भारतीय पुरुषका सन्तानलाई नागरिकता दिन कांग्रेस नेताहरूको दबाब, जनप्रतिनिधिमाथि सांघातिक आक्रमण

डिसी नेपाल
८ माघ २०८१ १३:५४

काठमाडौं। पोखरा महानगरपालिका ३२ मा नागरिकता लिने उमेर (१६ वर्ष) पुगेका दुई दिदीबहिनी छन्। उनीहरू नेपाली नागरिकता लिन भौंतारिरहेका छन्। तर, पाउन सकेका छैनन्। कारण उनकी आमा नेपाली र बुबा भारतीय नागरिक हुन्। आमाको थर थापा र बुबाको थर राय हो।

नेपालमै नेपाली आमाबाटै जन्मिए पनि उनीहरूको शैक्षिक प्रमाण पत्रदेखि सबै कागजातमा बुबाको परिचय उल्लेख गरिएको छ। कानुनले नाता प्रमाणिकरण माग्छ। आमाको नामबाट नागरिकता लिन उनीहरूसँग प्रमाण जुटिरहेको छैन।

प्रमाण अभावले उनीहरू बस्ने वडाले सिफारिस गर्दा पनि जिल्ला प्रशासन कार्यालयले नागरिकता दिन इन्कार गरिदिएको छ। जिल्ला प्रशासनले नागरिकता दिन इन्कार गरेपछि नेपाली कांग्रेस निकट नेपाल तरुणदलका केन्द्रीय सदस्य मदन बस्नेतसहित १० जनाको समूहले पोखरा महानगरपालिक-३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीलाई थप कागज बनाउन दबाब दिइरहेका छन्।

आमाको नामबाट नेपाली नागरिकता लिन आफ्नै सन्तानलाई नागरिकता दिलाउन जाँदा कानुनले बाबुको पहिचान माग गर्छ। बाबु सँगै छन् वा नभए पनि आफैँ नागरिकतासहित उपस्थित भइदिए आमाकै नामबाट सजिलै नागरिकता पाइन्छ। बाबु यसरी उपस्थित भइदिएनन् भने आमाले आफ्नो सन्तानको बाबु फलानो हो भनेर सिडिओलाई देखाउनुपर्छ।

यसरी पहिचान खुलाएपछि सिडिओले ती बाबु र उनको परिवारलाई सनाखतनिम्ति बोलाउँछ। बोलाउँदा नआए सिडिओले जाँचबुझ गर्न थाल्छ। जाँचबुझ गर्दा परिवारको सदस्य भएको प्रमाणित भएपछि मात्र नागरिकता दिइन्छ।

तर, आमालाई सन्तानको बाबु को हो भन्ने नै थाहा छैन भने सिडिओसामु गएर बाबु पहिचान हुन नसकेको स्वघोषणा गर्नुपर्छ। तर, ती बालिकाको हकमा उनीहरूको डकुमेन्टमा बुबाको नाम छ। उनी जिउँदै छन्। उनी नेपाली नागरिक पनि होइनन्। यस्तो अवस्थामा प्रमाण अभावले नागरिकता दिन नसकिने सीडीयो कार्यालयले जनाउँदै आएको छ।

जनप्रतिनिधिले नै सुरक्षा पाउने अवस्था नदेखिएको भन्दै न्यायका लागि लड्ने जनप्रतिनिधिमाथि नै सामाजिक सञ्जालमा गाली बेइजती गर्ने, धम्की दिने र मानसिक दबाव दिने काम भएको छ। आफूले कानुन बमोजिक काम गर्दा पार्टीबाट सहयोग हुनुपर्नेमा उल्टै पार्टीका एकथरी नेताले आफूलाई दुःख दिने काम गरेको उनको गुनासो छ।

ती किशोरीकी आमाको नागरिकतामा पोखरा-३३ मा बसोबास गर्ने उल्लेख छ। हाल उनीहरू पोखरा-३२ मा बसोबास गर्दै आएको वडाध्यक्ष कार्कीले जानकारी दिए। ‘किशोरीहरूको डकुमेन्टमा पिताको थर राय भएको तीन विवरण खुलेको छ। उनकी आमाको माइती रुपा गाउँमालिका हो। बुबाले अंगीकृत नागरिकता पनि लिएको छैनन्,’ उनले भने।

