भोजपुरमा ‘ खाइराइड’ पठनपाठन
भाेजपुर। बिद्यालयको पाठ्यक्रममा साहित्यिक कृतिलाई अतिरिक्त अध्ययन अध्यापन गराउने व्यबस्था भए बमोजिम कक्षा ११ को नेपाली बिषय अन्तर्गत भोजपुरको सिद्धेश्वर मावि, दावाँमा चर्चित हास्यव्यङ्ग्य निवन्ध सङ्ग्रह ‘खाइराइड’ को पठनपाठन सुरु भएको छ।
विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक एबं शिक्षकहरुसंगको परामर्शपछि सरल भाषा र आकर्षक शैलीमा लेखिएको ‘खाइराइड’को पठनपाठन शुरु भएको हो।
खाइराइडको अध्ययन अध्यापनबाट विद्यार्थीहरूले हास्यव्यङ्ग्य साहित्य जान्ने र सिक्ने अपेक्षा विद्यालयले गरेको छ। नेपाली साहित्यको सिंगै कृतिलाई विद्यालयले पहिलो पटक यसरी पठनपाठन शुरु गरेको हो। त्यसैले खाइराइड हास्यव्यङ्ग्य निवन्ध सङ्ग्रहको अध्ययन अध्यापन किन? भन्ने सम्बन्धमा विद्यालयले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो।
उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्र. अ. सुवासचन्द्र दाहालले भोजपुरको दावाँ गाउँमा जन्मिएर सिद्धेश्वर मा. विद्यालयमा कक्षा ९ सम्मको अध्ययन पूरा गरेका लेखक राजेन्द्र कार्कीको खाइराइड कृति अध्ययन अध्यापन गर्न गरौन पाउनु खुसी र गर्वको कुरा भएको उल्लेख गरे।
यही दावाँ गाउँकै कतिपय स्थानहरूको वारेमा पढ्न पाउँदा विद्यार्थीहरू उत्साहित र रोमाञ्चित हुने साथै हामी पनि यस्तै सिर्जनाहरू गर्न सक्छौं भन्ने साहस र प्रेरणा विद्यार्थीहरूमा जागृत हुनसक्ने पनि बताए।
कक्षा ११ का नेपाली बिषय शिक्षक गणेशकुमार श्रेष्ठले नेपाली हास्यव्यङ्ग्य निवन्धको इतिहास , प्रवृत्ति र विकासक्रमका वारेमा चर्चा गरेका थिए। साथै उनले विद्यार्थीलाई जानकारी दिँदै खाइराइड भित्र ३१ वटा हास्यव्यङ्ग्य निबन्ध रहेकाे र ती निबन्धको अध्ययन पछि कृतिको समीक्षा र हास्यव्यङ्ग्य निबन्ध र कबिता लेख्न विद्यार्थीलाई उत्प्रेरित गराउँदै लेखनमा सहजीकरण गर्ने बताए।
फित्कौली अनलाइन मिडियाद्वारा प्रकाशित राजेन्द्र कार्कीको खाइराइड निवन्ध कृतिलाई काठमाडौंको डियरवाक स्कुलले अतिरिक्त पाठ्यक्रममा राखेर कक्षा ९, १०, ११ र १२ मा पठनपाठन गराएको छ।
अन्य विद्यालयहरुले पनि खाइराइडलाई अतिरिक्त पाठ्यक्रमको रुपमा पढाउन रुचि देखाई रहेको प्रकाशक नरनाथ लुइँटेलले बताए। विद्यार्थीले लेखेका उत्कृष्ट समीक्षा, हास्यव्यंग्य निबन्ध र कबितालाई फित्कौली अनलाइनले स्थान दिने विद्यार्थीलाई जानकारी गराएको थियो।
Facebook Comment