सुदूरपश्चिम र एपिएफ प्रधानमन्त्री कपको फाइनलमा भिड्दै
फाप्ला (कैलाली)। धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिम प्रदेश र एपिएफ क्लब भिड्ने भएका छन्। आज सम्पन्न सुपर फोरको अन्तिम खेलमा बागमती प्रदेशलाई ३० रनले हराएर सुदूरपश्चिमले फाइनलको यात्रा तय गरेको हो।
सुदूरपश्चिमको जितमा रितु कनौजियाले अलराउन्ड प्रदर्शन गरिन्। फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय १२ रन बनायो। जसमा रितुले अविजित ३४ र मनिषा बोहराले १६ रन जोडिन्।
सुदूरका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। बलिङमा बागमतीका लागि मनिषा उपाध्याय र सोनु खड्काले तीन–तीन र विपिशा शाहीले एक विकेट हात पारिन्।
जितका लागि पाएको एक सय १३ रनको लक्ष्य पछ्याएको बागमती १९।४ ओभरमा ८२ रनमा अलआउट भयो। बागमतीका यशोदा विष्टले ३० र हिलिसा गुरुङले २३ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। बलिङतर्फ सुदूरपश्चिमका कविता कुँवर र करिष्मा थापाले दुई–दुई र रितु कनौजिया र आशिका महराले एक–एक विकेट हात पारिन्। रितु प्लेयर अफ द म्याच चुनिइन्।
आजको हारसँगै बागमती प्रतियोगिताबाट बाहिरिएको छ। फाइनलमा पुगेको सुदूरपश्चिमले एपिएफसँग फाइनलमा भिड्ने छ। यसअघि आजै भएको अर्को सुपर फोरको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ६९ रनले हराएर फाइनलमा पुगेको छ। उपाधि भिडन्त शनिबार बिहान १० बजे हुनेछ।
यही माघ १ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो। राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको छ।
प्रतियोगिताको उपाधि विजेताले रु पाँच लाख, उपविजेताले रु तीन लाख, प्लेयर अफ द सिरिजलाई रु ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई रु २५–२५ हजार पुरस्कार प्राप्त गर्नेछन्।
Facebook Comment