कथा : जीवनको गोरेटो
उ आफूलाई बिल्कुल एक्लो ठान्छ। उ परिवारबाट टाढा छ। अध्ययनको क्रममा उसले घर छोडेको हो। उ परिवारको सर्बदा सम्झना गर्छ। परिवारप्रति उसको आगाध स्नेह छ। उ परिवारलाई उपेक्षित गर्नै सक्दैन।
“सम्झना परिवारप्रति। स्नेह बहिनीहरुलाई। दण्डवत आमा, बुबा र हजुरआमालाई। भाइको परीक्षा। मेरो पसिना। ती खेत र वारीका कान्ला र डल्लाहरुलाई।” यी उसका दैनिक कुनै एक समय सुस्ताउने वाक्यहरु हुन्।
उसको जीवन खण्ड, खण्डमा बिभाजित छ। उसका जीवनका गोरेटाहरु अहिलेसम्म विभिन्न मोडहरु पार गर्दै खुड्किलाहरुमा बिभाज्य छ।
उसले कुनै समय आत्महत्या गर्ने योजना नबनाएको पनि हैन। तर उसले आत्महत्या गर्नु परेन। उसले जीवन दान प्राप्त गर्यो। उ बाँच्यो।
परिवारप्रति त्यत्रो स्नेह राख्दा राख्दै पनि उ आफूलाई परिवारद्वारा उपेक्षित ठान्छ। के उसमा मानसिक विचलन आएको हो? उसले किन एक्लो महसुस गरिरहेको छ? उ परिवारद्वाारा उपेक्षित नै हो त? के उ समाजबाट तिरस्कृत होत? उसलाई फटाहा भन्लान पढे लेखेका मुर्खहरुले।
उ फटाहा हैन। उ बाँच्नका लागि संघर्ष गरिरहेको छ। तर पनि उसमा किन आयो वैराग्यता? के उसको जीवन असफल भएकै हो त? उ जिन्दगीबाट बिरक्तिएका कथाहरु पनि सुनाउँछ कहिले कहिले।
“जन्मनु ठूलो पाप हो। पौरख गर्न नसक्नेले। यहाँको परिवेश, देश र समाज लथालिङ्ग छ भाइ लथालिङ्ग। म के गरौँ ? बिकास हुनु पर्छ। जनता सुखी रहनु पर्छ। के कराउँदै हिँडौ एक्लै सडकमा? हाम्रो गाउँको छेउघरे कान्छोले क ख रा नै पढ्न पाएन। ठूला घर्नी काकीले चुलो चौको कहिल्यै छोड्न पाइनन्। के यसरी नै हुन्छ त परिवर्तन?” असन्तुष्टिका यी वाक्यहरु पनि उसका नै हुन्।
जीवन बाँच्न उसले कठिन संघर्ष गरेका प्रमाणहरु उसका डायरीहरुमा पढ्न सकिन्छ। कष्टपूर्ण जीवनमा पनि सुखद अनुभुतिका क्षणहरु व्यक्त्त गरिएका उसका दर्जनौं कविताहरु छन्।
अप्ठेरो घडीमा पनि बिचलित नभइ बसन्त कालमा आएर रोमाञ्चितपूर्ण बाँचेको जिन्दगीको उदाहरण भएका दर्जनाैं कथाहरु पनि छन्। ता पनि उ किन बिरक्तिएको छ? के उसले जिन्दगीको परिभाषा भुलेको हो? अरुको भरोसा भएर बाँचेको मान्छे किन आज उ आफैंलाई भरोसा विहीन ठानिरहेको छ?
उ त्यस बेला विद्यार्थी थियो प्रमाण पत्र तहको। अध्ययनको दैरानमा परिवारको माया ममता भुलेर उ यहाँ अर्थात् विराटनगर आइपुगेको हो। उसको घरायसी अवस्था ठिकै थियो। उसको बुबा शिक्षक हुनुहुन्थ्यो। खेतिपातीबाट खाने अन्न पर्याप्तै आउँथ्यो। पाँच जना छोरा छोरी मध्ये उ जेठो सन्तान हो।
हजुरआमा दीर्घ रोगी हुनुहुन्थ्यो। उपचारमा काठमाडौँ लगिरहनु पर्थ्याे। बुबाको तलव थोरै नै थियो। हजुरआमाको उपचार खर्च र पाँच जना छोरा छोरीको पढाई खर्च धान्न मुश्किलै थियो। उसले एस.एल.सी. सकेपछि लोकसेवा दिएर जागिर खाँदै पढ्नु पर्छ भन्ने मत घर परिवारको थियो। तर उ थप अध्ययन गर्न चाहन्थ्यो। थप अध्ययन पूरा गरेर मात्रै उसले जागिर खाने सोच बनाएको थियो। असहमतिका बाबजुद उ पढ्न गएको थियो।
बेला बेलामा घरबाट खर्च बर्च आउने क्रम चालू हरे पनि त्यो जीवन धान्नका लागि पर्याप्त थिएन। नयाँ वातावरणसँग भिज्न र त्यहाँको वातावरणसँग जुज्न उसले धेरै संघर्ष गर्नु पर्यो। कति छाक त भोकै बस्नु पर्ने परिस्थिति पनि सिर्जना भयो। घर छोडेर आएपछि उसका सुनिश्चित र सुनियोजित छाकहरु बित्नै छोडे। यद्यपि उ जीवन यापनका लागि ट्यूसन पढाउने गर्थ्याे।
एक दिन घरको अनौठो पत्र प्राप्त गर्यो उसले। जसमा अब खर्चबर्च घरबाट दिन नसकिने, आफ्नो व्यवस्था आफैँ गर्नु पर्ने कुरा उल्लेख गरिएको थियो। पत्र पढेर उ शिथिल भयो। भविष्य अन्धकारले ढाकेको महसुस गर्यो। यात्रामा ठेस लागेको अनुभव गर्यो। सोचाईहरु तँ छाड म छाड गर्न थाले। उसको सपना धुलीसाथ हुने भयो। उ निरीह बन्यो।
अब के गर्ने? जीवन त बाँच्नै पर्यो। सके अध्ययन पनि पूरा गर्नै पर्यो। उसले एउटा योजना तर्जुमा गर्यो। सबै भन्दा पहिले मान्यतामा आधारित जीवन जिउनेहरुलाई दुखेसो पोख्ने विचार गर्यो। कतै कल कारखाना, पसल र सरकारी कार्यलयहरुमा जागिरका लागि अनुरोध गर्ने।
तर असम्भव भयो यो उसका लागि। सर्व प्रथम नै केही मागियो उसलाई। केही थिएन उसले दिने बस्तु। त्यहाँबाट फिर्ता पठाइयो उ। उ तिरस्कृत र उपेक्षित भयो मान्यता प्राप्त व्यक्तिहरुबाट। उसले सहजै अनुमान गर्यो। संसार गुलामीहरुको रहेछ। यो गुलामी जीवन कति दिन टिक्न सक्छ? के परिवर्तन सम्भव छैन?
उ भौँतारी रहेकै थियो। कन्डक्टरको काम पाइन्छ कि भनेर उ बस पार्क पुग्यो। गाडीवालसँग सम्पर्क बढायोे। नभन्दै एक दिन उसले कन्डक्टरको काम भेट्यो। उ यातायात मजदूर बन्यो। परिस्थिति बिग्रन केही बेर लाग्दैन। एक दिन अचानक गाडी दुर्घटना ग्रस्त भयो। उ मर्न त मरेन। तर उ अपांग भयो। उसको देब्रे हात काटियो। उसले काम गर्न नसक्ने भएपछि कन्डक्टरबाट अबकाश दिइयो।
उसलाई जीवन कसरी बाँच्ने भन्ने चिन्ताले कहिल्यै छोडेन। अब उसले अध्ययनको कुरा माया मार्यो। जीवनलाई माया मार्न सकेन। उ निराश भएन। हिम्मत कस्यो र एउटा होलसेल व्यापारीबाट उधारोमा सामान ल्याएर व्यापारको सुरुवात गर्यो। व्यापार राम्रै चल्यो। साहुको भुक्तानी गर्दै सामान ल्याउँदै उसले आफ्नो व्यापार वढायो।
उसले इमान्दारिता र नैतिकता गुमाउन चाहेन। नत्र त डवल मूल्यमा सामान बिक्री गरेर धन सम्पत्ति थुपार्न पनि सक्थ्यो। कालो बजार यति चलेको छ कि, राता रात अवैध व्यापार गरेर एक बर्ष नबित्दै सहरमा घर किनेर सुख साथ जीवन बिताउन पनि सक्थ्यो। तर त्यस्तो अवैध धन्दा गरेन उसले। उसले इज्जत सम्झ्यो। उसले बदमाशी गर्न चाहेन।
एक रात उसको पसल लुटियो लुटेराहरुवाट। उ घर न घाटको स्थितिमा पुग्यो। पढाइ पनि छोडियो। अपांग पनि भइयो। घर जाने कि नजाने? के मुख लिएर घर जानु भन्ने सोचेर उ बिलखबन्धनमा पर्यो। प्रगति गर्न नसके पछि उसले घर नजाने निर्णय गर्यो।
उसको जीवन झन कष्टपूर्ण बन्यो। धेरै हण्डर खायो। नसोचेका तीता अवस्थाहरु पनि भोग्यो। उ आफ्नो जीवन यात्रालाई सकी नसकी घिसार्न थाल्यो।
यात्राको क्रममा उ एउटा प्रतिबन्धित राजनैतिक दलको सम्पर्कमा पुग्यो।
उसले पार्टी सदस्यता प्राप्त गरी भूमिगत गतिविधिमा संलग्न रह्यो। पार्टी गतिविधिमा संलग्न रहेकै अवस्थामा उ पक्राउ पर्यो। कुटियो। पिटियो। जेल पर्यो। उसलाई कायलनामा गराइयो। उ पाँच बर्ष पछि जेलबाट छुट्यो। उसलाई जेलबाट छुट्ने बेलामा फेरि पनि त्यस्तै गतिविधिमा संलग्न रहे पुनः पक्राउ गरी आजीवन जेल सजाँय हुन सक्ने चेतावनी दिइयो।
उ झन कठिनले जीवन धान्न बाध्य भयो। जेल परे पछि पार्टी सम्पर्क पनि टुटेको थियो। बल्ल तल्ल उ पार्टी सम्पर्कमा पुग्यो। पढे लेखेका मुर्खहरुको आँखामा उ एउटा विद्रोही बन्यो। उसका हर क्रियाकलापमा निगरानी राखिन थालियो। उसका पछि गुप्तचरहरुले पिछा गरी रहे।
तीन बर्ष उ हरायो। कहाँ छ? के गर्दै छ? केही थाहा पत्तो भएन। तीन बर्ष पछि फेरि उ पक्राउ परेको समाचार प्राप्त भयो। ‘समाजमा शिक्षा अभाव र जनचेतना’ नामक पुस्तक त्यही तीन वर्षे अवधिमा लेखी गाउँ भरी वितरण गरेको आरोपमा उसलाई पन्ध्र बर्षे जेल यात्राको सजाय सुनाइयो।
उसले जेलमा चरम यातना र मानसिक पीडा खप्नु पर्यो। यही पन्ध्र बर्षे कारावास सजायको समयमा उसले आफ्नो दलको गोपनीयता खोल्नु पर्ने बाध्यात्मक परिस्थितिको सिर्जना गरियो।
उसले आफ्नो दल र संगठनप्रतिको नैतिक इमान्दारितालाई जोगाउन आत्म हत्या गर्ने योजना तय गर्यो। तर त्यो अवस्था आउन पाएन। देशमा ०४६ को राजनैतिक आन्दोलन चरम उत्कर्षमा थियो। देशमा राजनैतिक परिवर्तन भै हाल्यो।
अहिले उ जेलबाट छुटेको छ। उ बुढो जस्तो देखिन्छ। उसलाई विभिन्न रोगले ग्रस्त पारेको छ। नियमित औषधि सेवन गर्नु पर्छ। उ नेता त भएको छ। तर पनि उ आफूलाई फगत एक्लो जस्तो ठानिरहेको छ।
पार्टीले उसलाई हर काममा सहयोग उपलब्ध गराई रहे पनि उ जीवनले सार्थकता पाएको छैन भन्छ। उसको घर परिवारको अवस्था के छ? उ अनभिज्ञ छ। हजुरआमा बित्नु भयो होला। बुबा आमा बृद्ध भै सक्नु पर्ने। भाइ बहिनीहरुको विबाह भै सक्नु पर्ने। अब उ घर परिवारको सम्पर्कमा जान चाहिरहेको छ। आमा बुबाको सेवा गर्नु उसले आफ्नो कर्तव्य ठानिरहेको छ।
उसलाई सबैले खारिएको नेता मान्छन्। को कार्यकर्तालाई सँधै भन्ने गर्छ “देश र जनताका लागि मैले उल्लेख्य केही गर्न सकिन जस्तो लाग्छ। ल है साथीहरु हो समाज रुपान्तरण गर्ने जिम्मा अब तपाईंहरुको हो। भ्रष्ट नहुनु होला। शहीदले सराप्लान्।
शहीदको सपना पूरा गर्ने प्रयत्न गर्नु होला। देश र जनताको मुहार हँसिलो पार्नु होला। अहिले परिवर्तन भै सकेको छ। निरंकुशता छैन। मानव अधिकार वहाली भएको छ। परिवर्तन सम्भव छ। किनकी राज्य सत्ता तपाई हाम्रै हातमा त छ।”
उ परिवर्तनको खुशी गाउँलेहरुलाई बाँड्न र आमा बुबा भेट्न गाउँ जाने भएको छ। उसको आगमनमा गाउँलेहरु खुशी हुने छन। आमा बुबा हर्षले रुनु हुने छ। उ युगान्तकारी नेता बन्न सकोस। उसका सपना पूरा हुन सकुन। उसको जीवन सुखमय बितोस्।
सुुन्दरहरैचा -६, दुलारी, मोरङ
Facebook Comment