जलवायु न्यायका लागि सगरमाथा संवाद: वनमन्त्री शाही
काठमाडौं। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु न्यायसम्बन्धी विषय अन्तर्राष्ट्रियस्तरमा पुर्याउने उद्देश्यले सगरमाथा संवाद आयोजनाको तयारी गरिएको बताएका छन्।
राष्ट्रिय मानवाधिकार आयोगले आज यहाँ आयोजना गरेको स्वच्छ वायु अधिकार र जलवायु न्यायसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी बैठकमा उनले सम्मेलनका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको उल्लेख गरे। बैठकमा उठाइएका विषयहरू स्वच्छ वायु, जलवायु न्याय र मन्त्रालयका लागि अत्यन्त महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।
उनले उपलब्ध अवसर र स्वच्छ प्रविधिको उपयोग गरेर नेपालले अन्य देशले गरेका गल्ती नदोहोर्याई स्वच्छ र दिगो विकासको मार्ग अपनाउन सक्छन् भन्ने विषयमा जोड दिइएको बताए।
विभिन्न १० मन्त्रालयका सचिवस्तरीय उपस्थिति र काठमाडौं तथा ललितपुर महानगरपालिकाका कार्यकारी प्रमुखहरूको सहभागितामा लामो समयपछि ‘काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६’ को बैठक सम्पन्न भएको उनले जानकारी गराए।
उक्त कार्ययोजनाको मुख्य उद्देश्य काठमाडौं उपत्यकामा वायु प्रदूषणको रोकथाम र नियन्त्रण गरी नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु रहेको उनले स्पष्ट पारे।
मन्त्री शाहीले हाल वन मन्त्रालयले सबै मन्त्रालयको सहभागितामा जलवायु परिवर्तनसम्बन्धी १० वर्षे योजना राष्ट्रिय निर्धारित योगदान (एनडिसी)बनाउने तयारीमा रहेको जानकारी गराए।
Facebook Comment