सभापोखरीका आगलागी पीडितलाई राहत वितरण
खाँदबारी। सङ्खुवासभाको सभापोखरी गाउँपालिका–६ बाह्रविसे बजारका आगलागी पीडितलाई जिल्ला विपद् व्यवस्थापन समितिले राहत वितरण गरेको छ।
निमित्त प्रमुख जिल्ला अधिकारी मोहणमणि घिमिरेको टोलीले आज बाह्रविसे पुगेर पीडितलाई नगद रु १५ हजार वितरण गरेको हो। नेपाल रेडक्रस सोसाइटीले त्रिपाल, कम्बल, भाँडावर्तन लगायतका सामग्री वितरण गरिएको हो। आगलागी पीडितमध्ये चार परिवारलाई जनही रु १५ हजार र पाँच जनाभन्दा बढी सदस्य भएका एक परिवारलाई रु २० हजार वितरण गरिएको सहायक प्रजिअ घिमिरेले बताए।
पीडितलाई जिल्लाको अलैँची व्यवसायी संघले रु ५५ हजार र वितरक संघले रु ६० हजार पाँच सय सहयोग गरेको सभापोखरी गाउँपालिकाका अध्यक्ष भीम लिम्बूले बताए। उनका अनुसार गाउँपालिकाले बुधबार साँझ दुई सेट ओड्ने ओछ्याउने, भान्सामा प्रयोग हुने सामग्री र खाद्यान्न वितरण गरिसकेको छ।
बुधबार दिउँसो भएको आगलागीबाट रु दुई करोड बढीको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट बाह्रविसेमा पाँच घर जलेर नष्ट भएका छन् । आगोले घरभित्र रहेका गरगहना, लत्ताकपडा र खाद्यान्न नष्ट भएको अध्यक्ष लिम्बूले बताए।
आगलागीका कारण विद्युत् र सञ्चार सेवा पूर्णरुपमा बन्द भएको छ। आगलागीबाट रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बू, सुशील तामाङ र निर्मला कालाखेतीको घर जलेको प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए। आगलागीबाट पाँच घरका कम्तीमा १७ जना विस्थापित भएका छन्। उनीहरु हाल आफन्त र छिमेकहाँ बसेका छन्।
बुधबार दिउँसो २ बजेदेखि रामबहादुर राईको घरबाट आगलागी सुरु भएको थियो। पाँचवटै ढुङ्गा माटोले बनेका घर हुन्। नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा डेढ घण्टामा आगो नियन्त्रणमा लिइएको थियो।
Facebook Comment