वामदेव : एमाले कि एकीकृत समाजवादीमा ?
काठमाडौं। राष्ट्रिय सभा सदस्य एवं नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम कुन पार्टीमा प्रवेश गर्ने भन्नेमा दोधारमा छन्। पार्टी प्रवेशका लागि चरणबद्ध छलफलमा रहेका गौतमले समयमै निर्णय गर्न नसक्दा पार्टी प्रवेश गर्ने विषय अन्योल बनेको हो।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश गर्न खोजेका गौतमलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गरे। ओलीले गौतमलाई ल्याउन नचाहेपछि एमालेबाटै विभाजन भएर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा प्रवेशका लागि चरणबद्ध छलफल भयो।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेता र गौतमका बीचमा चरणबद्ध छुट्टाछुट्टै एवं सामूहिक रूपमा छलफल भयो। छलफल सकारात्मक रहेको र गौतम एकीकृत समाजवादीमै प्रवेश गर्ने टुंगोमा पुगिसकेपछि गौतम नेतृत्वको अभियानले कुनै निर्णय नै गर्न सकेन।
१७ पुसमा गौतमले एकीकृत समाजवादीसँग एकताको अन्तिम गृहकार्यमा रहेको बताएका थिए। एकीकृत समाजवादी अध्यक्ष नेपालसँगको संवादपछि गौतमले पार्टी एकता छिट्टै हुने बताएका थिए। ‘समझदारी विकास गरिने भएको छ, यो त एउटा सानो पक्ष हो, यसैलाई खोल्नेबित्तिकै कति धेरै आउँछ,’ गौतमले भनेका थिए, ‘अबचाहिँ यस्तो भयो भनेर जुन दिन घोषणा गर्छौं, त्यही दिन बताउँछौं, यसरी पार्टी एकता गर्छौं।’
त्यसपछि २७ पुसमा अभियानको केन्द्रीय कमिटी बैठक बस्ने र निर्णय गर्ने भनिएको थियो। तर, अभियानको बैठकले एकीकृत समाजवादीसँग तत्काल पार्टी एकता गर्ने कि नगर्ने कुनै निर्णय नै गर्न सकेन।
एकता अभियानका महासचिव डीबी कार्कीले तत्काल एससँग एकता गर्ने विषयमा कुनै निर्णय नभएको बताए। ‘एकीकृत समाजवादीसँगको एकता प्रक्रियामा गम्भीर छलफल भयो,’ एकता अभियानका महासचिव कार्कीले भने, ‘हामी वाम एकताको पक्षमा छौं, त्यसैले नयाँ शिराबाट वामपन्थी एकताको बहस अघि बढाउन कमरेड वामदेव गौतमको नेतृत्वमा पाँच सदस्यीय वार्ता समिति बनाएर बैठक सकियो।’
एकीकृत समाजवादीसँग पार्टी एकता गर्न अन्तिम चरणमा पुगेर गौतम पुनः एमालेमै फर्किने रणनीतिका साथ अघि बढे। एमाले, एकीकृत समाजवादी, माओवादी केन्द्रसहितका वामपन्थी दलहरूसँग पार्टी एकताका लागि छलफल गर्ने निर्णय अभियानले गरेपछि अहिले गौतम कुन पार्टीमा जाने भन्ने अन्योलमा परेको देखिन्छ।
एकीकृत समाजवादीले गौतमलाई तेस्रो वरीयताको वरिष्ठ नेता बनाउन तयार थियो । तर, गौतमले संगठन विभाग नपाएको र जनताको बहुदलीय जनवाद (जबज)को मार्गदर्शनमा समाजवादी कार्यदिशा बनाउनुपर्ने आफ्नो माग नसुनिएको भन्दै तत्काल एकता नगर्ने निष्कर्षमा पुगेका हुन्।
‘उहाँ (गौतम)लाई तेस्रो वरीयताको वरिष्ठ नेता दिने र अरू नेताको पनि व्यवस्थापनको विषयमा लगभग टुंगो भइसकेको थियो, त्यहीबीचमा गौतमले संगठन विभाग प्रमुख पनि खोज्नुभयो,’ एकीकृत समाजवादीका एक पदाधिकारीले भने, ‘यहाँ मिलाउनलाई त महासचिवलाई नदिई अरूलाई नै संगठन बिभाग दिनुपरेको छ।’
एकीकृत समाजवादीसँग पार्टी एकता नगर्नुको अर्को कारण गौतमले भित्रभित्रै एमाले प्रवेशका लागि छलफल थालेका छन् । एकीकृत समाजवादीसँग एकताको चर्चा सार्वजनिक रूपमा हुन थालेपछि एमालेका नेताहरूले गौतमसँग अनौपचारिक छलफल सुरु गरे। एमालेका पूर्वउपाध्यक्षसमेत रहेका गौतमले त्यसपछि पुनः एमालेमै फर्किनेमा नेताहरूसँग छलफल थाले । तर, ओलीको सहमति नभई गौतम एमालेमा फर्किने सम्भावना कम छ।
एमालेको (२१ देखि २३ पुस)मा सम्पन्न केन्द्रीय कमिटी बैठकले पार्टी विभाजनलगायत कारणले पार्टीबाहिर रहेका नेता कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेपछि त्यसैको निहुँ बनाएर गौतम तत्काल एकीकृत समाजवादीमा प्रवेश नगर्ने निष्कर्षमा पुगेका हुन्।
एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर गठन भएको तत्कालीन नेकपा विभाजन भएपछि गौतम कुनै दलमा नलागी स्वतन्त्र बसेका थिए। पछि उनले अभियान गठन गरी पुनः नेकपा ब्युँत्याउन खोजेका थिए । तर, त्यो प्रयास असफल भएपछि उनले कहिले एमाले त कहिले एकीकृत समाजवादीमा प्रवेश गर्ने चाहना व्यक्त गर्दै आएका छन्।
Facebook Comment