लघुकथा : कर्तव्य

भूमिका गैरे तिमिल्सिना
१२ माघ २०८१ ७:००

“हेर त! त्यो सुन्तलीलाई लाऊँ लाऊँ , खाऊँ खाऊँ भन्ने उमेरमा कत्रो बज्र पर्‍याे पर्न नि?´ छिमेकी काकाले भने।

नाताले ज्वाइँ पर्ने मदनले फेरि थपे, ” यस्तो त आफू खाने शत्रुलाई पनि नपरोस्। बिहान चिया पिएर सँगै निस्केका थियौं। अचानक गाडीले हानेर ठाउँको ठाउँ ठहरै हुनु भयो। ऐया! भन्न नि पाउनु भएन।´

छिमेकी काकाले दुखी भएर भने `दशा भन्ने कुरा कसलाई कतिखेर आउँछ, के थाहा? त्यस्तो ह्रष्टपुष्ट मान्छे एकैछिनमा हेर्दाहेर्दै जानु भयो।´

मदनले भक्कानिँदै भने, `आफ्नै आँखा अगाडि नै घटना हुँदा त मेरो त होसहवास केही थिएन? हातखुट्टा कामे। बाटाका मानिसहरू मिलेर जेनतेन अस्पताल लग्यौं। तुरून्तै डाक्टरले मृत घोषणा गरिदियो।´

उनै छिमेकीले भने, `दाजुभाइ पनि कोही छैनन्? सन्तानको नाममा एउटी छोरी मात्र छिन्। कसैलाई त गुहार्नै पर्‍याे।´

सुन्तली, होस गुमाएर लडेकी थिई। मदन छेउमा गए र बोलाए। अलिकति बौरिइ। रुँदै आलाप बिलाप गर्न थाली। घटनाको जिम्मेवार आफैंलाई ठान्दै मदनले पश्चातापको स्वरमा भने, `बिहान मैले व्यर्थै घुम्न जाऊँ, भिनाजु! भनेर लिएर गएछुँ।´

आफन्तमा कोही बस्न मान्छन् कि? भनेर उनी यता उता फोन गर्न थाले। उसैबेला मृतककी छोरी अगाडि आएर भनी, “बाबाको क्रिया म गर्छु, मामा।”

गैंडाकोट ४ नवलपुर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *