सुरेश राईका दुई छोटा कविता
अनिदो मान्छे
अलिकति दोष
लामखुट्टेको टिँटिँले पायो
अलिकति
दिउँसो पिएको कफीले पायो
अलिकति
बतासले हानेको
झ्यालको खट्खट्ले पायो
अलिकति
पुरानो सिरक
र अलिकति
धुन नभ्याएको डसनाले पायो
अलिकति
निर्मोहीको नमीठो सम्झनाले पायो
तर,
मान्छे सुतेन दाजै
आफ्नै मनको अशान्तिले
तिम्रो शहर म कहिल्यै आउने छैन
म सक्दिनँ होला हेर्न
तिम्रा नयाँ नयाँ साथीहरूलाई
अंगालेर तिमीले हाईहेल्लो गरेको
म सक्दिनँ होला सहन
शहरका ती गल्लीहरूमा
तिम्रो हाँसो बेपरवाह घन्केको
म सक्दिनँ होला रमाउन
देखेर तिमीले कसैसँग
महंगो उपहार लिएको
म सक्दिनँ होला उभिन
थाहा पाएर तिम्रो होइन भन्ने
आँगन तिमीले टेकेको
म सक्दिनँ होला
दोष लगाउन कि
तिमीले बैमानी नै हौ गरेको
पुग्दैनन् होला प्रमाणहरू
यो बताउनलाई कि
मलाई धोका नै हौ दिएको
अल्मलिन्छु होला कि
इमानी र बैमानीको बीचबाट
हो र होइनको अल्मलबाट
यो तिमीले यस्तो के गरेको ?
तिम्रो शहरमा मलाई निम्तो दिएर फेरि
मेरो सास फेर्ने हावा किन खोसेको ?
Facebook Comment