सान फ्रान्सिस्को र डालसमा वाणिज्य दूतावास स्थापना निर्णय स्वागत योग्य : आनन्द विष्ट
काठमाडौं । नेपाल सरकारले क्यालिफोर्नियाको सान फ्रान्सिस्को र टेक्सासको डालसमा वाणिज्य दूतावास कार्यालय स्थापना गर्ने निर्णय गरेकोमा नेपाली जनसम्पर्क समिति अमेरिकाले स्वागत गरेको छ। समितिका सभापति आनन्द विष्टले विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णय स्वागतयोग्य भएको बताएका छन्।
नेपालीको जनघनत्व बढ्दै गएको अमेरिकाको पश्चिमी क्षेत्रको सान फ्रान्सिस्को सहर र मध्य क्षेत्रको टेक्सासको डालसमा वाणिज्य दूतावास स्थापनाका लागि विगत लामो समयदेखि नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाली कांग्रेस र अन्य दल नेतृत्वको सरकारसमक्ष माग गर्दै आए पनि हाल सुनुवाइ भएको प्रति उनले खुसी व्यक्त गरेका छन्।
पछिल्लो समय संयुक्त राष्ट्र संघको महासभामा भाग लिन आएका बेला सेप्टेम्बरमा न्यूयोर्कमा रहँदा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउबासँग नेपाली जनसम्पर्क समितिलगायत त्यस क्षेत्रका नेपाली समुदायका प्रतिनिधिले संयुक्त भेट गर्दै वाणिज्य दूतावास स्थापनाका लागि अनुरोध गरिएको विष्टले स्मरण गरे।
‘भेटमा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले मागलाई गम्भीरतापूर्वक लिएको बताउनु भएको थियो। उहाँहरूले विभागीय मन्त्रालयमार्फत वाणिज्य दूतावास स्थापनाको प्रक्रियालाई तत्काल अघि बढाएर मन्त्रिपरिषद्समक्ष प्रस्तुत गर्दै कार्यान्वयन चरणमा पुर्याउनु भएकोमा हार्दिक आभार व्यक्त गर्दछौं,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ। विष्टले यसलाई सबैको सामूहिक प्रयत्नको साझा उपलब्धि भएको बताएका छन्।
‘नेपाली जनसम्पर्क समिति नेपाली समुदायको हित र नेपाल सरकारका तर्फबाट आफ्ना नागरिकलाई प्रदान गरिने सेवा, सुविधा सहज रूपमा दिलाउने प्रयास गराउन सधैँ प्रतिवद्ध छ। हाम्रो प्राथमिकता नेपाल र अमेरिकामा रहेको नेपाली समुदायको बृहत्तर हितका लागि आवश्यक पहल गर्नु हो,’ विष्टले भने।
उनले नेपाल सरकारबाट प्रदान गरिने सुविधा सहज, सरल र कम झन्झटिलो बनाउनका वाणिज्य दूतावास स्थापना महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।
Facebook Comment