै-यस्तै अनुभूति हुनेरहेछ।
तत्कालीन अवस्थामा राज्यपक्षको तिब्र दमन, गाउँ वस्तीहरुमा फैलाइएको श्वेत आतंक अनि राज्यले हाम्रो परिवारमाथि जबर्जस्त थोपारेको अमानवीय यातना र धरपकडको कारण संबेदनशील बनिरहेको तत्कालीन परिस्थितिमा आफ्नै जिम्मेवारी र कार्य व्यस्तताले पनि सहजै भेटघाटमा आउन सकिएको थिएन।
आकाल–झुक्कल घरमा आइपुगि हाले पनि लामो भलाकुसारी गरेर बस्ने फुर्सद हुँदैन थियो। आमाले पस्किएर दिएको गाँस टिपेर आफ्नो गन्तव्यतर्फ दौडिने हतारो हुन्थ्यो। अनि सुरक्षाको हिसाबले पनि निस्फिक्री भलाकुसारी गरेर बस्न पाइन्न थियो। तर आमा! आज हाम्रो लडाइँको मोर्चा र रुप फेरिएको छ।
लड्ने तौर तरिका र बिधि-प्रकृया पनि फेरिएका छन्। आज हामीले बम, बारुद र आगोका लप्का सरी गोलीका पहराहरुसँग खेलिने भौतिक लडाइँ युद्धलार्ई त स्थगित गरिसकेका छौं।
आजकाल बर्गबैरीका क्याम्पमा भौतिक रुपमा बम र गोलीद्वारा धावा बोल्नु परेको छैन। कमाण्डो तालिम, एम्बुस अनि कमाण्डो आक्रमणमा जुट्नु परेको छैन। पराइ आँखाहरुलाई छल्दै, यो जिन्दगीले गोप्य चिट्ठी-पत्र आदान प्रदान, युद्धसामग्री ओसार पसार गर्नुपरेको छैन।
तर आमा! हिजो हाम्रा भौतिक जिन्दगीलाई ढलाउन, हाम्रो टाउको र विशेषगरि हाम्रा कंचटमा ताकिने गोलीहरुअनि हाम्रा छात्ती माथि दागिने संगिनहरु, आज हाम्रो आस्था र बिचारलाई गलाउन जाल, झेल, षड्यन्त्र, भ्रम अनि कुप्रचार जस्ता सामाजिक बिकृति र परिबर्तन बिरोधी मन्दबिषको रुपमा बदलिएका छन्। त्यसैले त आमा बारुदले भरिएका गोलीभन्दा चिनी लपेटिएका गोली झनै खतरनाक र अत्यन्तै बिषालु हुने रहेछन्।
बदमासी र बेइमानीले फेरि पनि गाउँ शहरहरु लपेट्न खोज्दै छ। भ्रष्टचार, तस्करी, कालो बजारी, कमिसनतन्त्र, जाल, झेल, षड्यन्त्र, राष्ट्रघातलगायत काण्डै–काण्डको उचाइले सगरमाथालाई पनि फुच्चे साबित गर्न खोज्दैछ। त्यसैले त आमा हाम्रा कलमहरुले पनि अब मसी होइन, बारुद निलेर आगो ओकल्न बाध्य छन्!
एउटा बादशाहलाई त जबर्जस्त घोडाबाट खसालियो तर फेरि नयाँ बादशाहलाई कठालोमा समातेर सडकमा पछार्ने अभियानमा जुट्नैपर्ने बेला भएको छ। लडाइँको मोर्चा र रुप फरक भएपनि हामी अहिलेपनि संघर्षमै छौं। हामी अझैपनि निरन्तर खबरदारीमै छौ। त्यसैले त हामी अझैपनि बेफुर्सदिला मान्छेहरु हौं।
शान्तिप्रकृया पश्चात् छोरो घर आउने आशामा भञ्ज्याङ चौतारिको बाटो हेरेर दिन रात बिताइ रहनु भयो होला। तर माफ गर्नुस् है आमा मत आउन सकिन। र तत्काल आउन पनि सक्दिन। मेरा गालामा दुबै हातले सुम्सुम्याउँदै, स्नेहपूर्वक चुम्बन गर्ने तपाईंको अभिलासालाई मैले तत्काल पूरा गर्न सक्दिन।
मलाई थाहा छैन आमा, आफ्नो बुबा-आमाप्रतिको एउटा असल सन्तानको अभिभारा अनि जिम्मेवारी र कर्तव्य यो हो कि हैन? तर यतिबेला हामीले मैदान छाड्यौं भने यहाँ प्रतिगामी खेल हुनसक्छ। हो आमा! श्रमजिबि नेपाली जनताको आकांक्षा माथि तुसरापात हुनसक्छ। त्यसैले कुनै एउटी अमुक आमाको मात्र हैन यहाँ सिंगो नेपाल आमाको छाती परचक्रीको परेड मैदान बन्न सक्छ।
श्रमजिबी नेपाली जनताको आत्मासम्मान माथि गहिरो चोट पुग्न सक्छ। त्यसैले त आमा हामी अझै सजग र सचेत रहनुपर्छ। मलाई थाहा छ आमा, तपाईंको मखमली चोली पनि फाट्यो होला। टाउकोभरी कपाल सेताम्य भएर पाक्यो होला।
अनुहारमा सयौं मुजाहरु चाउरिएता पनि आफ्ना हजारौं छोराछोरीलाई पराइ नजरबाट छल्न आफ्नो काख–पोल्टोमा लुकाउँदै, मिठो–पिठो खुवाएर भोक, निद्रा,थकाइ र सुरक्षाको ख्याल गर्दै, न्याय स्वतन्त्रता र समानताको निम्ति निरन्तर अघि बढिरहन सधैं हौसला र प्रेरणा दिने तपाईंको अदम्य साहस, आँट, धैर्य र दृढतालाई मैले हर क्षण सम्मान गर्छु।
आन्दोलनमा आफ्ना प्रिय मान्छेहरु गुमाउने हजारौं आमाहरुको भिडमा तपाईं पनि एउटी अत्यन्तै साहसी र धर्यवान आमा हो। त्यसैले टोल–छिमेकका अरु सयौं आमाको भिडमा तपाईले पनि खरबारी पाखाको घाँस अझै आफू एक्लै बोक्नुपर्छ, खेतबारीमा धान–कोदो, मकैपनि एक्लै रोप्नुपर्छ। मेलापात, बस्तुभाउ पनि तपाईं एक्लैले गर्नुपर्छ।
हो आमा, अरु हजारौ सहिद तथा बेपत्ता योद्धा परिवारले पनि त सयौ चोट र पीडालाई जबरजस्ती सहेर, आस्था, विश्वास र आत्म सम्मानलाई जोगाउँदै, शहीदको सपनाप्रति दृढ संकल्पित छन्। सामुहिक लक्ष्यप्रति प्रतिबद्ध छन्। भयानक तनाव र पीडाको बीचबाटपनि सुनौलो बिहानिको पर्खाइमा छन्।
राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको हाम्रो निरन्तर अभियानमा परचक्रीहरुले गिद्देदृष्टि लगाए भने हामी २१ औं शताब्दीका भियातनामी बनेर सगरमाथाको देशबाट फेरि अर्को बिद्रोहलाई संगठित गरिरहने छौं। त्यसैले त आमा हामी हरक्षण बेफुर्सदिला मान्छेहरु हौं।
म आफूपनि लामो समयसम्म भेटघाटमा आउन सकिन। तपाईं धेरै सुर्ताउनु पनि भयो होला। आफ्नो मुटुका टुक्रा भन्दा प्यारा छोरा–छोरीलाई अनायसै अकालमा गुमाउनुपर्दा कुन आमाको छाती निचोरिँदैन र?
आफ्ना हजारौं सन्तानको बलिदानको नमिठो पीडाले छाती निचोरिए पनि यतिबेला आँखामा आँशु हैन आमा अझै आगोका लप्काहरु निकाल्नुपर्छ। यतिबेला राज्य हाम्रो बलिदान र रक्तरंजित अभियानलाई अपराधिकरण गर्न खोज्दै छ। शिवपुरी, दोरम्बा, काटाकुटीलगायत दर्जनौं सामुहिक हत्याकाण्डमा जीवन गुमाउने योद्धाहरुको अस्तिपंजरलार्ई फेरि पनि फासीको फन्दामा झुण्ड्याउला झैं गरी निकृष्ट व्यवहार गरिरहेकै छ।
समय बित्दै जाँदा आन्दोलन भित्र पनि कहीँ कतै इमान्दारिता, त्याग, निष्ठा र समर्पण ओझेलमा पर्दै गएजस्तो, कमजोर र निरीह बन्दै गएजस्तो अनुभूति हुन थालेको छ। बिगतमा हाम्रो आन्दोलनको बिरुद्ध सिआइडी र सुराकी गर्ने सुराकीहरु अनि जनयुद्धलाई गाली गर्दै मैदान छाडेर सुइकुच्चा ठोक्ने धुरन्धर क्रान्तिकारी अनि अमाजका एकाध ठग, छट्टु बेइमानहरु यतिबेला संगठनका ठूलै बोलवाला हर्ताकर्ता भएका छन्।
एउटै संगठनको एउटा जिम्मेवार नेताको उच्च अभिजात बर्गीय रहनसहन र तडक भडकले अर्को छिमेकी योद्धाको भान्सामा दैनिकजसो झगडा गराउँछ। पार्टीका मुख्यालयको कुन तहको आशीर्वाद र आदेश पाएका नेताहरु हुन तिनीहरु? त्यो त मलाई थाहा छैन तर आमा जसले सहयात्री छिमेकीको भान्सामा दैनिक जसो झगडा गराइरहेका छन्।
अर्कोतर्फ यतिबेला राजनैतिक पार्टीहरुको पार्टी हेडक्वार्टरबाट सतहमा हेर्दा धरातलीय यथार्थता देखिने भिजिबिलिटी (दृश्यात्मक क्षमता) छेकिएको मात्र हैन शून्य जस्तै हुन लागेको छ। हिजोको त्यो महान आदर्श र दृढता यति छिट्टै किन, कसरी अनि कोबाट बिचलित र स्खल्लित हुँदैछ? यतिबेला हाम्रो संगठन भित्रपनि केही चाटुकार, दलाल, बेइमान, ठग अनि बिचौलियाको बोलवाला बढेको छ।
त्याग, निष्ठा, समर्पण यतिबेला पुरै छायामा परेको छ। पुँजीबादी, सामन्तबादी संगठनहरुमा जस्तै पद, पैसा र प्रतिष्ठाको निम्ति इमान र निष्ठा बेच्न पनि पछि नपर्ने प्रबृत्ति क्रान्तिकारीहरुमापनि हाबी हुन खोजिरहेको छ। क्रान्तिको आवरणमै एकाध बेइमानी र बद्मासी समाजमा पाच्यहुन नसक्ने दृष्यहरुपनि यदाकदा देखिने गरेका छन्। सामाजिक भावना मिचेर गरिने गलत प्रबृति र केही बद्मासीको बिरुद्धमा पनि जोडदार खबरदारी गर्न जरुरी भैसकेको छ।
एउटा पाटोबाट हेर्दा राजनैतिक रंग मंचमा पावर, पैसा, चाकरी, आफन्त नाताबाद र फरियाबाद यत्र, तत्र सर्बत्र हावी हुन खोजिरहेको छ। संगठनभित्र न्यायको विधि मत्स्य न्याय प्रणाली जस्तै अनुभूति हुन्छ।
ताकी ‘चोरलाई चौतारो, साधुलाई सुली’ को न्याय बिधि नै बर्तमान राजनीति भित्रको न्याय प्रणाली हो कि जस्तो आभास हुन्छ। निर्लज्जतापूर्वक न्याय पैसामा बिक्री भैरहेको देख्दा मेरो देश न्याय मरेको देश पो हो कि जस्तो आभाष हुन्छ।
तर अमा समाजबादी आन्दोलनको सुनिश्चितताको निम्ति एक पित्को इमान्दारीता एकधार्नी चलाखी भन्दापनि महत्वपूर्ण हुन्छ भन्ने कुरालाई कहिल्यै भुल्नुहुन्न। मलाई बिश्वास छ आमा, इमान र निष्ठालाई झुठ र बेइमानिले कहिल्यै पराजित गर्न सक्ने छैन।
पारिपट्टी पहरामा मलातोको रुखमुनिको ओडारमा ड्रमभित्र केही किताब, डायरी, कम्ब्यार्ट पोशाक, खुकुरीलगायत अत्यन्तै महत्वपूर्ण सामग्री छन्, तिनीहरुलाई पनि अब घरमै ल्याएर राखिदिनुहोला। खुकुरीण्लाई बिर्खेदाइको आरनमा लगेत धार लगाएर राखिदिनु होला।
किनकी कम्मरमा खुकुरी भिरेर फेरि अर्को नयाँ लडाईं लड्नुपर्ने बेला भइसकेको छ। हो आमा ! तपाईंले मलाई पनि उहिल्यै माया मारिसकेकै त हो नि। आखिर यो नाफाकै जिन्दगी हो। त्यसैले फेरि एकपटक आफ्नो छाती चर्काउने पीडा ब्यहोर्न तयार हुनुहोला।
रगतको आहालको बीचबाट हुर्किएका रक्तबिजहरुले देश, जनता र आफ्नो बर्गको अहित कहिल्यै सोच्ने छैनन्। भ्रष्ट, बद्मासहरुको गर्दन चिलाएको हो कि हामीलाई दशा लागेको हो? त्यो त मलाई थाहा छैन।
तर समाजको यो घिनलाग्दो बेथितिको बिरुद्धमा सायद अझै हाम्रो बलिदानको कोटा नपुगेको हुनुपर्छ।
हवस् त आमा, बाँकी अर्को पत्रमा उल्लेख गर्ने प्रतिबद्धतासहित आजलाई कलम बन्द गर्न चाहन्छु।
उही तपाईंको प्यारो छोरा
Facebook Comment