व्यास नगरपालिका-८ मा छोरीको खेमा राय नाम परिवर्तित जन्मदर्ता भएको छ। उनीहरू बसाइसराइ गरेर आएका छैनन्। यता बसोबास गर्दै आएको आधारमा नेताहरूको ठूलो दबाबमा आमाको नामबाट नागरिकता दिन भनेर आफूहरूले सिफारिस गर्दा पनि प्रमाण नपुगेको भन्दै प्रशासनले नै नागरिकता दिन नमानेको वडाध्यक्ष कार्कीले बताए।

‘मैले कानुनले भ्याउने र व्यवहारिकताले दिन गर्न मिल्ने सम्मको सहयोग गरेको हुँ। तर, नेपाली कांग्रेसका नेताहरूले कानुन मिचेर कागज बनाउन दबाब दिइरहनु भएको छ। भोलि उजुरी परेमा कानुनले मलाई समात्ने हो। म कांग्रेसबाटै निर्वाचित वडाध्यक्ष हुँ। तर, हाल सबै जनताको जनप्रतिनिधि हुँ। हाम्रो अफिस कांग्रेसको पार्टी कार्यालय होइन। कानुन मिचेर मैले थप सिफारिस दिन सक्दैन,’ डिसी नेपालसँग उनले भने।

आफूलाई थेगी नसक्नुको दबाब आइरहेको र केन्द्रीय नेताहरूबाट नै फोन गर्न लगाउनेसम्मको हर्कत गरिएको कार्कीको गुनासो छ। आफूले यस विषयमा प्रेस विज्ञप्ति जारी गरेर नै प्रस्ट पारिसकेको उनको भनाइ छ।

‘यस्तो अवस्थामा आमाको नामबाट नागरिकता दिन बुबाको मृत्युदर्ता चाहियो वा बुबाको नेपाली नागरिकताको फोटोकपी चाहियो। यो दुवै जुटान सकिने अवस्था छैन। व्यवहारिक रुपमा हामीले हाम्रै छोरी चेली हुन् भनेर सिफारिस गरेर पठाएका हौं। तर, सीडीओ कार्यालयले मानेन,’ उनले भने। पार्टीका नेताहरूले गुन्डागर्दी गर्ने, कालोमोसो दल्दै सांघातिक आक्रमण गरेकाे उनले बताए।

सरकारी वकिललाई वडामै बोलाएर छलफल गर्दा पनि समस्या सुल्झिने अवस्था नदेखिएको उनको गुनासो छ। ‘सीडीयो कार्यालयले राय लेखिएको ठाउँमा थापा लेखेर सिफारिस भएको अवस्थामा नागरिकता दिन सकिने र थापा लेख्दा किशोरीहरूसँग भएको शैक्षिक प्रमाण पत्रदेखि अन्य प्रमाणले नभेटाउने अवस्था छ। यस्तोमा भोली अख्तियारलगायत सरकारी निकायले हामीलाई समात्यो भने ठूलो संकट पैदा हुन्छ,’ उनले भने।

उनले जस्तो सुकै दबाबमा कानुन विपरित काम गर्न नसकिने बताएका छन्। नागरिकता सीडीओ कार्यालयले नदिने र वडामा आफूहरूमाथि आक्रमण भएको उनको गुनासो छ।

जनप्रतिनिधिले नै सुरक्षा पाउने अवस्था नदेखिएको भन्दै न्यायका लागि लड्ने जनप्रतिनिधिमाथि नै सामाजिक सञ्जालमा गाली बेइजती गर्ने, धम्की दिने र मानसिक दबाव दिने काम भएको भन्दै वडा अध्यक्ष कार्कीले गुनासो गरेका छन्। आफूले कानुन बमोजिक काम गर्दा पार्टीबाट सहयोग हुनुपर्नेमा उल्टै पार्टीका एकथरी नेताले आफूलाई दुःख दिने काम गरेको उनको गुनासो छ।

आफूहरूमाथि कलोमोसो दलिसकेपछि प्रहरीकोमा किटानी जाहेरी दिन जाँदा सुरूमा लिन नमानेकाे र उजुरी दर्ता गर्न दबाव दिनु परेकाे उनले बताए। प्रहरीले सुरूमा उजुरी दर्ता गर्न नमानेपछि उनीहरूले पत्रकार सम्मेलनमार्फत दवाव दिएका थिए। अहिले जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता गरेपनि छानविनलाइ अगाडि नबढाएकाे उनकाे गुनासाे।

आफूहरूले किटानी जाहेरी फिर्ता लिन नमानेपछि उजुरी दर्ता भएको र कोलोमोसो दल्नेहरूमाथि कानुनी कारबाही हुनेमा विश्वस्त रहेको कार्कीले बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *