आगलागीमा परी वृद्धाको मृत्यु

डिसी नेपाल
१२ माघ २०८१ ११:२८

काठमाडौं । गएराति काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङमा आगलागीमा परी एक वृद्धाको ज्यान गएको छ। धुलिखेलस्थित श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा आगलागी हुँदा दुई घर जल्नुका साथै एक वृद्धाको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार शुक्रबार राति ९:३० बजे उद्योगमा विद्युत् सर्ट भई आगलागी हुँदा सोही उद्योगका कामदार काठमाडौंको शङ्खरापुर नगरपालिका–१ नाङ्लेभारेका तोयानाथ दङ्गालकी श्रीमती ७० वर्षीया वृद्धा टीकादेवी दङ्गालको जलेर मृत्यु भएको हो। आगलागीमा घाइते तोयानाथको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

उद्योगबाट सुरु भएको आगोबाट नजिकका कृष्ण विकको कच्ची घर तथा धु्रवबहादुर विकको जस्तापाताको टहरोसमेत जलेका छन्। उक्त आगलागी पाँच वटा दमकलको सहायताबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा पौने दुई बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीबाट उद्योगको ८० लाख, अन्य दुई घरको रू १० लाख बराबरको क्षति भएको प्रारम्भिक मूल्यांकनबाट देखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकको शव परीक्षणका लागि धुलिखेल अस्पताल लगिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *