नेपालको ओखलढुंगादेखि अमेरिका हुँदै चन्द्रमा र मंगलको अन्तरिक्ष यात्रा
खै किन हो कुन्नि मलाई एलन मस्कको जीवन, कार्यशैली, दृढ प्रतिबद्धता र साहसले निकै प्रभावित पार्छ र उनी भिन्नै सोच भएको एक उत्कृष्ट मानव झैँ लाग्छ। त्यसैले सामाजिक संजालमा उनलाई पछ्याई रहन्छु।
उनी प्रविधि मै रमाउन र अन्वेषण गरिरहुन जस्तो लाग्छ। उनको राजनैतिक सक्रियताले कतै उनी कमजोर बन्ने हुन् कि? उनी कमजोर भए अहिलेको विज्ञान र प्रविधिको गतिलाई प्रभाव पर्ने पो हो कि झैँ लागिरहन्छ।
मेरो मनमा जे भए पनि उनी आफ्नै गतिमा अघि बढिरहेका छन। गत राष्ट्रपतिको चुनावको समयमा उनले आफ्नो प्रभावशाली संचार शैली र नेतृत्व क्षमताद्वारा राजनीतिक अभियानमा सक्रिय भूमिका निभाए।
अहिले उनी अमेरिकी सरकारका कर्मचारीहरूको संख्या घटाएर सरकारी प्रणालीलाई अझ प्रभावकारी बनाउन समेत प्रतिबद्ध बन्दै सोही जिम्मेवारीको निमित्त तयार छन्।
यो थप राजनीतिक भूमिकाको बाबजुद पनि उनी स्टारशिप र स्पेसएक्स परियोजनाको सपना साकार गर्न दिनरात लागिरहेका छन्। उनका लागि हरेक काम केवल जिम्मेवारी होइन, जीवनलाई अगाडि बढाउने एक महत्त्वपूर्ण अवसर हो, जहाँ उनले आफ्नो लक्ष्यप्रति असाधारण समर्पण र अडान देखाउँछन्। म मुलत: यिनै कुराहरुबाट प्रभावित छु।
एलन मस्कले सन् २००२ मा स्थापना गरेको स्पेसएक्स एक निजी अन्तरिक्ष अन्वेषण कम्पनी हो। यस कम्पनीको मुख्य उद्देश्य अन्तरिक्ष यातायातलाई सस्तो र विश्वसनीय बनाउनु हो, जसले गर्दा अन्ततः मानिसलाई अन्य ग्रहहरूमा बसोबास गर्न सकियोस्। स्टारशिप परियोजनाको मुख्य सपना मानवलाई अन्तरिक्षमा पहुँच बनाई एक नयाँ युगतर्फ अगाडि बढाउनु हो।
एलन मस्कको दृष्टिकोणमा, स्टारशिप एउटा यस्तो प्रणाली हो, जसले अन्तरिक्ष यात्रालाई सस्तो, सुरक्षित र सबैका लागि उपलब्ध बनाउनेछ। यसले ठूलो मात्रामा उपग्रहहरूको प्रक्षेपण गर्ने, चन्द्रमामा आपूर्ति पुर्याउने र अन्ततः मंगल ग्रहमा मानव स्थापना गर्ने लक्ष्य राखेको छ।
यो मात्र पृथ्वी बाहिरको जीवनका लागि नयाँ अवसर खोल्ने योजना होइन, यसले पृथ्वीमा पनि प्रविधिको नयाँ सम्भावनाहरू प्रस्तुत गर्नेछ। यस प्रविधि सफल भएमा अहिले उडेर २४ घण्टामा गरिने यात्रा पछि २४ मिनेटमै गर्न सकिनेछ।
हिजो, जनवरी १६, २०२५ मा, स्पेसएक्सले आफ्नो सातौं स्टारशिप परीक्षण उडान टेक्सासको बोकाचिका स्थित स्पेसएक्सको स्टारबेसबाट गर्यो। यो प्रक्षेपणले विश्वभरका व्यस्त रहेका व्यक्तिहरूको पनि ध्यान आकर्षित गर्यो।
विज्ञान र प्रविधिको तीव्र प्रगति हाम्रो वरिपरि भइरहे पनि, हामीमध्ये धेरैजसोले यसलाई गहिरो रूपमा ध्यान नगरेको हुन सक्छ। म भने कौतुहलता पूर्वक यस प्रक्षेपणलाई हेरिरहेको थिए र त्यहीसँग सम्बन्धित भएर यसका विभिन्न पक्षहरूलाई यस लेखमा चर्चा गर्न खोज्दैछु।
हिजोको उडानको मुख्य उद्देश्य स्टारशिपको प्राविधिक क्षमताहरूको परीक्षण गर्नु र विशेष गरी, यो उडानमा १० वटा डमी (नक्कली) स्टारलिंक उपग्रहहरू प्रक्षेपण गर्ने योजना थियो, जसले भविष्यमा वास्तविक उपग्रहहरूको प्रक्षेपणको तयारी गर्ने थियो। साथै, यो परीक्षणले स्टारशिपको पुन:प्रयोग र विश्वसनीयताको मूल्याङ्कन गर्ने लक्ष्य राखेको थियो।
प्रक्षेपणको सुरुको क्षणदेखि नै यो परीक्षण निकै रोमाञ्चक र महत्त्वपूर्ण थियो, तर उडानको करिब ८.५ मिनेटपछि स्टारशिपको माथिल्लो चरणमा समस्या देखा परेपछि यो विस्फोट भयो।
प्रत्यक्षदर्शीहरूले आकाशमा आगोको मुस्लो र धुवाँको ठुलो बादल देखे र भिडियोहरूले विश्वभरका दर्शकहरूको ध्यान खिच्यो। यी दृश्यहरूले एकातिर विज्ञानको चुनौतीपूर्ण प्रकृति देखाइरहेको थियो भने अर्कातिर मानिसको कल्पनाशक्तिको सीमा कसरी अगाडि बढिरहेको छ भन्ने प्रमाणित गरिरहेको।
स्टारशिपको विस्फोटको खबरले यतिखेर केही निराशाका प्रतिक्रियाहरु आइरहेको भए पनि एलन मस्कले यस घटनालाई सामान्य परीक्षण प्रक्रियाको हिस्सा मात्र भएको बताए।
उनले यसलाई सडकमा आएको सानो अवरोध मात्र हो भन्दै आगामी महिनामा अर्को परीक्षण उडानको तयारी भइरहेको बताए। उनले यस्तो विस्फोटले नयाँ प्रविधिको परीक्षण र सुधारका लागि महत्त्वपूर्ण पाठ दिएको छ भन्दै स्टारशिप निकट भविष्यमा पूर्णरूपमा सफल हुने विश्वास रहेको बताए।
हालसम्म, वर्तमान राष्ट्रपति जो बाइडेन वा राष्ट्रपति-निर्वाचित डोनाल्ड ट्रम्पले यो घटनाबारे कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्।
यद्यपि, स्पेसएक्सजस्ता कम्पनीहरूले अन्तरिक्ष अन्वेषणमा ल्याएको प्रविधिगत क्रान्ति र यसको दीर्घकालीन महत्त्वबारे उनीहरूले समर्थन देखाउँदै आएका छन्। यस क्षेत्रमा सार्वजनिक र निजी साझेदारीको महत्त्वलाई प्रोत्साहन गर्ने विचारले अमेरिकालाई अन्तरिक्ष अनुसन्धानमा अग्रणी बनाइराखेको छ।
हाम्रो दैनिक जीवनका आवश्यकताहरूमा व्यस्त रहँदा पनि, विज्ञान र प्रविधिको प्रगति तीव्र गतिमा अगाडि बढिरहेको छ। स्पेसएक्सको यो प्रयासले अन्तरिक्ष अन्वेषणको क्षेत्रमा नयाँ आयाम थप्नेछ।
यस्ता परीक्षणहरूबाट प्राप्त अनुभव र सिकाइहरूले भविष्यमा सफल र सुरक्षित अन्तरिक्ष यात्राको मार्ग प्रशस्त गर्नेछ। यो विस्फोटले कतिपयलाई निराशा गराए पनि, यसले विज्ञान र प्रविधिको उन्नतिको महत्वलाई अझ मजबुत पार्छ।
मान्छे बसाई सर्न पल्केको र बसाई सर्दा खुशी हुने प्राणी हो। बसाई सरेरै आएकाहरुले भरिएको देश अमेरिका त्यसैको ज्वलन्त उदाहरण हो। पूर्वी नेपालको पहाडी जिल्ला ओखलढुंगा बाट तराईको सप्तरी बसाई सर्दा मेरो बुवा खुशी हुनुभयो।
सप्तरीबाट काठमाण्डौ बसाई सर्दा म खुशी भए। काठमांडू बाट अमेरिका बसाई सरेर मेरा छोराछोरी अझ खुशी छन् र भोलिको चन्द्रमा र मंगलको बसाई सराईले मेरो नाती पुस्ता अझ सुखी र खुशी हुने कल्पनामा छु म।
विज्ञानका प्राय: सफलताहरु यस्तै असफलता बेहोर्दै सफल भएका हुन्। म पनि स्टारशिप निकट भविष्यमा पूर्णरूपमा सफल हुने विश्वास लिएर एलन मस्कका अपडेट पर्खिरहनेछु।
टेक्सास, अमेरिका
Facebook Comment