राजनीतिक अस्थीरताको दोष निर्वाचन प्रणालीलाई दिइनु हुँदैन : दिनेश थपलिया
काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राजनीतिक अस्थीरताको दोष निर्वाचन प्रणालीलाई दिने प्रवृति उचित नभएको बताए।
संसदीय मामिला पत्रकार समाजले काभ्रेको धुलिखेलमा आयोजना गरेको निर्वाचन प्रणाली सुधार विषयक अन्तरक्रिया कार्यक्रममा थपलियाले दलले दुई तिहाई बहुमत ल्याउँदा पनि ३ वर्ष सरकार नटिकेको भन्दै निर्वाचन प्रणालीका कारण राजनीतिक अस्थीरता भयो भन्ने प्रवृति उचित नभएको बताएका हुन्।
अहिलेको संविधान र कानूनले कुनै पनि राजनीतिक दललाई ५० प्रतिशत बहुमत ल्याउनबाट नरोकेको उनले बताए। सरकार अस्थीर भएका कारणले प्रणाली फेनुपर्छ भन्ने तर्क उचित नभएपनि निर्वाचन प्रणालीलाई प्रभावकारी बनाउन आवश्यकता अनुसार संशोधन गर्नुपर्नेमा उनले जोड दिए।
उनले समावेशी–समानुपातिक प्रतिनिधित्वलाई कानुनले कमजोर बनाएको नभइ दलहरुले उम्मेदवार चयन गर्दा नै ध्यान दिन नसकेकाले गुनासो आउने गरेको धारणा राखे। त्यस्तै थपलियाले स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुख तथा वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै हुनुपर्नेमा जोड दिए।
Facebook Comment