कर्णाली प्रदेशसभा: बजेट कार्यान्वयन सरकारको प्राथमिकतामा

डिसी नेपाल
७ माघ २०८१ २२:५२

कर्णाली। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले बजेट कार्यान्वयन सरकारको प्राथमिकता रहेको बताएका छन्।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशनको आज बसेको पहिलो बैठकलाई मुख्यमन्त्री कँडेलले सम्बोधन गर्दै चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनलाई प्राथमिकतामा राखेर सरकार अगाडि बढेको बताएका हुन्। प्रदेश सरकारले गत साउन ९ गतेदेखि बजेट कार्यान्वयनमा जोड दिएको बताउँदै उहाँले डोल्पाबाहेक सबै जिल्लाका कार्यालय प्रमुख, जनप्रतिनिधि तथा राजनीतिक दलहरुसँग बसेर यसको कार्यान्वयनका विषयमा छलफल गरेर अगाडि बढेको जनाए।

‘सबै प्रदेशसभा सदस्यहरुले सदनबाट पारित भएको प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेट र योजनाका बारेमा जनतासामू पुगेर यहाँ उपस्थित हुनुभएको छ’, उनले भने, ‘सबैको सामूहिक प्रयासबाट बजेट तर्जुमा, कार्यान्वयन र प्रभाकारिता ल्याउन सकिन्छ।’ सरकार र जनताबीचको सम्बन्धलाई प्रगाढ र आफ्नो भूमिकालाई जनउत्तरदायी बनाउनतर्फ सरकार केन्द्रित भएको उनको भनाइ छ।

प्रदेश सरकारले चालु आवको पुस महिनासम्म चालुतर्फ २४ दशमलव ८६ र पुँजीगत ८ दशमलव ९ प्रतिशत गरी कूल जम्मा १५ दशमलव १४ प्रतिशत खर्च गरेको जानकारी दिँदै मुख्यमन्त्री कँडेलले विगतभन्दा खर्च प्रगति बढी भएपनि बजेटको खर्च अवस्था सोचनीय रहेकाले सरकारले गम्भीरताका साथ लिएको जनाए।

उनका अनुसार प्रदेश सरकारले यही अवधिमा गत आवमा अनुमान गरेको आन्तरिक आम्दानी रु १४ करोड (३३ दशमलव ९१ प्रतिशत) हुँदा यसपट रु २० करोड (३८ दशमलव ७९ प्रतिशत) आम्दानी भएको छ। आर्थिक मामिला मन्त्रालयमा राजस्व शाखा खोलेर स्थानीय तह, जिल्ला मालपोत कार्यालय तथा सरोकारवालाहरुसँग सिधासिधा पहलकदमी अगाडि बढाएपछि लक्ष्य भन्दा बढि भएको उनको भनाइ थियो।

विकास परिषद्को बैठकमार्फत दोस्रो पञ्चवर्षीय योजना स्वीकृत भएको छ। बैंक खाता छोरीको योजनालाई नीति तथा कार्यक्रममा ल्याइएको र कार्यान्वयनको पाटोमा अलमल भएकोले छलफलमै रहेको, भूकम्प प्रभावित जाजरकोट, सल्यान र रुकुमपश्चिको पुनःनिर्माणका लागि रु.५० करोड छुट्याइएको र रु ३० लाखभन्दा माथिको बजेट टेण्डर प्रक्रियामार्फत कार्यान्वयनमा गएको र दशौँ राष्टिय खेलकुद चैतको २३ देखि ३० गतेसम्म सञ्चालन गर्ने आवश्यक तयारी भइरहेको उनले जनाए।

बैठकमा नेपाली कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाही, नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका नेता राजकुमार शर्मा, नेकपा (एकीकृत समाजवादी) र राप्रपाका प्रदेशसभा सदस्यद्वय कल्याणी खड्का र सन्तोषी शाहीले बजेट तथा कार्यक्रम कार्यान्वयनमा अपेक्षित प्रगति हुन नसकेको टिप्पणी गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *