लेखकबीचको चिया गफ
दोहा कतारको मिया पार्क प्रायः कतार बस्ने सबैको परिचित र रोजाईको पहिलो पार्क हो।
मिया पार्क भित्रको एउटा सानो टापु नेपालीहरुमाझ लव डाँडोको नामले प्रख्यात छ। चोसो मौसम विदाको दिन साँझपख हातमा दुध चिया लिएर त्यस मानवनिर्मित टापुबाट पर क्षितिजमा देखिने सूर्यास्त हेर्न खुब मज्जा लाग्ने भएकाले मलाई पनि मियापार्क असाध्यै मनपर्छ।
जनवरी महिनाको चिसो मौसम भएकाले होला हिजो साँझ लव डाँडा पुग्दा सबैका हात-हातमा चियाको कपहरु देखिन्थे। म पनि चियाको पारखी भएकाले हात खाली हुने कुनै कुरै थिएन। कसैले चिया पिउँ? भन्नेवित्तिकै मेरो ओठे जवाफ मुखैमा झुन्डिएको हुन्थ्यो “दुध चिया”। दुध चियालाई कतारमा करक चिया पनि भन्छन्।
हातमा दुध चियाको कप लिएर अल्लि पर वेन्चमा जाँदै थिए। ढाल्किँदै गरेको दिनले आजको उस्को नियमित प्रक्रियालाई उत्तरार्धमा हिडाउँदै गरेको जस्तो देखिन्थ्यो।
हातमा भएको चियाको कपबाट निस्केको बाफले आफ्नै लयमा विभिन्न आकृति बनाउँदै अस्ताउँदो सूर्यलाई विदा गरेजस्तो र तातो कपलाई आफ्नै स्वरूपमा फर्काउन खोजे जस्तो देखिन्थ्यो। मलाई चियाको पहिलो चुस्की लिन हतार भइरहेको थियो।
चियाको पहिलो चुस्की। आहा! जिब्रोमा दूध चियाको पहिलो स्पर्श जति मिठो कुरा के होला संसारमा! मनै फुरुङ्ग हुन्छ त्यो चियाको वासना मात्रैले पनि। दिमाग पनि जुरुक्क उठेर क्या मिठ्ठाे चिया भन्दैथियो।
आँखा पार्कको खजुरको बोटमुनि पुग्यो। त्यहाँ गफिँदै थिए सायद कोही अपरिचित। नजिकमा मान्छेहरूको उपस्थिति नभएपनि विभिन्न प्रजातिका चराचुरुंगीहरूको बाक्लै उपस्थिति थियो। उनीहरू चारो खाँदै कराउँदै थिए। रमाउँदै थिए। आफ्नै सुरमा।
सिरसिर चलिरहेको वतासले सम्मुखमा रहेका समुद्रका छालहरूसँग लुकामारी गर्दै थियो। पल्लोपट्टि वेस्ट-वेका टावरहरू स्पष्ट देखिन्थे। एयरपोर्ट नजिकै भएकोले आकाशमा विमानहरू ल्याण्डिङ र टेक-अफ गर्दै गरेको देखिन्थ्यो।
म सिधै ती बिनाहलचल स्थिर भरिएका समुद्रतिर हेर्दै वर्फिला चिसा हावासंग कावा खाँदै चियाको कप बोकेर नजिकै रहेको झट्ट हेर्दा अपरिचित लाग्ने मानिस नजिक पुगेँ। नजिकै पुगेर यसो हेरेको “सुलभ” उपन्यासका लेखक शोभाराम ओली हुनुहुँदो रहेछ।
संयोगले उहाँलाई भेटेपछि चिया अफर गरेँ। तपाईं सँग भेटेपछि चिया नपिउने मान्छे सायदै को होला र?! चिया मन नपर्नेलाई पनि चिया पिउन मनलाग्ने बनाउने तपाईंले चिया पिउँ भनेपछि नाइँ कसरी भन्नू ! शोभारामले हाँस्दै भने।
शोभारामजी साँच्चिकै यार! मलाई संसारमा सबैभन्दा मिठो वासना दूध चियाकै लाग्छ, सबैभन्दा मिठो स्वाद यसकै लाग्छ। घरीघरी त लाग्छ दूध चिया मेरो दु:खसुखको औषधि हो जस्तो लाग्छ। चियाको कपले जिन्दगीलाई माया गर्न सिकाइरहन्छ। चिया र मेरो अन्योन्याश्रित सम्बन्ध छ जस्तो।
अनि के छ , ओलीजी सन्चै हुनुहुन्छ?
-हजुर सन्चै छु हजुरलाइ कस्तो छ?
म पनि ठिक छु। अनि आज ड्युटी हैन र?
-आज छुट्टी हो सर। हिजो र आज मेरो दुई दिन छुट्टी थियो। यसो कोठामा बोर लागेर यतैतिर टहलिन निस्केको।
उहाँ गम्भीर देखिनुहुन्थ्यो। परदेशको ठाउँ सायद घरपरिवारको याद आएको थियो कि। हुन सक्छ कुनै सिर्जनाको निमित्त निस्किनुभएको थियो। आजभोलिको मौसममा पारिलो घाम ताप्नाकै लागि यहाँ आउन सक्ने कुरा पनि भयो।
उसो त हरेक छुट्टीहरूमा प्राय: जोडीहरू देखिने डाँडामा अन्य दिनहरूमा पनि चहलपहल हुन्छ नै। सबैको दुख सुखलाई समेट्न सक्ने डाँडो भएको छ, लव डाँडो। जे भए पनि मलाई भने उहाँसँग साहित्यिक कुराकानी गर्न मन लग्यो र सोधीहालेँ।
शोभाजी अचेल दिनहरू कसरी बिताउँदै हुनुहुन्छ ?
-अचेल भन्नाले पनि सँधै जसो छुट्टीको दिन भन्दा बाहेक बिहान आठ बजेतिर ड्यूटी गयो। दिनभरि कामसँग लुकामारी गर्याे साँझ नौ बजेतिर कोठामा आएर थाकेको शरीरलाई आराम दियो। घर परिवार सम्झियो। यसरी नै बित्दै छ सर।
तपाईं एउटा साहित्यिक सर्जक मान्छे। हजुरले आफ्नो उपन्यास सुलभ बजारमा ल्याएको दुईवर्ष पुग्यो हैन र?
– अझै पुगेको छैन। आउँदो चैतमा पुग्छ।
“सुलभ” पछि केही लेख्ने तयारीमा हुनुहुन्छ कि यत्तिकै बसिवियालो गरिरहनु भएको छ?
– तयारीमा भन्नाले एउटा उपन्यासको पाण्डुलिपि सकाएको छु। अब अन्य कामहरू बाँकी छ।
ए.. लौ बधाई तथा अग्रिम शुभकामान छ। पुस्तकको नाम के राख्नु भएको छ?
– धन्यवाद सर ( हाँस्दै )। हैन भर्खर पाण्डुलिपि सकिएको छ। अझै नामको बारेमा र कुन प्रकाशनबाट निकाल्ने भन्ने समेत टुङ्गो लागेको छैन।
यसरी बाह्र चौध घण्टा काम गरेर पुस्तक लेख्ने समय कसरी मिलाउनु हुन्छ?
– अघि नै भनिहालियो। बिहान आठ बजेदेखि साँझ नौ बजेसम्म त कम्पनीको काम गर्नु पर्छ। राति दश बजेदेखि एघार बाह्र बजे अनि हरेक छुट्टीका दिनहरूमा लख्ने गर्दछु। इच्छाशक्ति भयो भने समय मिलाउन सकिने रहेछ।
तपाईं त पहिले नै कृतिहरू निकालिसकेको मान्छे। नेपालमा प्रकाशन गृहहरूको अवस्था, बजार व्यवस्थापन के – कस्तो देख्नु हुन्छ?
– ( लामो श्वास फेर्दै ) खोइ कस्तो भनौँ ? मेरो आफ्नो अनुभव भन्नुपर्दा हामीले आफैँले लगानी नगरीकन पुस्तक निकाल्न गाह्रो छ। जुन प्रकाशनबाट गए पनि सुरुमा सबैले सर्जक र सिर्जनालाई न्याय दिने तरिकाले काम गर्छौं भनेर आश्वासन दिनुहुन्छ। काम गर्दै जाँदा भने अनुसार हुँदैन। न समयमा पुस्तक आउँछ न त बजारमा पुग्छ। परदेशमा बसेर कलम चलाउनेहरूलाई चुनौती छ नै।
बजारमा पुग्नु न पुग्नु त माग अनुसार हुन्छ होला नि शोभारामजी हैन र?
– माग आउनु त दोश्रो चरण भन्यो नि। पहिला सबैले आआफ्नो ठाउँमा सहजै प्राप्त गर्ने सकेर पढेपछि नै होला स्तरको हिसाबले माग आउने न भन्ने बुझाइ हो मेरो।
हजुरको नयाँ कृति कहिले सम्म पढ्न पाउनुहुन्छ पाठकहरूले ?
– जति सक्दो चाँडो गर्ने तयारी चल्दै छ। आउँदो चैत महिना सम्म बजारमा आउने आशा गरेको छु।
अकस्मात भेट हुनुभयो । तर पनि केही कुरा गर्ने मौका पाइयो। तपाईंका पाठकहरूलाई केही भन्न चाहनुहुन्छ कि?
– अहिलेको समयमा पुस्तक पढ्नेहरूको संख्या कम भएको आँकल गर्नेहरू पनि थुप्रै हुनुहुन्छ। म हजुर मार्फत सम्पूर्ण पाठकवर्गमा के अनुरोध गर्न चाहनुहुन्छ भने अध्ययनले कुनै पनि चिजमा घाटा गर्दैन। हरेक पुस्तकहरूमा कुन न कुनै ज्ञान लुकेकै हुन्छ।
आफू, आफ्ना साथीभाई अनि सन्तानहरूमा समेत पठन संस्कृतिको विकास गर्नमा सबै जनाले जिम्मेवारी भूमिका निभाइदिनहुन हार्दिक अनुरोध गर्दछु। परदेशको यो कुनामा आएर पनि आफ्ना भावना राख्ने मौका दिनुभएकोमा यहाँलाई र डिसि नेपाल परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
Facebook Comment