भीम रावलको नेतृत्वमा ‘गैरकम्युनिष्ट पार्टी’

डिसी नेपाल
५ माघ २०८१ ७:४३

काठमाडौं। नेकपा एमालेमै रहेर संघर्ष गर्ने सम्भावना सकिएपछि पूर्व-उपप्रधानमन्त्री डा.भीम रावलले आफ्नै नेतृत्वमा पार्टी निर्माणको अभियान थालेका छन्। विद्यार्थी कालदेखि वाम राजनीतिमा क्रियाशील रावललाई एमालेले गत पुस १० गते साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो।

एमालेको दशौं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावलले अन्ततः कम्युनिष्ट नाम नजोडिने गरी पार्टी निर्माणको पहल थालेका हुन्। पाँच दशकभन्दा लामो समय वाम राजनीतिमा बिताउनुभएका रावलले अन्ततः गैरकम्युनिष्ट राजनीतिक शक्ति निर्माणको अग्रसरता लिएका हुन्।

अहिले अभियान, पछि पार्टी

रावलले अहिलेका लागि ‘मातृभूमि जागरण अभियान, नेपाल’ घोषणा गरेका छन्। जसले पछि पार्टीको रूप लिने बताइएको छ। अभियानले ११ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृद्धिलाई मुख्य एजेण्डा बनाएको छ।

भ्रष्टाचार र विकृतिविरुद्ध जुट्न आहृवान गर्दै रावलले अभियानअन्तर्गत देश दौडाहा गर्ने घोषणा गरेका छन्। नेपालमा बितेको साढे सात दशकमा अनेकौँ राजनीतिक परिवर्तन भए पनि देश सुशासन, विकास र समृद्धिको बाटोमा अग्रसर हुन नसकेको ठहर अभियानले गरेको छ।

अभियानले तत्कालका लागि राष्ट्रिय जीवनका महत्वपूर्ण विषयमा छलफल गर्दै जाने र जनताको माग एवं आकांक्षालाई संगठित गर्दै विस्तृत धारणा, नीति र कार्यक्रम प्रस्तुत गर्ने जनाएको छ।

अभियानमा जो कोही राष्ट्रवादी र भ्रष्टाचारविरोधी नेपाली नागरिक आबद्ध हुनसक्ने अभियानले जनाएको छ। नेपालमा कम्युनिष्ट नामका पार्टी धेरै भएको भन्दै रावलको नेतृत्वमा बन्ने पार्टीको नाममा भने कम्युनिष्ट शब्द राखिने छैन ।

‘नाममा कम्युनिष्ट वा लोकतान्त्रिक लेखेर मात्रै हुँदैन, त्यसलाई व्यवहारमा लागू गर्ने कुनै पार्टी भएनन् । त्यसैले अब बन्ने पार्टीमा कम्युनिष्ट शब्द राख्दैनौँ’, रावलनिकट एक नेताले भने। अभियानअन्तर्गत वडा, पालिका र प्रदेशस्तरमा १५ देखि २५ जनासम्मको समितिहरू गठन गरिने जनाइएको छ।

सुदूरपश्चिममा रावललाई स्वागत

अभियान घोषणा गरेलगत्तै शुक्रबार नेता रावल आफ्नो गृहप्रदेश सुदूरपश्चिम पुगेका छन्। गृहजिल्ला अछामका विभिन्न कार्यक्रममा उनी सहभागी हुने बताइएको छ। अभियान घोषणापछि गृहजिल्ला पहिलोपटक जाँदै गरेका कारण रावलको यात्रालाई चासोका साथ हेरिएको छ ।

अछामसहित सुदूरपश्चिमका केही जिल्लामा नेकपा एमालेका नेता कार्यकर्ताले रावललाई साथ दिने आँकलन गरिएको छ । रावल धनगढी विमानस्थल पुग्दा पूर्व-प्रदेशमन्त्री कृष्ण सुवेदी लगायतले स्वागत गरेका थिए। रावललाई स्वागत गर्न पूर्वएमाले कार्यकर्ताहरू विमानस्थल पुगेका थिए । जहाँ उनीहरूले नेकपा एमाले र अध्यक्ष ओलीविरुद्ध नाराबाजीसमेत गरे।

रावलको अभियानले सुदूरपश्चिममा एमालेलाई राजनीतिक क्षति पुग्नसक्ने अनुमान गरिएको छ। सुदूरपश्चिमकै डडेल्धुरामा प्रभाव जमाएका नेपाली कांग्रेस (बिपी)का वरिष्ठ उपाध्यक्ष कर्ण मल्ल र एकीकृत समाजवादीका प्रदेश सांसद तारा जोशीसँग पनि रावलले सहकार्यको प्रस्ताव गरेका छन्। यी तीन शक्तिबीच सहकार्य हुँदा सुदूरपश्चिममा कांग्रेस र एमाले दुवैलाई क्षति पुग्ने दाबी रावल निकटहरूले गर्ने गर्दछन्।

मातृभूमि जागरण अभियानका प्रस्तावक रावलले अहिले पार्टी निर्माणको प्रारम्भिक विन्दुमा रहेको भन्दै देशको अवस्था बदल्नका लागि आफू नेतृत्वको अभियानले लहर सिर्जना गर्ने बताएका छन्।

धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै रावलले देशको वर्तमान अवस्थाले हरेक नागरिकलाई निराश बनाएको, दलहरूले भागबण्डाका आधारमा देशलाई क्षति पुर्‍याएको र निष्ठापूर्वक बाँच्ने अवस्था नरहेको भन्दै रावलले आफ्नो अभियानले पार्टीको स्वरूप पाउँदासम्म पुराना शक्तिका लागि चुनौती बन्ने बताए।

‘अहिले हामी प्रारम्भिक विन्दुमा छौँ । हामी अहिले हिउँको सानो डल्लो जस्तो हौँ । हिमालमा गुडिरहेको हिउँको डल्ले सानो देखिन्छ, पछि यसले हिमआँधीको रूप लिन्छ’, रावलले भने। उनले भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा, देश र जनताको स्वाधीनताका पक्षमा उभिँदा विचार मिल्ने सबैसँग सहकार्य हुने पनि बताए। ‘देशको अहिलेको अवस्था बदल्न सबैखाले विचारका मान्छेहरू एकताबद्ध हुनुपर्छ, जुन स्वाभाविक पनि हो । सबैसँग हाम्रो सहकार्य हुन्छ’, रावलले भने।

हिमालय टाइम्स दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *