प्रधानमन्त्री कप महिला क्रिकेट: सुदूरपश्चिम ‘सुपर फोर’मा
बैतडी। प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विजयी हुँदै सुदूरपश्चिम प्रदेश ‘सुपर फोर’मा प्रवेश गरेको छ। धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशमाथि १० विकेटको जीत निकालेको हो।
सुदूरपश्चिमले यसअघि गण्डकी र लुम्बिनी प्रदेशलाई हराएको थियो। जीतसँगै सुदूरपश्चिम ६ अंकका साथ अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। निर्धारित २० ओभरको खेल वर्षाका कारण ५ ओभरमा सीमित गरिएको थियो। जीतका लागि पाएको २१ रनको लक्ष्य सुदूरपश्चिमले १.३ ओभरमा बिना विकेट भेट्टायो। सुदूरपश्चिमका लागि कविता कुँवरले १४ र मनिषा बोहराले ५ रन बनाए।
त्यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको कर्णालीले निर्धारित ५ ओभरमा ७ विकेटको क्षतिमा २० रन बनाएको थियो । उसका कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।
सुदूरपश्चिमका लागि प्लेयर अफ दी म्याचसमेत चुनिएकी आशिका महराले ३, कविता कुँवरले २ र रितु कनौजियाले एक विकेट लिइन्।
यही माघ १ गतेदेखि सुरू भएको प्रतियोगिता ९ टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा सात प्रदेश तथा दुई विभागीय एपिएफ र आर्मीको टोली सहभागी छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सशस्त्र प्रहरी बलको एपिएफ क्लब र सुदूरपश्चिम प्रदेश रहेका छन्।
यसैगरी, प्रतियोगिताको समूह ‘बी’ मा कोशी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र त्रिभुवन आर्मी क्लब रहेका छन्। प्रतियोगिताको उपाधि जित्नेले रु पाँच लाख पुरस्कार पाउने छ। यस्तै दोस्रो हुनेले रु तीन लाख, प्लेयर अफ दी सिरिजलाई रु ५० हजार तथा बेस्ट ब्याटर र बेस्ट बलरलाई रु २५/२५ हजार पुरस्कार दिइनेछ। प्रथम र द्वितीय पुरस्कार राष्ट्रिय खेलकुद परिषद्ले र बाँकी पुरस्कारको रकम सुदूरपश्चिम खेलकुद परिषद्ले उपलब्ध गराउने बताइएको छ।
Facebook Comment