उपराष्ट्रपति यादव र जापानी राजदूतबीच शिष्टाचार भेट

डिसी नेपाल
११ माघ २०८१ १६:२७

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि जापानी राजदूत मायदा तोरूले शुक्रबार (आज) शिष्टाचार भेट गरेका छन्। लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो।

भेटमा दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग र सहकार्य तथा द्विपक्षीय व्यापार तथा लगानी लगायतका विषयमा छलफल भएको छ।

सो अवसरमा उपराष्ट्रपति यादवले नेपाल र जापानबीच ऐतिहासिक सम्बन्ध रहिआएको उल्लेख गर्दै सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको सम्बन्ध थप घनिष्ट एवम् मैत्रीपूर्ण रुपमा अगाडि बढिरहेको बताए।

‘दुई देशबीच औपचारिक कूटनीतिक सम्बन्धको प्रारम्भ हुनुअघि जनस्तरमा पनि द्विपक्षीय सम्बन्ध उत्तिकै बलियो रहिआएकोमा खुशी व्यक्त गर्दछु ’ उनले भने, ‘नेपाललाई भूकम्प लगायत प्राकृतिक विपत्तिहरुमा जापानी जनता, सरकार, गैरसरकारी संस्था, विश्वविद्यालयहरुबाट प्राप्त सहयोगप्रति धन्यवाद दिन चाहन्छु।’

उनले नेपालले सदैव जापानसँगको सम्बन्ध र सहयोगलाई उच्च महत्त्व दिएको उल्लेख गर्दै हाम्रा दुई देशका सरकार र जनस्तरमा अत्यन्त सुमधुर सम्बन्धका साथ राम्रो मित्रता, समझदारी र सहयोगी भावना अभिवृद्धि भइरहेको स्मरण गरेका छन्। ‘नेपाल र जापानबीच ‘एसियाका ज्योति’ भगवान बुद्धको शिक्षाबाट प्रभावित युगौँ पुरानो सामाजिक–साँस्कृतिक सम्बन्ध रहिआएकोमा तपाईं (राजदूत) को कार्यकालमा हाम्रो सम्बन्ध थप प्रगाढ हुनेमा म विश्वस्त छु’ उपराष्ट्रपति यादवले थप्दै भने, ‘दुई देशबीच हुने गरेका उच्चस्तरीय भ्रमण तथा विचार आदानप्रदान नेपाल र जापानबीच रहिआएको अति घनिष्ट एवम् मैत्रीपूर्ण सम्बन्धको एउटा विशेष आयाम हो। यी भ्रमणहरूले हाम्रा दुई देशबीचको गतिशील सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुगेको छ।’

उनले नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान सन् १९५४ देखि एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रुपमा रहिआएको कुरा समेत स्मरण गराएका छन्। उपराष्ट्रपति यादवले भने, ‘जापानले नेपाललाई द्विपक्षीय अनुदान, द्विपक्षीय ऋण, बहुपक्षीय सहायता र प्राविधिक सहयोग गर्दै आएको छ। नेपालसँग जापानी आर्थिक सहयोगका प्रमुख क्षेत्रहरूमा मानव संसाधन विकास, स्वास्थ्य, कृषि विकास, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति आदि पर्दछन् ।

यादवले मानव संसाधन विकासमा जापानले नागढुंगा सुरुङमार्गको सुरुवातसँगै सडक पूर्वाधारको विकासमा सुरुङ प्रविधिको सुरुवात गर्ने नेपालको प्रमुख कार्यक्रममा जापान नजिकको विकास साझेदार रहेकोमा खुशी व्यक्त गरे। भेटमा राजदूत मायदा तोरूले नेपाललाई जापानी सहयोग जारी रहने उल्लेख गर्दै नागढुंगा सुरुङ मार्ग यसै वर्ष संचालनमा आउने बताए।

‘नेपाल र जापानको कुटनीतिक सम्बन्ध स्थापना पूर्वदेखि नै राम्रो र मजबुत सम्बन्ध छ ’ उनले भने,‘ मेरो कार्यकालमा देश–देश बीच मात्र नभई व्यक्ति–व्यक्तिको सम्बन्ध बलियो बनाउने प्रयास हुनेछ।’ राजदूत तोरुले नेपालले ओसाका एक्स्पोमा सहभागिता जनाउने विषयले आफू खुशी भएको समेत उल्लेख गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *