सैफ अली खानमाथि आक्रमण गर्ने व्यक्ति बंगलादेशी, किन गरेका थिए आक्रमण ?

काठमाडौं । अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार गरेको घटनामा मुम्बई प्रहरीले पक्राउ परेका आरोपी बंगलादेशी नागरिक हुन सक्ने बताएको छ ।
अञ्चल–९ का डिसीपी दीक्षित गेडामले पत्रकार सम्मेलनमा भने, ‘आरोपी बंगलादेशी भएको आशंका गरिएको छ र उनीसँग भारतीय कागजात छैन ।’
चोरीको नियतले घरभित्र पसेका आरोपी ३० वर्षीय मोहम्मद शरीफुल इस्लाम शाहजाद रहेको उनले बताए । यस अभियुक्तलाई आज अदालतमा पेश गरी प्रहरी हिरासत मागेर थप अनुसन्धान गरिने डीसीपीले बताए ।
उनले भने ‘आरोपीले पहिले आफ्नो नाम विजय दास बताएको थियो र बंगलादेशी मूलको आशंकामा यस मुद्दामा राहदानी ऐनसँग सम्बन्धित धाराहरू थपिएको छ। यसको अनुसन्धान जारी छ।’
बिहीबार बिहानै उनको बान्द्राको घरमा सैफ अली खानमाथि चक्कु प्रहार भएको थियो । यसपछि उनलाई लिलावती अस्पतालमा भर्ना गरिएको छ ।
प्रहरीका अनुसार अभियुक्तले सैफ अली खानको घरमा पस्नका लागि आगलागीका लागि प्रयोग हुने भवनका सिँढीहरू प्रयोग गरेका थिए।
Facebook Comment