रमालक्ष्मी गौतमका दुई कविता
नारीलाई छुटकारा
थियौँ पहिले हामी सबसँग पछाडि बसी दिने
भए हाम्रा स्वामी अलि अलि गरी फुर्सद दिने
अघि हाम्रा पुर्खा कति कठिनले काम गर्दथे
पिताका हैकमले जननीहरु सब पछि पर्दथे।
भए छोरा छोरी तर पनि पिताकै खटन रे
यसरी दुःख गर्दै जननीहरु सब स्वर्गीय परे
हरे कस्ता दिन यी अलि अलि गरी फिर्दै गए
भएका माताजीहरु पनि यहाँ हर्षित भए।
छुटे हाम्रा बन्धन अलि अलि गरी यो जगतमा
नदेउ साथी गाली अघि सरी सरी यो मुफतमा
भयौँ साथी भेला सब मिलिझुली काम गरियो
मिल्यो छुटकारा भन्दै अब सब जना मख्ख परियो।
भयौँ फुर्सद भन्छौ अघि अघि सरी भाषण गरी
नचल्ने संसार यो एकथरि यहाँ पछाडि नपरी
अघि नै छौ हामी तरपनि पछि लगाउँ भनी
उठेनौ रे नारी पहिले घर दलानको मालिक बनी।
दशैं
नव दुर्गा भवानीको गरौं पूजा बिहानी भो
रंगी चंगी गरी पहिरन निधारमा लागाउँ टिको
आयो दशैं अति राम्रो हामी सबै नेपालीको
गरौँ पूजा सबै मिलि नव दुर्गा भवानीको।
गरौं उत्सव देवीको भेला हुने समाजले
आयो, आयो ठूलो चाडढ देवीहरुका लहर चले
हर्षमा मस्त छन सारा भेटघाट होला भनी
नपरोस् शिरमा वाधा नेपालीलाई कहीँ पनि।
देवीको मान हो पूजा गरौँ सबै साथी मिलि
शक्ति छ उनको ज्यादा फूल जमरा झिलिमिली
आयो दशैं घर घर सब परिवार भेला हुने
हर्षमा मस्त छन् सारा खुशीयाली गरि दिने।
गएका छन् मिठा गाना हातमा बिणा बजेपछि
आयो दसैं उत्साहले सारा ढोका खुले पछि
गयो दशैं पर पर नव दुर्गा उठी सके
आशिषले भयो पूरा नाताहरु छुटी सके।
सुन्दरहरैँचा–११, कर्जुना, मोरङ
Facebook Comment