यात्रा-निबन्ध : पुनहिलबाट हिउँको सौन्दर्य चुम्दा
सेताम्मे हिउँले भरिभराउ पुनहिलको उचाइमा ओभानो ठाउँ कतै थिएन। झुल्के घामको एक झलक देख्न मान्छेको एकाबिहानै त्यहाँ मरिहत्ते थियो। अँध्यारैमा असिनपसिन हुँदै हामी त्यहाँ पुग्दा मान्छेको ओइरो लागिसकेको थियो। पुनहिलबाट हिउँको सौन्दर्य चुम्न पदयात्रीहरूको घुइचो र घचारो थियो।
खासगरी बिहानको कलिलो घाममा अन्नपूर्ण, माछापुच्छ्रे हिमालयका चुचुराहरू सुनले नुहाउँछन् र सुनले नुहाएको हिमालको नवयौवना सौन्दर्य हेर्न मान्छे त्यहाँ आधारातमै निद्रा छोडेर पुगेको हुँदोरहेछ।
घडीले बिहानको तीन मात्र बजाएको थियो, तर हाम्रो क्याम्पसहितको यात्रा टोलीमा कसैलाई निद्राको चिन्ता थिएन। सबैको मनमा एउटै लक्ष्य थियो– पुनहिल पुगेर बिहानको झुल्के घामसँग अन्नपूर्ण र माछापुच्छ्रे हिमालका सुनौलो चुचुराहरूलाई हेर्ने। यस्तो लाग्थ्यो, त्यो सपना पूरा गर्न शरीरको थकान र चिसो मौसम कुनै बाधा नै होइन।
सिरकभित्रको न्यानोपनलाई छाडेर, हामीले आफूलाई हिउँको चिसो सिरेटोमा पुर्न तयार पारेका थियौं। यात्रा सुरु गर्ने समयसम्म आकाश अझै कालो थियो। काठमाडौँमा जब हामी निदाउन खटपट गरिरहेका हुन्छौं, त्यही समयमा पुनहिलको बाटोमा मान्छेको ओइरो लागिसकेको हुन्छ। हामी पनि त्यो ओइरोलाई पछ्याउँदै अगाडि बढ्यौं।
हामी पनि यही लोभले हिउँको चिसोलाई सहेर, उकालो हिँड्नुको हैरानीलाई बिर्सिएर पुनहिलमा पुगेका थियौं। घोडेपानीबाट ठाडो उकालो उक्लिएर त्यहाँ पुग्नु के थियो स्वप्निल सौन्दर्यका कल्पनातीत दृश्यहरूले ग्वाम्लाङ अँगालो मार्न आइहाले।
पुनहिलसम्मको यात्रा कठिन थियो। पाइला–पाइलामा हिउँको चिसो जुत्ताभित्र पसेर जिउलाई कठ्याङ्ग्र्याउँन थाल्थ्यो। हात अररिएर लट्ठी समात्नसमेत नसक्ने अवस्थामा पुगेको। चिसो तापक्रमको कुरा गरी साध्य थिएन। हिउँले भरिएका कुनाकाप्चा। बाटाभरि हिउँले विशाल पर्खाल खडा गरेको भेटिन्थ्यो। कति ठाउँमा बाटै ढाकेर हिउँको अवरोध आउँथ्यो।
ओभानो ठाउँ कतै थिएन। रुखमा जम्मा भएका हिउँका थुप्रो बेलाबेला भुईमा खस्दा मिर्मिरे बिहानको शून्यतामा पदयात्रीको सात्तो जान्थ्यो। कतिको जीउँमै खसेर विजोकै हुन्थ्यो। कति यात्री हिउँमा चिप्लिलिएर लड्थे। कति जना हिँड्न नसकेर फर्किन्थे।
हामीले भने यी सबै कठिनाइलाई आफ्नो लक्ष्यको लागि बिर्सदै, सहदै, रमाउँदै पुनहिल पुग्न लम्किरह्यौं। उकालोको हरेक एउटा घुम्तीमा उभिएर केही क्षण सास फेर्नु र अँध्यारो रातलाई हेर्दै पुनहिलको चुचुरो नजिकिदै गरेको अनुभव गर्नु, त्यो आफैँमा एउटा छुट्टै अनुभूति थियो।
