काठमाडौंमा नेपाल पश्मिना अन्तर्राष्ट्रिय एक्स्पो सुरु

काठमाडाैं। नेपाल पश्मिना उद्योग संघको आयोजना बिहीबारदेखि काठमाडौंमा नेपाल पश्मिना अन्तर्राष्ट्रिय एक्स्पो २०८१ सुरु भएको छ।
काठमाडौंको भृकुटीमण्डपमा माघ १२ गतेसम्म चल्ने पश्मिना एक्स्पोको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरे। नेपालमा उत्पादित उत्कृष्ट पश्मिना सामग्रीहरूलाई प्रस्तुत गर्दै यस क्षेत्रको मौलिकता, गुणस्तर र अन्तर्राष्ट्रिय पहिचानलाई अझ सुदृढ बनाउने लक्ष्य लिइएको आयोजकले जनाएको छ।
सो क्रममा उद्योगमन्त्री भण्डारीले प्रदर्शनीले नेपाली उत्पादनका नयाँ सम्भावनाहरू पहिचान गर्न र विदेशी लगानीलाई आकर्षित गर्न सहयोग पुराउने बताए।
उनले स्वदेशी लगानीलाई प्रोत्साहित गर्न र बाह्य लगानीलाई आकर्षित गर्न सरकार प्रतिवद्ध रहेकाले सोही अनुसारको कानून बनाउन अध्यादेश जारी गरिएको दाबी गरे। नियन्त्रणमूखी कानूनलाइ परिमार्जन गर्दै स्वदेशी लगानीलाई प्रवद्र्धनमार्फत मुलुकको आर्थिक बिकास गर्ने लक्ष्य रहेको उनको भनाइ छ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालले धेरै राम्रा बस्तुको उत्पादन गर्न सकेको भन्दै यसलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारीकरण गर्न आवश्यक रहेको बताए। नेपालको पश्मिना धेरै मुलुकमा निर्यात हुने भएकाले यस क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्नुपर्नेमा उनले जोड दिए।
पश्मिना एक्स्पोको साथै मेक इन नेपाल एक्स्पो २०२५ समेत भृकुटीमण्डपमा सुरु भएको छ। एक्स्पोमा शुद्ध नेपाली पश्मिना हस्तकला, कृषि, र घरेलु उत्पादनको विशेष स्टलहरू रहेका छन्। मेला आयोजना अवधिभर २० हजार भन्दा बढी अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ।
Facebook Comment