खेलकुद क्षेत्रमा रहेको विकृति न्यूनीकरणमा पत्रकारको भूमिका महत्वपूर्णः सञ्चारमन्त्री गुरुङ
कास्की। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले खेलकुद क्षेत्रमा रहेका विकृतिहरु न्यूनीकरणका लागि खेल पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको तेस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको आज साँझ पोखरामा आयोजना गरिएको शपथ तथा पदस्थापन कार्यक्रममा उनले खेलक्षेत्रका गलत प्रवृत्तिलाई अन्त्य गर्नका लागि कलमका माध्यमबाट सहयोग गर्न आग्रह गरे।
‘खेलक्षेत्र भद्रगोल र अस्थिर छ, खेलक्षेत्रमा नेतृत्वमा बस्नेहरुमा विदेश भ्रमणमा बढी रुचि राख्ने प्रवृत्ति छ। यस्ता गलत प्रवृत्तिको सञ्चारकर्मीले विषय उठाउनुपर्दछ’, मन्त्री गुरुङले भने। सञ्चारमन्त्री गुरुङले पोखरा रंगशालाभित्रको क्रिकेट मैदान र फुटबल रंगशालामा रात्रिकालीन बत्ती (फ्लड लाइट) राख्नका लागि आफूले पहल गर्ने समेत प्रतिबद्धता जनाए।
नेपालको अनलाइन सञ्चारमाध्यममा धेरै समस्या रहेका र मिलेर बसेको समाजलाई विग्रह ल्याउने प्रयास गरेकाले त्यसको नियमनका लागि अनलाइन सञ्चारमाध्यम नियमन विधेयक पारित गरिएको सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सो अवसरमा जानकारी दिए।
कार्यक्रममा सञ्चारमन्त्री गुरुङले खेलकुद पत्रकार मञ्चको नवनिर्वाचित कार्यसमितिका अध्यक्षलगायत पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेका थिए।
यही माघ १० गते सम्पन्न मञ्चको अधिवेशनले मानबहादुर घर्तीमगर (एमबी आस्था)अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो। मञ्चको उपाध्यक्षमा राजाराम पौडेल, उपाध्यक्ष समावेशीमा उमा आलेमगर, महासचिवमा पर्शुराम शर्मा, सचिवमा राजु गिरी र कोषाध्यक्षमा विमल तिवारी रहेका छन्।
कार्यसमितिको सदस्यहरुमा कृष्ण दवाडी, गीता राना, चेतबहादुर (प्रवीण) थापा, बसबहादुर (वसन्त) शेर्पा, रिखिराम जिसी, विजय नेपाली र बालकुमारी पौडेल निर्वाचित भएका थिए।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारहरुको साझा संस्था हो। नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका नाममा विसं २०५७ मा स्थापना भएको हो। संघीयतापछि गण्डकी प्रदेशका रुपमा रहेको यो संस्था विसं २०७५ मा स्वायत्त संस्थाका रुपमा विकास गरिएको हो। मञ्चले खेल पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना तथा उनीहरुको हकहित र सहयोगका क्षेत्रमा काम गरिरहेको छ।
Facebook Comment