जब हामी पुनहिल पुगेका थियौं, समय बिहानको पाँच जति मात्र बजेको थियो। आकाशको रङ अझै अँध्यारै थियो। तर क्षितिजको पूर्व भागमा केही सुनौलो रङका झिल्काहरू देखिन थालेका थिए। त्यो झिल्काहरू क्रमशः फैलिन थाले र चाँडै नै बिहानको पहिलो झुल्के घामले हिमालका चुचुराहरूलाई सुनले नुहाएको जस्तो बनायो।
त्यसै क्षण, अन्नपूर्ण र माछापुच्छ्रेको हिमश्रृंखलाले स्वप्निल सौन्दर्यको पर्दा उघारे। हिमालका चुचुराहरूको त्यो सुनौलो रङ हेर्दै म झल्याँस्स भएँ– यस्तो अनुपम दृश्य त केवल कल्पनामा मात्र देखिन्छ। कतै मेरो आँखाले यो सौन्दर्यलाई समेट्न नसक्ने हो कि भन्ने डर लाग्न थाल्यो।
मान्छेको भीडमा पनि एक किसिमको निस्तब्धता थियो। सबैका आँखाहरू हिमालमा ठोक्किएका थिए। अनि सबैका अनुहारमा एउटा समान चमक थियो। लाग्थ्यो, यो स्वर्गीय दृश्यलाई नियाल्दै गर्दा मान्छेहरू आफ्ना सबै चिन्ता, थकाइ र दुःखहरूलाई भुलिरहेका थिए।
त्यो झुल्के घामसँगै हिमालले देखाएको अनुपम यौवनले मेरो मनलाई अपूर्व आनन्द प्रदान गर्यो । केही घण्टापछि घाम झन् माथि चढ्दै गयो र त्यो सुनौलो रङ अलिकति पहेँलो र नीलोमा परिणत हुँदै गयो। तर, मेरो मनमा त्यो सुनौलो झुल्के क्षणले एउटा अमिट छाप छोडिसकेको थियो।
पुनहिलको यात्रा हिमाल हेर्ने साहसिक प्रयास थिएन। यो मेरो लागि आत्मा शुद्ध पार्ने एक विशेष यात्रा बन्यो। हिउँले भरिभराउ चुचुराहरू, सुनौलो झुल्के घाम र प्रकृतिको त्यो अनुपम खेलले मलाई जीवनको अर्को अर्थ सिकायो-प्राकृतिक सौन्दर्यसँग नजिक हुने अनुभव नै सबैभन्दा गहिरो अनुभूति हो जस्तो मलाई लाग्यो।
प्रकृतिको क्यानभासमा सेतो रङ भरिँदा संसारले नयाँ रूप पाउँछ। पहाडका फँेददेखि चुचुरोसम्म हिउँको सेतो पर्दाले ढाकेको दृश्य आफैंमा दिव्य लाग्छ। यही अनुपम सौन्दर्यलाई आत्मसात् गर्न म हिउँदे यात्रा गर्ने सोंचमा थिएँ। कल्पनाले नै मनमा हिउँको शीतलता घोलिदियो। अनि एक दिन, हिमालको काखमा पुग्ने रहर लिएर मैले यात्रा प्रारम्भ गरेको थिएँ।
हल्का झोला बोकेर, न्यानो जुत्ता र बाक्लो लुगामा सजिएर म काठमाडौंबाट पोखरा हुँदै घोडेपानीको पहाडी उकालोतिर लागेको थिएँ। जब यात्रा अगाडि बढ्दै गयो, सडकको छेउछाउका वनजङ्गलहरू सेतो धुलोले रङ्गिएको जस्तो देखिए।
पातमाथि टक्क बसेको हिउँले मलाई बाल्यकालको कथा सम्झायो, जहाँ हिमकन्याले आफ्नो गहना हराएको कथा सुनिन्थ्यो। ती गहना यही हिमालका फेँदमा झरेका हुन् कि जस्तो लाग्यो।
बाटाहरू साँघुरा हुँदै गए। जति माथि पुग्थेँ, चिसोले शरीरलाई झन् झस्काउन थाल्थ्यो। खालि ठाउँमा बाफ उडाउँदै बसेका मानिसहरू देख्दा मनैभित्र एक प्रकारको आत्मीयता जाग्यो। उनीहरूको हँसिलो अनुहारले यो शीतल मौसममा पनि न्यानोपनको झल्को दियो।
अन्ततः म मेरो गन्तव्य नजिक पुगें। अगाडि फैलिएको दृश्यलाई आँखाले कति पनि समेट्न सकेन। सबै ठाउँमा हिउँमात्र थियो– रुखका हाँगाहरू, छानामाथिका खर र जस्ता पाताहरू। अनि पृथ्वी आफैं पनि हिउँको साम्राज्यमा थियो।
यस्तो लाग्थ्यो, मानौं रातभर यहाँ श्वेत रङ-विन्यासको अनुपम चित्र कोरिरएका थिए। म त्यो अनन्त सौन्दर्यको क्यानभासमा एउटा सामान्य यात्री थिएँ।
हिउँमा पहिलो पाइला राख्दा, खुट्टाहरू भिज्न थाले। पाइलाहरू पछाडि फर्केर हेर्दा, म त्यहाँ मेरो छाप छोड्दैछु जस्तो लाग्यो। यो दृश्यले मलाई जीवनको गहिरो शिक्षा दियो- हामी जहाँ पुग्छौं, एउटा छाप छोड्छौं। तथापि त्यो छाप सकारात्मक हुनुपर्छ।
मैले देखेको ठाउँ हिमाल थिएनन्। तर अहिले हिउँ परेर हिमाल बनेका थिए। यिनै हिउँका फेँदतिर उभिएर मैले एकछिन आँखा बन्द गरेँ। चिसो हावाको स्पर्शले शरीरलाई मात्र होइन, मनलाई पनि ताजापनले स्पर्श गर्यो।
बिस्तारै सास फेर्दै प्रकृतिको त्यो सेता रहस्यलाई मैले गहिरोसँग महसुस गरिरहेँ। यस्तो लाग्यो, मानौं हिउँ मेरो आत्मासँग संवाद गर्दैछ। म हिउँको सौन्दर्यमा वशीभूत भइरहेको छु।
यस यात्राले मलाई हिउँको सौन्दर्य मात्र होइन, जीवनको भिन्न पाटो बुझायो। हिउँ आफैंमा निःस्वार्थ छ- शीतलता दिन्छ, तर मनलाई शान्त पार्छ। मैले हिउँले भरिएका पहाडमा हिमाल देखे र तिनलाई भेटें। यसका साथै अन्नपूर्ण र माछापुच्छ्रे हिमालको काखमा बिताएका ती क्षणहरू मेरा लागि कुनै सपना जस्तै थिए।
म केही वर्षअघि जब फर्किएँ अहिले त्यहाँ त्यो बेलाको जस्तै हिउँले आफ्नो प्राकृतिक सौन्दर्य पेश गरिरहेको छ। यतिबेला सम्झेँ हिउँले मलाई एउटा उपहार दिएको थियो- स्मृतिको अद्भुत खजाना। अनुभूतिका अनेकौं भावना।
अहिले म तिनै भावनाहरूका स्मृति–विम्बमा समाहित भएर अनुभूतिका अक्षरमा हिउँ, हिमाल र यो हिमयात्राको सम्झना गरिरहेको छु।
त्यसैले म भन्छु, हिउँको संसारमा एकपल्ट पाइला राख्नै पर्छ। हिउँले चिसो मात्र होइन, न्यानो अनुभव पनि दिन्छ। जीवनको चिसो क्षणमा पनि मनलाई कसरी न्यानो राख्ने भनेर सिकाउँछ।
हिउँदे हिउँसँग हिमचिम गर्न पाएको अनुभव छँदै थियो। यसका साथै पुनहिलबाट हिउँको सौन्दर्यलाई चुम्न पाएको त्यो पल कम स्मरणीय थिएन। त्यसैले त्यो अनुभव सदा जीवन्त छ- मेरो मनका पानाहरूमा।
Facebook Comment