सार्वजनिक ऋण व्यवस्थापन कार्यालय: साढे १५ अर्बको ट्रेजरी बिल बोलकबोल गर्दै

डिसी नेपाल
७ माघ २०८१ ११:४६

काठमाडौं। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार ट्रेजरी बिलमा बोलकबोल गर्ने भएको छ। कार्यालयले १५ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलमा बोलकबोल गर्ने भएको हो।

जसमध्ये १० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको र ५ अर्बको रुपैयाँ बराबरको नयाँ (फ्रेस) ट्रेजरी बिल जारी गर्न लागेको कार्यालयले जनाएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९१ दिन र २८ दिन को लागि ट्रेजरी बिलमा बोलकबोल गर्दै छ।

कार्यालयले ९१ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नयाँ जारी गर्न लागेको हो। यो ट्रेजरी २०८२ वैशाख ९ गते परिपक्व हुनेछ। यस्तै, ९१ दिन अवधिकै १० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो पनि २०८२ वैशाख ९ गते परिपक्व हुनेछ।

बोलकबोलमा सोमबार विहान १० बजेदेखि दिउँसो २ बजेसम्म सहभागी हुन सकिनेछ। सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

यसअघि माघ २ मा बोलकबोल भएको २८ दिन अवधिको ५ अर्बको ट्रेजरी बिलको खरिदका लागि १५ अर्ब १७ करोड ४५ लाख बराबरको बोल परेको थियो। जसको औसत डिस्काउन्ट रेट २.७९ प्रतिशत कायम भएको थियो। अहिले सबै प्रकारका ट्रेजरी बिलको ब्याजदर ३ प्रतिशत भन्दा तल नै रहेको छ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ। भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ।

व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन्। बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *