प्रधानमन्त्रीको स्वास्थ्यमा देखिएको समस्या के हो?

डिसी नेपाल
११ माघ २०८१ १४:०१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तीन दिनदेखि अस्वस्थ छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आराम गरिरहेका छन्।

उनको उपचारमा संलग्न चिकित्सकका अनुसार ओलीलाई चिसोले ग्रस्त पारेको छ। उनलाई रुघाखोकीले समातेको छ। प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले मौसमी रुघाखोकी भएको र ओलीको अवस्था स्थिर रहेको बताएकी छन्।

प्रधानमन्त्रीलाई बोल्न असहज भइरहेको र रुघाखोकीको सामान्य औषधि दिइएको उनले बताइन्। केही दिन प्रधानमन्त्री ओलीलाई आरामको खाँचो रहेको उनको भनाइ छ।

चिकित्सककै सुझाव अनुसार ओलीले शुक्रबारका लागि तय भएका उपत्यकाबाहिरका सबै कार्यक्रम रद्द गरेका छन्। शुक्रबार प्रधानमन्त्री ओलीका चार वटा कार्यक्रम तय भएका थिए।

प्रधानमन्त्री ओलीले आज बिहान ११:१५ बजे पाल्पाको बगनासकाली गाउँपालिकाको भवन उद्घाटन, दिउँसो १२:१५ बजे तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन र दिउँसो १२:५० बजे सिद्धार्थ राजमार्गको सिद्धबावामा निर्मित सुरूङ मार्गको ब्रेकथ्रु र दिउँसो १:१५ बजे बुटवल-गोरुसिंगे सडक स्तरोन्नति शिलान्यास गर्ने कार्यक्रम तय भएका थिए।

उनले सुरुङमार्गको उद्घाटन तथा अन्य काम भर्चुअलरुपमा गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए। धेरै दौडधुप नगर्न चिकीत्सकको सल्लाह अनुसार उद्घाटनमा नजाने उनको भनाइ छ।

बिहान सवा ११ बजे पाल्पाको पाल्पाको बगनासकाली गाउँपालिका भवन र तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रम राखिएको थियो। उक्त कार्यक्रममा प्रधानमन्त्री ओली भर्चुअल माध्यमबाट आफ्नो उपस्थिति जनाइसकेका छन्।

त्यस्तै, राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु कार्यक्रम पनि प्रधानमन्त्रीले भर्चुअल माध्यमबाटै गर्ने भएका छन्।

त्यस्तै दिउँसो सवार १ बजे बुटवल–गोरुसिंगे सडक स्तरोन्ततिको शिलान्यास कार्यक्रम तय भएको छ। सो शिलान्यास कार्यक्रम पनि भर्चुअल माध्यमबाटै शिलान्यास गरिने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *