उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन सुझाव
काठमाडौं। उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन यातायात व्यवसायीहरूले सुझाव दिएका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा मजदुर ट्रेड युनियनबीच आज यहाँ भएको छलफलका वक्ता यातायात व्यवसायीहरूले ऐन कानुन नै व्यवस्थित गरेर भए पनि ट्राफिक व्यवस्थापन मजबुद बनाउन सुझाएका हुन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको र सवारी साधानहरू समेत अस्वभाविक रूपमा बढिरहेकातर्फ सरकारको ध्यानाकर्षण गराए। उनले उपत्यकामा मात्रै झण्डै २१ लाख मोटरसाइकल रहेको र दुर्घटनामा बढी मोटरसाइकल देखिएको बताउँदै यसको नियमन जरूरी रहेको बताए।
उपाध्यक्ष सिटौलाले सार्वजनिक सवारी साधनलाई व्यवस्थित गर्न नसक्दा निजी सवारी साधन अस्वभाविक रूपमा बढेको र यसले ट्राफिक व्यवस्थापन प्रभावित बनाएको तर्क गरे। उनले विद्युतीय सवारी साधनको बृद्धिसँगै सोहीअनुसारका संरचना निर्माण नभएकोमा चिन्ता व्यत्तः गरे।
यातायात व्यवसायी तथा यातायात क्षेत्रका मजदुर अगुवाहरूले उपत्यका लगायत देशभरकै ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने, अनावश्यक रूपमा यातायात मजदुरले दुःख पाइरहेको बताएका थिए।
कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले प्रहरीको कारबाही गर्ने कुनै उद्देश्य नभएको बताउँदै चालक आफैँ सचेत हुनुपर्नेमा जोड दिए। उनले उपत्यकाको ट्राफिक व्यवस्थापनमा कार्यालयले विशेष ध्यान दिएको बताए।
प्रमुख घिमिरेले ट्रापिक कारबाहीभन्दा ट्राफिक सचेतना तथा सडक सुरक्षालाई प्राथमिकता दिएको बताउँदै अब प्रविधिको अधिकतम प्रयोग गर्न थालिएको जानकारी दिए। ट्राफिक नियम मिच्नेलाई अफिसबाटै हेरेर कारबाही गर्न थालिएको र आगामी दिनमा हरेक कामका लागि ट्राफिकमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्नेगरी काम भइरहेको बताए।
Facebook Comment