कांग्रेसले स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने

डिसी नेपाल
१२ माघ २०८१ १५:०७

काठमाडौं । नेपाली कांग्रेसले आगामी माघ १६ र १७ गते नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने भएको छ।

कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै नेपालको उद्यमशीलता क्षेत्रमा नयाँ ऊर्जा सिर्जना गर्ने र देशको आर्थिक रुपान्तरणमा योगदान पुराउने उदेश्यले सानेपामा सम्मेलनको आयोजना गरिएको जनाएको हो।

दुईदिने सम्मेलनको कांग्रेस सभापति शेर बहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने सम्मेलनमा उद्योग, उद्यमशीलता क्षेत्रमा क्रियाशिल व्यक्तित्वको सहभागीता रहने आयोजकले जनाएको छ।

नवप्रवर्तन र उद्यमशीलतामार्फत आर्थिक रुपान्तरण गर्न, स्टार्टअपमा लगानीका अवसर र चुनौतिको विश्लेषण गर्न तथा महिला र युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्न नीति सुधारको पैरवी गर्ने उदेश्यका साथ सम्मेलनको आयोजना गरिएको कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागकी संयोजक तथा केन्द्रीय सदस्य उर्मिला थपलियाले जानकारी दिइन्।

सम्मेलनमा ८० भन्दा बढी स्टल रहने र ६ हजारभन्दा बढी सहभागी रहने आयोजकले जनाएको छ। सम्मेलनका क्रममा नवप्रवर्तन र उद्यमशीलता कृषि उद्यमशीलता, सूचना प्रविधि विकास, महिला उद्यमशीलता र प्रेरणादायी उद्यमशीलता यात्राबारे विशेष छलफल हुने कांग्रेसले जनाएको छ। सम्मेलनबाट प्राप्त सुझावले व्यवसायीक नीति सुधार र लगानीको वातावरण बनाउन ठोस मार्गनिर्देशन गर्ने अपेक्षा आयोजकको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *