रविविरुद्धको मुद्दामा आज पनि आएन आदेश

डिसी नेपाल
११ माघ २०८१ १७:२९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दाको आदेश आज पनि आउन सकेन।

रूपन्देही जिल्ला अदालतमा बुटवलको सुप्रिम सहकारी प्रकरणका लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएपछि छ।

शुक्रबार भएको थुनछेक बहस नसकिएपछि आदेश आइतबार मात्रै आदेश आउन सक्ने बताइएको छ। बुधबार अदालतमा उपस्थित भएका लामिछानेको न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा थुनछेक बहस चलिरहेको छ ।

पहिलो दिन सरकारी वकिलका तर्फबाट जिल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका थिए भने उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपानेले बहस गरेका थिए।

यस्तै, जाहेरकर्ताका तर्फबाट वरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी, सुरेन्द्रराज भण्डारीसहित चारजनाले बहस गरेका थिए। शुक्रबार चिया समयपछि मात्रै लामिछानेका तर्फका कानुन व्यवसायीको बहस सुरु भएको थियो।

वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र सुरेन्द्र थापाको मात्रै बहस सकिएको छ। वरिष्ठ अधिवक्ता रमन श्रेष्ठसहित अधिवक्ता डा. नारायण कँडेल, राजेन्द्र सेढाई, सुरज बस्नेतले अब आइतबार बहस गर्नेछन्।

सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो। गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाइ भने पुरक उजुरीमा राखिएको हो।

प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिएपछि उनीमाथि उजुरी गरिएको हो।

उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन्। बुटवलपछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ। ती जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरेपछि चितवन र पर्सा दुवैमा रविले सरकारी वकिलसमक्ष बयान दिइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *