दर्शन

ज्ञान, विज्ञान र जीवन

शंकरप्रसाद रिजाल
१२ माघ २०८१ ६:४९

ज्ञान एक भित्री जीवनको अनुभूति हो, जहाँबाट संसारको अनुभव हुन्छ। जीवन के हो भन्ने ज्ञान प्राप्त हुन्छ। यो भित्र डुबुल्की मार्दै जाने हो भने बिभिन्न विधाका उर्जाहरु प्राप्त हुन्छन्। जीवन ज्ञानको अनुभब हुन्छ र मृत्युको निश्चयताको पनि आभाष हुन्छ।

ज्ञान त्यो संसार हो जहाँ हरेक उर्जाको छाल आइरहन्छ। संसारका अनेक फोहर मैलाहरुको प्राप्ति हुन्छ र त्यो सागरमा विलीन हुन्छ थाह हुँदैन। यसमा सफा र फिँज काटिएका पानी पनि भेटिन्छन्। ज्ञानमा सबैको मिलन हुन्छ र जीवन, मृत्यु र यसबीचमा रहने छोटो जीवनको एक अध्याय समाप्त हुन्छ।

संसार ज्ञानको लागि दौड़ी रहेको छ अनेक कुराहरु प्राप्तिको लागि, धनको लागि, मायाको लागि, प्रेमको लागि, भोकको लागि, बासको लागि, कपडाको लागि, नयाँ नयाँ खोजको लागि इत्यादि। तर ज्ञान त्यो तप हो जुन नदौडिकन नै एक अनुपम शक्ति र उर्जाको र परमात्माको अनुभूति गर्न सकिन्छ।

यो नै एउटा अचुक मार्ग हो। आफू को हो? आफ्नो संसारमा आएपछि गर्ने कामहरु के हुन्? भन्ने कुराहरु एकै आसनमा बसी ध्यान योग र गहिरो साधनाद्वारा ज्ञानार्जन गर्ने एक बसिभूत माध्यम हो।

विज्ञान त्यो हो जसले बाहिरी कुराहरुको मात्र आभाष दिलाउँछ। जो सुख भोग बिलासीता र चरम बाहिरी आनन्दको मात्र अनुभूति गराउँदछ। विज्ञानले मानिसको जीवनलाई सुखभोग त गराउदँछ। तर शान्तिको मार्गतिर भने लैजान सक्तैन।

यसले मानिसको आँखाबाट सुखको आँसुको बर्षा गराउँछ भने दुःखको भयंकर दर्दबाट पनि डस्दै फेरि दुखको आँसुको बर्षा पनि गराउँदछ। तर शान्ति कैबल्य र परमानन्दमा कहिल्यैपनि पुर्याउन सक्तैन। किनकि यो जीवमा जे पाइन्छ त्यो क्षणिकमात्र पाइन्छ।

मानिसका अस्थायी सुखभोग त यसले एकपछि अर्को, अर्कोपछि अर्को इच्छा प्राप्त गर्न यो जीवन निरन्तर दौडी रहेको हुन्छ। एक पाउना साथ अर्को तुरुन्त इच्छाको प्रारम्भ हुन्छ र यो निरन्तरतामा नै जीवनको एकदिन अन्त्य हुने समय आउँछ र यसैमा जीवन लीलालाई समाप्त गर्दछ।

सुखभोग, वीरता, ज्ञानी, लेख्ने पढ्ने, सारा योग्यताका खोस्टा, कमाएका धन दौलत, पद र प्रतिष्ठा सबै अस्थायी सामानका आशा गुर्जाहरु हुन् जुन माटाका कठ पुतली सरह एकदिन सबै टुटी फुटी हराएर काम नलाग्ने गरी नष्ट भएर जान्छन्।

र, जीवनको आन्तरिक सुख शान्ति र परमात्माको दर्शनको अनुभूति कहिल्यै हुँदैन। जीवनको अन्तमा पश्चाताप गरी मृत्युवरण गर्नु पर्ने हुन्छ। यसमा संसार विजय गर्ने भनी हिँडेका संसार प्रसिद्ध दमिस्क देशका महाराज “अलेक्जेन्डर द ग्रेट” संसार विजयी गर्दै आफ्नो जीवन बिताइ रहेका थिए।

आखिर उनको मृत्युको दिनको आगमनमा उनलाई यो कुराको महाज्ञान भयो कि संसारबाट कसैलेपनि मृत्युसँगै लाने चिज कुनै पनि हुँदो रहेनछ। मरिसके पछि मेरा दुवैहात मृत्यु शैयाको खटियाबाट तल झुन्ड्याई लैजानु ताकि यो पछिल्ला पिँढीलाई ज्ञान र सचेत होस् भन्ने थियो।

विज्ञानले बाहिरको बलेको आगो त बाहिरकै पानीले निभाउला। तर हृदय भित्र जलेको मनको आगो भने निभाउन सक्तैन। किनकि आगो भित्र बलेको हुन्छ भने निभाउने पानी बाहिर हुन्छ, जसको मिलन कहिल्यै हुन सक्तैन। भित्रको आगो निभाउनलाई भित्रकै पानीको बर्षा गराउन सक्नु पर्दछ।

त्यो सामथ्र्य मात्र ध्यान योग र साधनाबाट सम्भव हुन्छ। तसर्थ ज्ञानलाई भित्री नजरबाट हेर्नु पर्दछ। ज्ञानलाई हेर्न तेस्रो नेत्र खोल्नु पर्दछ जो सधैं चिन्मय आकासमा तिल्मिलाई रहेको हुन्छ। साधनाद्वारा मात्र यो नेत्र खोल्दछ। अनि त ईश्वर,देवी देवता सबै दृष्टिगत हुन्छन् र जीवनमा सुख शान्ति सन्तोष र परमानन्द सबै मिल्दछ।

सिद्धार्थ गौतमलाई के कुराको कमी थियो र बुद्ध बन्ने प्रेणणा मिल्यो? आज उनी आफ्नो स्वज्ञानबाट गौतम बुद्धको नामबाट संसार प्रसिद्ध भए। त्यस्तै इशामसिह, पेगम्बर, गुरु नानक, सन्त कबीर, रामकृष्ण परमहंस, स्वामी विवेकानन्द, कालिदास, शिवपुरी बाबा, खप्तड बाबा, साई बाबा, देवराह बाबा, मोहिनी बाबा, हिमालयका प्रसिद्ध योगी बाबा आदि।

मृत्युको जीवन त उनीहरुको पनि थियो। सबैले मृत्युवरण गरे। तर ज्ञान, सुकर्म, ध्यान योग र अध्यात्म चिन्तनबाट उनीहरुले सारा संसारलाई जीवन दर्शन प्रदान गर्न सफल भए र उनीहरुकै पाठ प्रदर्शनमा आज संसारमा भड्किइरहेका बिशाल समूहका मानिस र विज्ञान बिज्ञहरु र सुखभोगमा लागेकाहरु पनि उनैको जीबन दर्शनमा लागिपरेका छन्।

तसर्थ ज्ञानले मृत्युदेखि नभाग र नदौड बरु यसमाथि सहज विजय प्राप्त गर्ने कोशिस गर किनकि यो अवश्यम्भाबी छ भन्ने गर्दछ। किनकि यो हार होइन एक अपरिहार्य विजय पनि हो। विज्ञानले अनेक औषधिहरु बाँडी २-४ महिना र २-४ बर्ष त जबरजस्ती यस संसारमा जीवन टिकाउने क्षणिक काम गर्दछ जो आफू पनि एकदिन मृत्युवरण गर्न बाध्य हुन्छ।

तसर्थ जीवनलाई एक बाच्ने कला सम्झ। विजय सम्झ। बितेका कुराहरुलाई वास्ता नगर र पछि आउने भविष्यको कुराहरुलाई पनि वास्ता नगर। नजाने के हुने हो भोलिका दिनमा। अतः जीवन आनन्दले जिउनु छ भने वर्तमानलाई ख्याल गरी सधैं आफ्नो स्वधर्म, सुकर्म, अध्यात्म चिन्तन, योग र ध्यानलाई आफ्नो नित्य कर्म ठानेर काम गर जसले जति यो जीवनमा ल्याएका छन् त्यही मात्र पाउने हो।

अरु सबै मृगतृष्णा नै हुन्। त्यो भन्दा बढी पाउने कसैले कोशिश नगरुन् र जीवन सरलपूर्ण तरिकाले बिताउने कोशिश गरुन्। यसैमा सबैको कल्याण अवश्यम्भावी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *