एमालेका एकपछि अर्को ‘एक्सन’

डिसी नेपाल
७ माघ २०८१ ९:४०

काठमाडौं। नेकपा (एमाले)ले आफ्ना थप दुई नेतालाई कारबाही सिफारिश गरेको छ। एमाले जिल्ला कमिटी कैलालीले प्रदेश सदस्य कृष्णराज सुवेदी र जिल्ला सदस्य भीष्मराज सुवेदीलाई कारबाही गर्न प्रदेश कमिटीमा सिफारिश गरेको हो।

कृष्णराज प्रदेशका पूर्वसामाजिक विकास मन्त्रीसमेत हो। भीष्मराज र कृष्ण बाबुछोरा हुन्। शनिबार बसेको एमाले जिल्ला सचिवालय बैठकले सुवेदीद्वयलाई कारबाही सिफारिश गरेको एमाले कैलालीका सचिव ममताप्रसाद चौधरीले जानकारी दिए।

उनका अनुसार सुवेदीद्वयलाई पार्टीको संगठित सदस्यसमेत नहरने गरी निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिश गर्ने निर्णय गरिएको हो। सुवेदीद्वय एमालेबाटै निष्कासित नेता भीम रावलको गतिविधिमा सामेल भएकाले कारबाही गरिएको एमाले कैलालीले जनाएको छ ।

रावल कारबाहीमा परेपछि उनीहरू मातृभूमि जागरण अभियानमा सक्रिय भएका छन्। रावल धनगढी आउँदा दुवैजना स्वागतमा खटिएका थिए। एमालेले कारबाहीको औपचारिक निर्णय गरेमा आफूले रावलको अभियानलाई सहयोग गर्ने सुवेदीले बताए।

एमालेको कारबाहीमा पर्नेमा सुवेदीद्वय मात्रै होइनन्। एमालेले पछिल्लो समय नेताहरूमाथि कारबाहीको शृंखला नै चलाएको छ। पार्टी हितविपरीत काम गरेको भन्दै एमालेले पछिलो एक महिनामा ६ नेतालाई कारबाही गरेको हो ।

जसमा पूर्वउपाध्यक्ष डा. भीम रावलदेखि स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनासम्म छन्। यसैगरी, एमालेले कोशी प्रदेश सभाका पूर्वसांसद एवं उदयपुरका नेता विमल कार्कीलाई पनि कारबाही गरेको थियो ।

पुस १० गते बसेको एमाले सचिवालय बैठकले रावल, पाण्डे र तिम्सिनालाई कारबाही गरेको थियो। रावललाई पार्टी सदस्यताबाटै हटाएको एमालेले पाण्डे र तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गरेको हो।

यसअघि एमालेले कोशी प्रदेश सभाका पूर्वसांसद कार्कीलाई फेसबुकमा पार्टीविरुद्ध लेखेको भन्दै ६ महिनाका लागि सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो । पुस २७ गते बसेको कोशी प्रदेश कमिटीको बैठकले कार्कीलाई ६ महिनाका लागि निलम्बन गरेको हो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय बनाउन मीनबहादुर गुरुङसँग जग्गा दानमा लिएपछि कार्कीले खरो आलोचना गर्दै फेसबुकमा स्ट्याटस लेखेका थिए। पाण्डे र तिमिल्सिना माथिको कारबाहीको कारण पनि जग्गा दान प्रकरण नै थियो ।

एमालेले दानमा जग्गा लिन नहुने धारणा राखेको भन्दै सचिवालयले पाण्डे र तिमिल्सिनालाई कारबाही गरेको थियो। गुरुङले पार्टीका लागि कीर्तिपुरमा १० रोपनीभन्दा बढी जग्गामा अत्याधुनिक भवन बनाइदिने भन्दै भवन शिलान्यास गरेपछि उनीहरूले विरोध गरेका थिए।

फरक मत राखेकै आधारमा कारबाही हुन थालेपछि एमालेका कतिपय नेताहरू सशंकित बनेका छन् । पार्टीमा बोल्नसमेत नपाउने अवस्था आएको भन्दै उनीहरूले चिन्ता प्रकट गरेका छन् ।

तर, एमाले अध्यक्ष ओली निकटका नेताहरू भने आफूलाई लागेको कुरा बोल्न पार्टी कमिटीहरूमा छुट भए पनि जथाभावी बोल्नुलाई अनुशासनभित्र बसेको मान्न नसकिने बताउँछन् । पार्टी अनुशासन नमान्ने जो कसैलाई पनि कारबाही हुने उनीहरूको चेतावनी छ। पार्टीभित्रको अनुशासन सबैले मान्नुपर्ने उनीहरूको तर्क छ ।

कम्युनिष्ट नेता वामदेव गौतम एमालेमै फर्किने हुनुभएको छ । नेकपा एकीकृत समाजवादीमा समाहित हुने तयारी गरेका गौतमले अन्ततः एमालेमा फर्कने तयारी गरेका हुन्। सिंगो अभियान एमालेमा समाहित हुन लागेको गौतम नेतृत्वको नेकपा एकता अभियानका महासचिव डिबी कार्कीले बताए।

एमाले अध्यक्ष ओली र नेता गौतमबीच भएको टेलिफोन कुराकानीमा पार्टी एकीकरणबारे सहमति भएको उनले बताए। एक/दुई दिनभित्रै औपचारिक रूपमा एकता हुने उनले बताए। एमालेको नीति, सिद्धान्त र विचार मानेर अघि बढ्ने सहमति भएको उनले बताए।

एमालेमा गौतमले वरिष्ठ नेता वा संरक्षकमध्ये एक पद पाउने तय भएको छ । अभियानका अरू नेता कार्यकर्तालाई सल्लाह गरेर व्यवस्थापन गरिनेछ। गौतमले केही दिनअघि एकीकृत समाजवादीमा जानेगरी संवाद गर्नुभएको थियो। तर, एकीकृत समाजवादीमा जाने च्याप्टर क्लोज भएपछि एमालेमा जाने तयारी गरेको गौतमले बताए।

गौतमले २०७८ सालमा एमाले परित्याग गरी नेकपा एकता राष्ट्रिय अभियान गठन गरेका थिए। एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बन्दा गौतम प्रभावशाली थिए। अध्यक्ष ओली र ‘प्रचण्ड’बीच अन्तरविरोध चुलिँदा नेता गौतम प्रचण्डतिर लागेका थिए। तर, नेकपा विभाजनका बेला प्रचण्डलाई साथ नदिनुभएका गौतमले एमाले र माओवादी केन्द्र अलग अलग अस्तित्वमा फर्कंदा एमाले उपाध्यक्षबाट राजीनामा दिएर एकता राष्ट्रिय अभियानको घोषणा गरेका थिए।

गौतमले सिंगै अभियान एमालेमा मिसिने बताए पनि केही नेताहरूले भने अलग्गिएको घोषणा गरेका छन्। उपाध्यक्ष महेन्द्र अर्यालसहितले आइतबार पत्रकार सम्मेलन गरेर गौतम समूहबाट अलगिएको घोषणा गरेका हुन्। अर्याल एकता अभियानका लुम्बिनी प्रदेश इञ्चार्ज हो।

अर्यालसँगै कर्णाली प्रदेश इञ्चार्ज डिल्लीराज भट्टराई, कोशी प्रदेश इञ्चार्ज इन्द्र सुब्बा र मधेश प्रदेश इञ्चार्ज हरि काफ्लेले पनि गौतमलाई छाडेको घोषणा गरेका छन्। गौतम एमालेमा जाने भएपछि उनीहरूले अभियानबाट अलग भएको घोषणा गरेका हुन्।

उनीहरूले एकता र समायोजनको लागि विचार मिल्ने नेकपा (माओवादी केन्द्र)लगायत विभिन्न वामपन्थी दलसँग वार्ता गर्नेगरी चार सदस्य वार्ता समितिसमेत गठन गरेका छन् । वार्ता समितिको संयोजक अर्याल रहनुभएको छ भने काफ्ले, सुब्बा र भट्टराई समितिमा सदस्य छन्। एमालेभन्दा माओवादी केन्द्र नै अग्रगामी शक्ति रहेको उनीहरूको निष्कर्ष छ ।

हिमालय टाइम्स दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *