दीर्घकालीन रणनीति सुधार्दै पर्यटन मन्त्रालय
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका बद्रीप्रसाद पाण्डे दीर्घकालीन महत्त्व राख्ने रणनीतिक सुधारमा केन्द्रित भएका छन्। नीतिगत सुधार, संरचनागत परिवर्तन र आधुनिक प्रविधिमैत्री सेवालाई चुस्त र प्रभावकारी बनाउन उनी लागिपरेका हुन्।
उनको नेतृत्वमा परिणाममुखी र दीर्घकालीनरूपमा प्रभावकारी हुने कामहरू अघि बढाइएका छन्। संस्कृतिको संरक्षण प्रवर्द्धन, समग्र पर्यटन क्षेत्रको दिगो विकास तथा नागरिक उड्डयन क्षेत्रको उन्नयनमा मन्त्रालयले कामहरू अगाडि बढाएको छ।
यस अवधिमा गौतमबुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक उडान सुचारू भएको छ। ठूलो धनराशि खर्चेर निर्माण गरिएका दुवै विमानस्थलका लागि व्यावसायिक उड्डयन कार्य योजना पारित गरी कार्यान्वयनमा ल्याइएको हो।
सरकारले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न चहाने विमान कम्पनीलाई विभिन्न कर छुटलगायतका सुविधा उपलब्ध गराउने कार्ययोजना स्वीकृत भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अलजजिरा एयर, फ्लाइ दुबई र थाई एयर एसियाले उडान सुरू गरी सकेका छन्। कम भिजिविलिटी भएका बेला उडान भर्न समस्या भएको भन्दै केही विदेशी हवाइ कम्पनीले बीचमा उडान तालिका कटौती गरेको भए पनि अहिले पुनः थप गरिरहेका छन्।
परम्परागत रूपमा रहेको इन्स्टुमेण्ट ल्याण्डिङ सिस्टम (आइएलएस) को विकल्पमा भूउपग्रहमा आधारित रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स-अथोराइजेसन रिक्वायर्ड (आरएनपी–एआर) प्रणाली जडान भइ सञ्चालनमा ल्याइएको छ। भारतले आफ्नो आकाशमा पहुँच पुग्ने भन्दै आइएलएस सञ्चालनका लागि अनुमति नदिएपछि नयाँ विकल्प अगाडि सारिएको हो। आरएनपी–एआर भूउपग्रहमा आधारित अवतरण प्रणाली हो भने आइएलएस उपकरणमा आधारित अवतरण प्रविधि हो। आरएनपी–एआर नेभिगेसन प्रणालीले जहाजलाई चुनौतीपूर्ण भूभाग र खराब मौसममा सुरक्षित अवतरणका लागि मद्दत गर्छ।
प्राधिकरण विभाजन विधेयक तयार
नेपालमा लामो समयदेखि चर्चामा रहेको नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायका रूपमा एउटै निकाय राख्न नहुने यसबाट स्वार्थ बाझियो भन्ने गुनासो सम्बोधन गर्न प्रक्रिया अगाडि बढाइएको छ। कानुनी सुधारबाट युरोपेली युनियनले नेपाली वायुसेवा कम्पनीमाथि लगाएको प्रतिबन्ध फुकुवा हुन सहयोग पुग्ने विश्वास लिइएको छ।
नीतिगत सुधार, संरचनागत परिवर्तन र आधुनिक प्रविधिमैत्री सेवालाई चुस्त र प्रभावकारी बनाउन मन्त्रीको नेतृत्वमा मन्त्रालयले पहल गरिरहेको छ। पर्यटनमन्त्री पाण्डेले ऐनको नयाँ मस्यौदा बनाउँदा समय लाग्ने भएकाले पुरानो ऐनको मस्यौदालाई नै खोजेर त्यसलाई परिमार्जनसहित मन्त्रिपरिषद्मा पेस गरिएको र सुधार गर्नुपर्ने विषय संसद्बाट संशोधन गरेर सुधार गरिने बताए। उनले मन्त्रालयको काम बारबाहीलाई चुस्त र प्रभावकारी बनाउन तत निकायका नीतिगत सुधार र संरचनागत परिवर्तनलाई महत्त्वकासाथ अगाडि बढाइएको विश्वास व्यक्त गरे।
मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन तथा पुनरावलोकन सर्भेक्षण (ओ एण्ड एम) पुनरावलोकन काम सम्पन भएको मन्त्रालयले जनाएको छ।
नीतिगत सुधारको थालनी
पर्यटन विधेयक संघीय संसद्मा दर्ता भएको छ भने क्यासिनो नियमावली, २०७० संशोधनका लागि मन्त्रिपरिषद्मा पेस गरिएको छ। पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ संशोधन गरिएको छ।
पर्यटन नीति, २०८१ मस्यौदा तर्जुमा गरी सहमतिको लागि अर्थ मन्त्रालयमा पठाइएको छ। संस्कृति नीति, २०८१ तर्जुमा गरी स्वीकृतिका लागि मन्त्रिपरिषद् समक्ष पेस गरिएको छ भने संघीय भाषा विधेयक र सङ्ग्रहालय विधेयक तर्जुमा कार्य अघि बढाइएको छ।
भ्रमण दशक कार्यान्वयन
मन्त्रालयको महत्वपूर्ण काममध्ये पर्यटन दशक (२०२५–२०३५) कार्ययोजना निर्माण गरी स्वीकृतिको क्रममा रहेको छ। भ्रमण दशक कार्यान्वयन गरेर वार्षिक ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ। नेपालमा सन् २०१९ मा १२ लाख हाराहारी विदेशी पर्यटक आएका थिए। सन् २०२४ मा ११ लाख बढी पर्यटक नेपाल आएका थिए।
अन्तर सरकारी विषयगत समितिका दुई वटा बैठक पोखरा र ठाकुरद्वारामा सम्पन्न गरिएको छ। पर्यटन विभागबाट प्रबाह हुने सेवालाई अनलाइनबाट प्रवाह हुने व्यवस्था मिलाईएको मन्त्री पाण्डेले बताए। उनले अन्य राष्ट्रिय नीतिहरूसँग तादात्म्यता कायम भई पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। तीनवटै तहहरूबीच समन्वय र सहकार्यको संस्कृति विकास हुने मन्त्री पाण्डेको भनाइ छ।
पर्यटन पूर्वाधार निर्माणमा तीव्रता
सुदूरपश्चिम प्रदेशको खप्तड र कर्णाली प्रदेशको रारामा पर्यटक प्रहरीको एकाइ विस्तार गरिएको छ। प्रत्येक प्रदेशमा एउटा हिल स्टेशन निर्माण गर्ने उद्देश्यले चारवटा प्रदेशका एक एक स्थान छनौट गरी विस्तृत परियोजना निर्माण कार्य सुरू गरिएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ।
मन्त्रालयको अग्रसरता र समन्वयमा प्रदेश सरकार र एसियाली विकास बैंकबीच सम्झौता भई खप्तडबाट बढीमालिका सम्मको पदमार्ग निर्माण प्रक्रिया अगाडि बढेको छ। उक्त पदमार्ग रारासम्म विस्तारित हुनेगरी कार्य भइरहेको छ। थप ५७ हिमाल आरोहणको लागि खुला गरिएको छ।
मन्त्रालयअन्तर्गतका सबै निकायहरूसँग सम्बन्धित व्यवसायको दर्तादेखि व्यवसाय सञ्चालन प्रक्रियाहरूलाई सहजीकरण गर्दै झन्झटमुक्त बनाउन डिजिटाइजेशन सहित एकद्वार प्रणाली अवलम्बन गर्ने प्रक्रिया अगाडि बढाइएको छ।
द्विपक्षीय हवाई सेवा सम्झौता
नेपाल र फ्रान्सबीच सम्पन्न भएको द्विपक्षीय हवाई सेवा सम्झौता र समझदारी पत्र संशोधन गर्ने कार्य अगाडि बढाइएको छ। नेपाल र इण्डोनेसियाबीच द्विपक्षीय हवाई सेवा संझौता गर्ने प्रक्रिया अघि बढाइएको छ।
राजविराज विमानस्थलमा रात्रीकालीन अवतरण क्षमतायुक्त बनाइ सञ्चालनमा ल्याइएको छ। यो सँगै १० वटा विमानस्थल रात्रीकालीन उडान सञ्चालन योग्य रहेको छ।
त्रिअविमा ट्क्सी वे निर्माण
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको क्षमता वृद्धि गर्न समानान्तर ट्याक्सी वे विस्तारसम्बन्धी परियोजनाको तोकिएकै समयमा सम्पन्न गर्नेगरी कार्यप्रगति भइरहेको छ। हालसम्म करिब ४५ प्रतिशत काम सम्पन्न भएको विमानस्थल कार्यालयले जनाएको छ।
विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि गर्न गुरू योजना बमोजिम विभिन्न चरणमा निर्माण कार्य भइरहेको छ। गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा विमानस्थल बन्द गरेर हाल समानान्तर ट्याक्सी वे बिस्तार कार्य भइरहेकोमा थप दुई घण्टा उडान समय थपिँदैछ।
अन्तरप्रदेश हवाई अवद्धता
समग्र नागरिक उड्डयन क्षेत्रको सुधारका लागि अध्ययन गर्न एक उच्चस्तरीय समिति गठन भई कार्य अघि बढाइएको मन्त्रालयले जनाएको छ। वायुयान उडान प्रशिक्षण संस्था फाइङ स्कुल सञ्चालन गर्नका लागि इजाजत माग गरी सोको सम्बन्धमा मन्त्रालयले अध्ययन थालेको छ।
युरोपियन युनियनको सुरक्षा चासोको पूचीबाट निस्किन महत्त्वपूर्ण दुर्घटना जाँचसम्बन्धी स्थायी संरचना निर्माण गर्नेगरी ऐनको मस्यौदा तर्जुमाको कार्यअघि बढाइएको छ। नेपाल सरकारको निर्णयअनुसार नागरिक उड्डयन क्षेत्रको सुधारसम्बन्धी उच्चस्तरीय अध्ययन तथा सुधार समिति गठन भई कार्य प्रारम्भ भएको छ।
संस्कृतिक सम्पदा संरक्षण
कपिलवस्तुस्थित तिलौराकोटलाई विश्वसम्पदा सूचीमा समावेश गर्न पुरातात्विकस्थल पहिचान भएको क्षेत्रको थप जमिन अधिग्रहण, युनेस्को इसिमोडको मिसनद्वारा स्थलगत अवलोकन लगायतका कार्यहरू गरिएका छन्।
भूकम्पबाट क्षति भई बन्द अवस्थामा रहेको राष्ट्रिय सङ्ग्रहालय परिसरको ऐतिहासिक भवनको जीर्णोद्धार कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ। लुम्बिनी विश्वसम्पदा स्थलको संरक्षण एवं व्यवस्थापनका लागि कार्ययोजना, २०८१ निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ। नेपालबाट पहिलो पटक अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी आवधिक प्रतिवेदन तयार गरिएको छ। लुम्बिनी विकास कोषमा वर्षौदेखि प्रयोगविहिन अवस्थामा रहेका विद्युतीय बसलाई सञ्चालनमा ल्याइएको छ।
मन्त्रालय मातहतको छपाइ प्रज्ञा प्रतिष्ठानबाट
पर्यटन मन्त्रालय तथा सम्बद्ध निकायहरूको सम्पूर्ण छपाईसम्बन्धी कार्यहरू प्रज्ञा प्रतिष्ठानको अत्यधुनिक प्रेसबाट मात्र गर्ने निर्णय भएको छ। कपिलवस्तु, रूपन्देही, कास्की, बाग्लुङ हुँदै मुक्तिनाथसम्म जोड्ने गरी स्वामीनारायण इन्लाइटमेन्ट सर्किटको नक्शाङ्कनको कार्य अगाडि बढाइएको छ।
यसबाट विश्वमा करिब रू पाँच करोडभन्दा बढी अनुयायी भएका स्वामीनारायण सम्प्रदाय र धार्मिक सम्पदा नेपालसँग जोडिई धार्मिक पर्यटन उल्लेख्य योगदान पुग्ने अनुमान छ। मन्त्रालयले थालनी गरेका सुधारका कामले आगामी दिनमा दिगो विकास र आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास लिइएको छ।
Facebook Comment