काठमाडौँमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु

डिसी नेपाल
१२ माघ २०८१ १९:५९

काठमाडौं। दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी वृहत् कला प्रदर्शनी आजदेखि यहाँ सुरु भएको छ। ‘फेमिनिस्ट फ्युचरः आर्ट, एक्टिभिजम एण्ड साउथ एशियन वुमनहुड’ शीर्षकको प्रदर्शनीले दक्षिण एशियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने प्रदर्शनीका परिकल्पनाकार डा अर्शिया लोखन्डवालाले बताइन्।

तारागाउँ नेक्स्टको आयोजना र सराफ फाउन्डेसनको सहकार्यमा बौद्धस्थित तारागाँउ सांस्कृतिक केन्द्रमा सुरु प्रदर्शनी तीन महिनासम्म अवलोकन गर्न पाइने छ। प्रदर्शनीमा दक्षिण एसियाका १० जना महिला कलाकारका सृजना राखिएको छ।

प्रदर्शनीले पितृसत्तात्मक संरचना, परम्परागत सोच र लैङ्गिक राजनीति जस्ता विषय सम्बोधन गर्ने डा लोखन्डावाका भनाइ छ। प्रदर्शनीमा भारतका चार, नेपालका तीन र श्रीलंका, पाकिस्तान र बंगलादेशका एक/एक कलाकारका सृजना राखिएका छन्।

भारतीय कलाकारहरू अनिता दुबे, मिथु सेन, शेबा छाच्छी र पुष्पमाला, नेपाली कलाकार अश्मिना रञ्जित, विधाता केसी र उमा विष्टसँगै श्रीलंकाकी अनोली पेरेरा, पाकिस्तानकी नाइजा खान र बंगलादेशकी तायबा बेगम लिपीले आफ्ना सृजना प्रदर्शनीमा राखेका छन्।

कलाकारहरूले कलामार्फत पारम्परिक लैंगिक भूमिकालाई चुनौती दिँदै महिलाको स्वायत्तता र सामाजिक संरचनाहरूको प्रभाव उजागरको प्रयास गर्ने जनाइएको छ।

नेपालको महिला अधिकारसँग सम्बन्धित मुद्दालाई दक्षिण एशियाली देशका महिला अधिकारका विषयसँग सम्बन्धित संघर्षसँग जोड्ने प्रयास स्वरूप प्रदर्शनी आयोजना गरिएको सराफ फाउन्डेशन तथा तारागाउँ नेक्स्टकी संस्थापक निर्देशक नमिता साराफको भनाइ छ।

प्रदर्शनीको पहिलो दिन अश्मिना रञ्जितको ‘सीता द आइडियल वाइफ २०२५’ मञ्चन गरिएको थियो । प्रस्तुतिले ब्राह्मण पितृसत्ताले महिलालाई कसरी गाँजेर राखेको छ भन्ने सन्देश दिन खोजिएको रञ्जितको भनाइ छ। उनले महिलाको अधिकार र स्वतन्त्रता खोस्ने परम्पराअनुसारको विवाहमा गरिने ‘कन्यादान’ प्रथाको आलोचना गरेकी छन्। लैंगिकताको कुरा बुझ्नका लागि जात व्यवस्थाबारे बुझ्न आवश्यक रहेको प्रदर्शनीमा सहभागी लेखक तथा अभियन्ता सरिता परियारले बताइन्।

प्रदर्शनीमा विभिन्न समकालीन मुद्दाहरूलाई अन्वेषण गर्ने सृजना समेत समावेश छन्। पुष्पमाला एनको ‘अभेगा–द प्यासन २०१२’ ले रामायणका महिलाका पात्रहरूको पारम्परिक चित्रणलाई चुनौती दिँदै उनीहरूको सशक्त पक्षबारे उजागर गर्ने जनाइएको छ।

त्यस्तै, तैयबा बेगम लिपीले आफ्ना सृजनामा विवाहको जटिलता र हिंसात्मक प्रवृत्तिलाई चित्रित गरेकी छन्। उमा विष्टले छाउपडी प्रथाको आलोचना गर्दै नेपाली महिलाका संघर्षलाई प्रस्तुत गरेकी छन्। प्रदर्शनी अवलोकनका लागि विद्यार्थीका लागि रु दुई सय तोकिएको छ भने अन्य अवलोकनकर्ताले रु तीन सय तिर्नुपर्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *