रविको मुद्दामा जाहेरवालाको बहस जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहस जारी छ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए। उनको बयान सोही दिन सकिए पनि बिहीबारबाट थुनछेक जारी छ।
बिहीबार सरकारी वकिलले बहस गरेकोमा आज जाहेरवालाका तर्फबाट वकिलहरूले बहस गरिरहेका छन्।
अहिले वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बहस गरिरहेका छन्। त्यसपछि प्रतिवादीका तर्फबाट रविका वकिलहरूले बहस गर्नेछन्।
सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो। गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाइ भने पुरक उजुरीमा राखिएको हो।
प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिएपछि उनीमाथि उजुरी गरिएको हो।
उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन्। बुटवलपछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ। ती जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरेपछि चितवन र पर्सा दुवैमा रविले सरकारी वकिलसमक्ष बयान दिइसकेका छन्।
Facebook Comment