संख्या बढाउँदै पर्यटक प्रहरीलाई साधन सम्पन्न बनाइने छ : मन्त्री पाण्डे

डिसी नेपाल
१२ माघ २०८१ १२:४२

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक प्रहरीलाई समयानुकूल स्रोत र साधन सम्पन्न बनाइने बताएका छन्।

शनिबार काठमाडौंमा ४६औँ पर्यटक प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले बदलिँदो समयका चुनौती सामना गर्नका लागि पर्यटक प्रहरीलाई साधनसम्पन्न बनाउनुपर्ने र यसका लागि सरकारले काम गरिरहेको बताए।

यसको साथै, उनले आगामी दिनमा पर्यटक प्रहरीको संख्या बढाउन पनि मन्त्रालयले पहल गरिरहेको पनि बताए।

उनले भने, ‘हाल २४६ जना मात्र पर्यटक प्रहरी हुनुहुन्छ। नेपालको भूगोलअनुसार २४६ जना मात्र पर्यटक प्रहरी रहनु एकदमै न्यून हो। यसलाई बढाउन मन्त्रालयले नेपाल प्रहरीसँग छलफल गरिरहेको छ। २४६ जना पर्यटक प्रहरीले देशका २९ इकाइबाट सेवा दिँदै आएका छन्। अहिलेसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशमा पर्यटक प्रहरी इकाइ स्थापना भएको छैन। माघको अन्तिमसम्म सुदूरपश्चिमको खप्तड र कर्णालीको रारामा पर्यटक प्रहरी इकाई स्थापना गर्ने निर्णय भइसकेको छ। यसका लागि आवश्यक साधन स्रोत व्यवस्था सरकारले गर्छ।’

पर्यटकहरू अतिथि भएकाले उनीहरूलाई जति धेरै ‘अतिथिदेवो भव’ को रूपमा व्यवहार गर्न सके पर्यटकको संख्या बढाउन सकिने पनि उनको भनाइ छ।

यस्तै, उनले पर्यटन क्षेत्रको विकासका लागि नेपाल नआएका पर्यटकलाई एकपटक ल्याउने र एकपटक आएका पर्यटकलाई पटकपटक ल्याउने रणनीति मन्त्रालयले बनाइरहेको पनि बताए।

सोही क्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पर्यटकीय सुरक्षा नै पर्यटकको प्रमुख आधारशिला रहेको भन्दै पर्यटकीय सुरक्षा व्यवस्थापन कार्यमा सबै सरोकारवाला सम्पूर्ण निकायहरुको भूमिका अनिवार्य रहेको बताए।

उनले भने, ‘पर्यटकीय सुरक्षा नै पर्यटकको प्रमुख आधारशिला रहेको हुदाँ हरेक पक्षबाट सुरक्षालाई पर्यटनसँग जोड्न जरुरी छ जसले हाम्रो पर्यटन क्षेत्रलाई दिगो रुपमा सञ्चालन गर्नको लागि सहयोग पुर्‍याउन सक्छ। पर्यटकीय सुरक्षा व्यवस्थापन कार्य प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने हुदाँ यसका लागि सरोकारवाला सम्पूर्ण निकायहरुको भूमिका अनिवार्य रहेको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *