पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई

डिसी नेपाल
८ माघ २०८१ २२:३६

म्याग्दी। रू एक लाख ५१ हजार पुरस्कार राशीको पालिकास्तरीय पुरूष भलिबलको उपाधि म्याग्दीको बेनी नगरपालिकाले जितेको छ। महिलातर्फ अन्नपूर्ण गाउँपालिका विजयी भएको छ।

बेनीमा आज भएको फाइनलमा मालिका गाउँपालिकालाई एकका विरूद्ध तीन सेटले पछि पार्दै बेनी विजयी भएको हो। म्याग्दी उद्योग वाणिज्य संघ, खेलकुद विकास समिति म्याग्दी र जिल्ला भलिबल संघ म्याग्दीको आयोजनामा माघ ३ गतेदेखि प्रतियोगिता सुरू भएको थियो।

बेनीले पहिलो, दोस्रो र चौथो सेट २५-१७, ३०-२८,२५-१६ र मालिकाले तेस्रो सेट २५-१६ को अन्तरमा जितेको थियो। खुला महिला भलिबलमा मंगला गाउँपालिका–२ को मालिका युवा क्लब सहश्रधारालाई एकका विरूद्ध तीन सेटले पराजित गर्दै अन्नपूर्ण विजयी भएको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिए।

पहिलो, तेस्रो र चौथो सेट २५-२२, २५-२० र २५-१६ को अन्तरमा जितेको अन्नपूर्ण दोस्रो सेटमा २५-२२ को अन्तरमा पराजित भएको थियो। पुरूषतर्फ विजेता र उपविजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रू एक लाख ५१ हजार एक सय र रू ७५ हजार एक सय प्राप्त गरेका छन्।

सेमिफाइनलबाट बाहिरिएका टिमले रू २१ हजार एक सय पाएका छन्। महिला भलिबलको विजेता र उपविजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रसहित रू ७५ हजार एक सय र रू ४० हजार एक सय पुुरस्कार पाएका प्रतियोगिता संयोजक तारानाथ रेग्मीले बताए। पुरूषतर्फ सात र महिलातर्फ छवटा टिमले सहभागिता जनाएका थिए।

पुरूषतर्फ बेनीका सञ्जोक थापा र महिलातर्फ अन्नपूर्णकी सजिना बुढाथोकीले उत्कृष्ट खेलाडीको उपाधि पाए। म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, महासचिव नारायण जिसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीलगायतले पुरस्कार वितरण गरेका थिए।

आठौँ म्याग्दी महोत्सवअन्तर्गत पुरूष, महिला भलिबल प्रतियोगिता र यु-२० वडास्तरीय पुरूष बास्केटबल प्रतियोगिता आयोजना गरिएको थियो। बास्केटबलमा बेनी नगरपालिका–१० पात्लेखेत विजेता र अन्नपूर्ण गाउँपालिका–१ दोवा उपविजेता भएका छन्। विजेता र उपविजेतालाई मेडल, ट्रफी र प्रमाणपत्रसहित क्रमशः रू ५५ हजार एक सय र रू ३१ हजार एक सय पुरस्कार प्राप्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *