चार जना नेताको वरिपरी घुमिरहेको नेपालको लोकतन्त्र
राणा शासन कालमा नेपालमा कुनै पनि राजनीतिक वातावरण थिएन। राजनीतिको नाममा १०४ वर्ष लामो राणा शासनको जर्जर राज्य व्यवस्था थियो। त्यो भन्दा अगाडि पृथ्वीनारायण शाहको उदय, अझ अगाडि मल्ल राजा, लिच्छवी शासन र त्यो भन्दा पनि अगाडि गोपाल वंशले नेपालमा शासन गरेको इतिहास छ।
पृथ्वीनारायण शाहको शासन भन्दा अघि नेपालमा मल्ल राजाहरुले बिभिन्न स–साना भुमि ओगटी भुरे टाकुरे राज्यहरु बसाई शासन गरेका थिए। तिनै पृथ्वीनारायण शाह हुन् जसले नेपाललाई एकीकरण गरी अधिराज्यमा परिवर्तन गरेर एकल नेपालको राजनैतिक शासन गरेका थिए।
उनको सारा जीवन साना राज्यहरु एकीकरण गर्ने काममा नै बित्न गएकोले राजनैतिक व्यवस्था त्यति व्यवस्थित हुन सकेको थिएन। छोटो उमेरमै उनको देहान्त पनि भयो। भनिन्छ उनी उपनिवेशवादको कट्टर बिरोधी थिए।
त्यसपछि बहादुर शाह जसले फेरि पृथ्वीनारायण शाहले भन्दा बढी भुमि हातपार्ने काममा लागे। त्यसपछि फेरि अमरसिंह थापा र भीमसेन थापा जस्ता बीर सपुतहरुको उदय भयो। जसले देशलाई जोगाउन ठूलो प्रयत्न गरे। पृथ्वी नारायण शाहपछि आधुनिक नेपालमा निक्कै राजाहरु बने।
तर खुल्ला राजनैतिक ब्यबस्था नल्याइ सबै राजा रानीहरु आफू खुसी सुरक्षित रही बस्नमात्र तल्लिन रहे। समयको चक्रमा भयंकर ठूलो भारदारहरुको निस्रंस सामुहिक हत्यापछि नाटकीय रुपमा एक बीर, सुरो, चलाख र राजनैतिक रणनीतिमा कुसाग्र बुद्धि भएका सिपाही जंगबहादुर राणको उदय भयो र यो राणाको शासन नेपालमा बि.स. २००७ सालसम्म निरन्तर चल्यो। राणा शासनको अन्तिम प्रधानमन्त्री मोहन समशेर थिए। उनैको राणा शासनकालमा २००७ सालमा राणा शासनको अन्त्य भइ नेपालमा प्रजातन्त्रको उदय भयो।
२००७ सालको प्रजातन्त्र पश्चात नेपालमा जनताका प्रथम छोरा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भए। तर भारतको प्रत्यक्ष निगरानीमा देशको शासन चलेकोले भारतले नेपाललाई जहिलेपनि राजनीति र अर्थनीति आफ्नो मुट्ठीमा राखी देश चलाउने काम गर्दै पटक पटक नयाँ नयाँ प्रधानमन्त्रीको चयन हुन थाल्यो । आखीर २०१५ सालमा फेरि राजा महेन्द्र कै पालामा चुनाबी सरकारको शासन हुन गयो।
यो आम चुनाबको सरकारमा जननायक बिपीकोइराला प्रधानमन्त्री हुन पुगे। तर नेताहरु भने भारतकै बुइ चढी शासन चलाउनमा व्यस्त रहे। देसमा राजनैतिक बासना त आयो तर भारत कै अधिनमा रही अप्रत्यक्ष रुपमा शासन पद्धतिलाई नेपालको माटो सुहाउँदो नबनाई उही भारतमुखी शासन पद्धतिको बोलवाला हुँदै गएको र भारतले नेपालको समग्र राजनैतिक पद्धति आफ्नो पकडमा राखेको थियाे।
भ्रष्टाचार बढ्दै गएको, देशमा राम्रो सुशासनको राम्रो गुन्जायिस नरहेकोले देश अर्काको पराधीन हुनबाट बचाउन तथा देशमा द्रुततर बिकासको सुरु गर्न हठात् २०१७ सालमा यो भारतमुखी प्रजातान्त्रिक व्यवस्थालाई हटाइ सम्पूर्ण अधिकार आफूमा लिइ त्यस ताकाको देशलाई सुहाउने पञ्चायती व्यवस्थाको सुत्रपात गरी २०१९ सालमा सोही अनुसारको संविधानको निर्माणपनि गरियो।
र, राजा महेन्द्रको अन्तिम शासन कालसम्म यही पञ्चायती निर्दलीय व्यवस्था कायम रह्यो। यो २०१७ साल देखि २०२८ सालसम्म राजा महेन्द्रले नेपाललाई विश्वमा चिनाउने काम गरे। संयुक्त राष्ट्रसंघको सदस्यता लिने काम भयो। असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त लागू गरियो। संसारका ठुला राष्ट्राध्यक्षहरुको नेपाल भ्रमण भयो। मैत्री सम्बन्ध कायम राखियो ।
ठूलो सहयोग र अनुदानको ओइरो लाग्यो। देशमा उद्योग कल कारखानाहरु खोलिए। लामो दूरीको पूर्व-पश्चिम राजमार्गको निर्माण गरियो। चीनसँग जोड्ने कोदारी राजमार्गको निर्माण भयो।
देशभित्र त्रिभुवन विश्वविद्यालयको स्थापना भयो। स्कूल कलेज खोलियो। बुद्धिजिबी भेला हुने प्रज्ञा प्रतिष्ठान खोलियो। राष्ट्रिय सभा गर्ने राष्ट्रिय सभा गृह स्थापना गरियो। गाउँको बिकास गर्न फरक अभियान जारी भयो।
देश भित्र अनेकौ उद्योग कलकारखानाहरु आफैंले र बिदेसीहरुको सहयोग र अनुदानमा स्थापना भयो। त्रिपुरेश्वरदेखि सूर्य बिनायकसम्म ट्रली बसको निर्माण भयो। ब्यापारको लागि धान चामल निर्यात कम्पनीको स्थापना भयो।
नेपाल राष्ट्र बैंकको स्थापना र नेपाली र भारतीय मुद्राको १०० बराबर १६०-रुपैयाँको मूल्ल्यांकन गरी पारदर्शी गरियो र अन्तर्राष्ट्रिय जगतमा नेपालको नाम प्रशस्त र इज्जत कमाउने काम भयो। कहिले भारत-चीन र पश्चिमा देशसँग बैरभाब नराखी मित्रताको सुमधुर सम्बन्ध कायम गरियो।
यसरी यस्तो छोटो समयमा राजा महेन्द्रले आफ्नो दूरदर्शिता देखाई नेपाल र नेपालको राजनीतिलाई सवल नेतृत्व प्रदान गर्ने काम गरे। राजा महेन्द्रको देहान्तपछि नेपालको राजनीतिमा राजा वीरेन्द्रले ब्यबस्थामा आँच नआओस भन्ने अभिप्रायले २०३५ सालमा जनमत घोषणा गरी सुधारिएको पञ्चायती ब्यबस्था लागू गरे।
अझ राजा वीरेन्द्रले देशलाई शान्ति क्षेत्रको घोषणा गरी संसार समक्ष त्यसको समर्थन मागे। तर भारतमात्रै त्यस्तो देश भयो जसले यसलाई सहजै स्वीकार गर्न मन्जुर गरेन। र यो राजा वीरेन्द्रले प्रस्ताव गरेको शान्ति क्षेत्र पारित हुन सकेन।
ठूलो व्यक्तित्व भएका बुद्धिमान राजाको देश बिदेश भ्रमण भयो र राजा महेन्द्रले जस्तै ख्याती कमाउने काम भयो। जनता र नेताहरु दुवै प्रजातन्त्र प्रेमी भएकाले फेरि यो पूरा गर्न राजाले २०४६ सालमा नेपाली कांग्रेस कै सन्त नेता कृष्णप्रसाद भट्टराईको नेतृत्पमा नयाँ संबिधान जारी गरी राजा संबिधान अन्तर्गत रही संबैधानिक राजतन्त्रको थालनी भयो।
यसरी बन्दै गएको देशको व्यवस्थालाई चर्को बिरोध गरी नेपालको राजनीतिमा फेरि आन्दोलन सुरु भयो र यो संबैधानिक राजतन्त्रीय व्यवस्थालाई फाली देशमा गणतन्त्र र लोकतन्त्र र हिन्दु धर्मको सट्टा धर्म निरपेक्ष ल्याउने कुरामा सबै नेताहरु लागीपरे। यसको लागि माओबादीको जनयुद्ध सुरु भयो।
भएको व्यवस्था विरुद्ध निरन्तर प्रहार हुन थाल्यो। डरत्रास सृजना गर्दै हत्या र हिंसाको राजनीति गर्दै मुलुक तहस नहस बन्न पुग्यो। यसै क्रममा २०५९ सालमा आएर राजा वीरेन्द्रको समुल बंस नास हुने गरी राजदरबार हत्याकाण्ड भयो। राजा वीरेन्द्रको वंशनाश भएपछि उनका भाइ ज्ञानेन्द्र शाहलाई राजा बनाइयो र उनलाई पनि अनेक बहाना बनाइ सत्ताच्युत गरियो।
०६२-०६३ मा आएर राजतन्त्र अन्त्य गरी लोकतन्त्र र गणतन्त्रको सरकार खडागरी सबै नेता मिलेर शासन गर्न थाले। यसमा प्रचण्ड, बाबुराम र फेरि माधव नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा र केपी ओलीनै पालै पालो प्रधानमन्त्री बन्दै पदीय स्वाद र तिर्खा मेटाउने काम आज पर्यन्त जारी छ।
१२ बुँदे सहमतिमा निर्माण भएको संबिधानले देशको राजनीतिलाई समुल सुधार गर्न नसकी फेरि नेपालको राजनीतिमा भयंकर कचिंगल सुरु भयो र चारैतिरबाट यसको आलोचना सुरुभयो।
सबै दलको सहमतिमा निरंकुश राजतन्त्र फाल्ने मात्र भनिएकोमा बिदेशी शक्तिको आडमा र आफूले शासनमा हालीमुहाली गर्ने उद्देश्यले राजालाई नै हटाइ २४० बर्षको राजतन्त्रलाई हटाउने काम सम्पूर्ण नेताहरुबाट हुन गयो।
राजा शालीन स्वभावका भएकाले देशको राजनीतिमा सुधार ल्याउन राजाले आफ्नो श्रीपेच जनतालाई नासोको रुपमा सुम्पिइ आफू सत्ताबाट बहिर्गमन भए। यो राजाको ठूलो साहस र जनताप्रतिको ठूलो भरोसा थियो। तर लोकतन्त्र र गणतन्त्रले देश बन्ला भन्ने सबैको ठूलो आशा थियो।
तर नयाँ आएका नेताहरुले जनताहरुलाई लोकतन्त्र र गणतन्त्रको ललीपप देखाइ आफूले मनपरी शासन गर्न थाले। खाने पिउने कुरामा सबै एक भई देशलाई चुस्न थाले र आफू र आफ्नो पार्टी र कार्यकर्ताहरुलाई अकुत सम्पत्ति कमाउन पट्टि लागे। देशका सबै उद्योग कलकारखाना बेचिए।
सयौं घोटालाका काण्डहरु गर्दै गए। देश भित्र बसेका सारा युबाहरुलाई बिदेसमा पठाई रेमिट्यान्स भित्र्याइ आफू भने आलेशान महल निर्माण गरी करोडौं करोड पर्ने शानदार मोटर गाडीमा चढी मोज मज्जा गर्न तिर लागे। देसले धमाधम खरबौंको रिण बोक्न थाल्यो।
निर्यात ५%मा झरी आयात भने ९५ %ले बढ्न गयो। अर्थतन्त्रमा ब्यापक तरलताले ठाउँ लियो। महँगी बढ्दै गयो। राजनैतिक खिचातानी बढ्दै गयो। गरीब जनताले छाक कटाई सहकारीमा जम्मा गरेको एकै चोटी बिस्तारै ८७ अरब रुपैयाँ लुट्ने काम भयो। दण्डहीनता हात्ती जत्रो भएर आयो र जताततै अस्थिर्ताले प्रशय पायो।
लोकतन्त्र र गणतन्त्र आएपछि देशको ठिक्क मिलेको अंचल र जिल्लालाई तोड फोड गरी ७ भागमा विभाजन गरियो। समष्टिमा भन्ने हो भने नेपालको राजनीति र अर्थतन्त्रलाई तहस नहस नै बनाए।
आज को कांग्रेस, को एमाले र को माओबादी सबैले आ आफ्नो सिद्धान्त बेची मनपरी ढंगले देश चलाई रहेका छन्। यसमा कसैको दोश छैन। यदि दोष छ भने बर्तावान नेताहरुकै दोष रहेको देखिन्छ। देश बनाउने नेताहरुले हो, बाटो देखाउने नेता नै हुन्।
तर त्यतापट्टी नलागी आफूमात्र बन्ने र सत्तामा टिकी रहने र हाली मुहाली जमाई रहने प्रवृत्ति नेताहरुमा रहेकोले आज लोकतन्त्र र गणतन्त्र आएको ३० बर्ष बिती सक्दापनि देशमा केही विकास भएको देखिँदैन।
बिकास धमाधम ओरालो लागीरहेको छ भने राष्ट्रले ऋण धमाधम बोकीरहेको छ। परराष्ट्रनीति धमाधम बिग्रिइ रहेको छ। देशका फटाहा घुस्याहाहरु राष्ट्रको ठूलठुलो पदमा बसी रहेकाछन् र राजनीतिमा आआफ्नो तिक्तता पोखिरहेका छन्। यही हो लोकतन्त्र र गणतन्त्रले ल्याएको परिवर्तन, सोच, बिचार र मानसिकता जहाँ देश बिकासको कुनै गुजाइस छैन देखिँदैन।
अहिलेसम्म नेताहरुले देशमा परिवर्तन गरे र त्यसको लाभ पनि उनीहरुलेनै लिए। अब जनता जाग्ने बेला भएको छ। नेताको मनोमानी अन्त्य गर्न सक्ने शक्ति जनतामा निहीत छ। जनता जागरुक भएका देश आज कहाँबाट कहाँ पुगिसके।
विकास र चेतनाको हिसावले हामी धेरै पछाडि छौं। त्यसैले अब हाम्रोलाई होइन, राम्रोलाई चयन गरौं।। आफ्नो भाग्य र भविष्यको फैसला आफैं निर्माण गरौं, होइन भने हामीले पछुचाउनुको विकल्प रहँदैन।
Facebook Comment