बामदेव गौतम एमालेमा फर्किने तय
काठमाडौं। राष्ट्रिय सभा सदस्य एवं नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश गर्ने तय भएकाे छ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र गौतमका बीचमा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपश्चात गौतम एमालेमा प्रवेश गर्न तयार भएका हुन्।
गौतम एमाले प्रवेश गरे पनि अभियानमा आबद्ध केही नेता नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गर्ने भएका छन्। ती नेताले एमालेमा प्रवेश नगरी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) वा माओवादीमा प्रवेश गर्नुपर्ने अडान लिएको स्वयं गौतमले जनाएका छन्।
यसअघि गौतमले एमाले प्रवेश गर्न खोजेका थिए। तर, ओलीले उनलाई एमाले भित्र्याउन चासो दिएका थिएनन्। जब गौतमले एकीकृत समाजवादी प्रवेशका लागि माधवकुमार नेपालसँग छलफल थाले, त्यसपछि ओलीले पुनः गौतमलाई एमालेमै भित्र्याउने चाहना व्यक्त गरे।
सोहीअनुसार एमालेका नेताहरूले गौतमसँग अनौपचारिक छलफल गर्दै ओलीसँगै भेट्टाउने र एमाले भित्र्याउनेगरी छलफल चलाए।
वामदेवलाई दिने जिम्मेवारीबारे निर्णय गर्न एमालेले आज सचिवालय बैठक डाकेको छ। दिउँसो चार बजे बस्ने बैठकले वामदेवको जिम्मेवारी टुंग्याउने तयारी छ।
एमालेको २१ देखि २३ पुसमा सम्पन्न केन्द्रीय कमिटी बैठकले पार्टी विभाजनलगायत कारणले पार्टीबाहिर रहेका नेता कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेपछि त्यसैको निहुँ बनाएर गौतम तत्काल एकीकृत समाजवादीमा प्रवेश नगर्ने निष्कर्षमा पुगेका थिए।
एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर गठन भएको तत्कालीन नेकपा विभाजन भएपछि गौतम कुनै दलमा नलागी स्वतन्त्र बसेका थिए। पछि उनले अभियान गठन गरी पुनः नेकपा ब्युँताउन खोजेका थिए। तर, त्यो प्रयास असफल भएपछि उनले कहिले एमाले त कहिले एकीकृत समाजवादी प्रवेश गर्ने चाहना व्यक्त गर्दै आएका थिए।
Facebook Comment