सौर्य जहाज दुर्घटनाः न्यायका लागि पत्रकार महासंघले खवरदारी गर्ने

डिसी नेपाल
१० माघ २०८१ ८:०७

काठमाडौं। सौर्य जहाज दुर्घटनाका पीडित परिवारको न्यायका लागि नेपाल पत्रकार महासंघले खवरदारी गर्ने भएको छ । दुर्घटनाको छैटौँ मासिकको पुण्यतिथि आयोजित ‘सौर्य जहाजः दुर्घटना कि अपराध’ विषयक अन्तरक्रिया कार्यक्रममा महासंघले पीडितको पक्षमा खवरदारी गर्ने प्रतिवद्धता व्यक्त गरेको हो ।

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको सहयोगमा म्याप मेमोरियल सोसाईटीले महासंघकै सभाहलमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा पीडित परिवारले दोषीलाई उन्मुक्ति दिने गरी छानबिन आयोगले नियोजित प्रतिवेदन तयार पारेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमिद वागचनले महासंघको परिवारको सदस्यलाई परेको पीडाको स्वामित्व लिने बताए । ‘पीडित परिवारले अघि बढाउनु भएको अभियानलाई हामी सबैले सहयोग गर्नुपर्छ । उहाँले अघि बढाएको अभियानमा महासंघको साथ छ । विषयबस्तुको उठान गरेर कानुनी कारबाहीका लागि राज्यलाई दबाब दिन सकिन्छ,’ उनले भने, ‘गलत प्रवृत्तिको अन्त्य हुनुपर्छ । कसैको कारणले कसैको ज्यान जाने खालको वातावरण बन्नुभन्दा ठूलो अन्याय अरु कुनै पनि हुँदैन ।’

कार्यक्रममा छोरी, ज्वाइँ र नाति गुमाएको पत्रकार प्रकाश खतिवडाले उडान नै गैरकानुनी भएको दाबी गरेका थिए । उनले भने, ‘उडान गैरकानुनी छ, यात्री गैरकानुनी छन्, एयरलाइन्स कम्पनीको हर्कत गैरकानुनी छ । कानुन मिचेर सरकारले अनुसन्धान आयोग बनाएको छ । एयरलाइन्स कम्पनीको आर्थिक चलखेलमा दोषीलाई उन्मुक्ति दिन प्रतिवेदन तयार गरेको छ । अनि यो घटनालाई कसरी आकस्मिक, भवितव्य वा दुर्घटना मात्रै हो भनेर चित्त बुझाउन सकिन्छ रु त्यसैले सौर्य जहाज दुर्घटना होइन, जघन्य अपराध हो ।’

पीडित खतिवडाले राज्यसँग दर्जनौँ प्रश्न राखेका छन । उनले आफूले जस्तो अरु कसैले पनि नियति भोग्न नपरोस् भनेर अभियान सञ्चालन गरेको जानकारी दिए । उनले भने, ‘घटनामा मैले तीन सन्तति गुमाएँ तर यो नियति फेरि कसैले भोग्नु नपरोस् । कागज मिलाएर गर्ने बदमासी र त्यसबाट आउने दुष्परिणाम नदोहोरियोस्, घटनाको निष्पक्ष छानबिन गरियोस् । नेपालको हवाई यात्रा सुरक्षित होस् र सन्ततिको सम्झनालाई चीर स्थायी बनाउन र उनीहरूलाई जीवित राख्न समाजिक अभियानहरू चलाउन सकियोस् ।’

घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई उचित क्षतिपूर्तिका लागि नेपाल पत्रकार महासंघसहित सञ्चारजगतको साथ, सहयोग र खबरदारीको अपेक्षा पीडित पक्षले गरेको छ ।

कार्यक्रममा महासंघका उपाध्यक्ष नितु पण्डित, महासचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारी, समाजवादी प्रेस संगठनका कार्यवाहक अध्यक्ष नवराज छत्कुलीलगायतको उपस्थिति थियो । गत साउन ९ सौर्य एयरलाईन्सको जाहाज दुर्घटना भएको थियो । दुर्घटनामा मा परि पत्रकार प्रकाश खतिवडाको छोरी, ज्वाई र नाति सहित १८ जनाको ज्यान गएको थियो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *