अमेरिकाबाट शुरु भयो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को अडिसन
न्यूयोर्क। सबैभन्दा धेरै पुरस्कार राशी भएको विश्वस्तरीय नेपाली गायन र नृत्यका रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन दुईको अडिसन अमेरिकाको ओहायोबाट शुरु भएको छ।
संसारका ५ महादेशहरुमा पर्ने १२ देशका १४ शहरहरुमा तय गरिएका यी अडिसनहरुको शुरुवात अमेरिकाको कोलम्बसबाट जनवरी २५ र २६ मा भएको छ। अमेरिका र क्यानडाका नेपाली जातिका गायन र नृत्यका प्रतिभाहरु सम्मिलित एक भव्य समारोहका बीच आयोजक संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले पानसमा बत्ती बालेर शुभारम्भ गरेका थिए।
विश्वभर छरिएर रहेका नेपाली जातिका कलाकारहरुबीच प्रतिष्पर्धा गराइने यी दुबै शोहरुका विजेताले १ करोड, उपविजेताले २५ लाख र तेस्रो हुनेले १० लाख पुरस्कार पाउने छन्।
शुभारम्भका अवसरमा आयोजित समारोहलाई संबोधन गर्दै फाउण्डेसनका अध्यक्ष अधिकारीले संसारको जुनसुकै कुनामा बसे पनि आफ्नो मौलिक संस्कृतिलाई जीवन्त राख्न प्रयत्न गरिरहनु पर्ने बताए । उनले नेपाली जातिको अमूल्य संस्कृतिले नै आफूहरुलाई नेपाली बनाएको भन्दै यसलाई जोगाउन विश्वस्तरीय दुई शो हरु शुरु गरिएको बताए।
नेपाली जातिको संस्कृतिलाई गीत, संगीत र नृत्यका माध्यमबाट अर्को पुस्तासम्म पुस्तान्तरण गर्ने, यही माध्यमबाट नेपाली जातिको एकतालाई संसारभर मजवुत पार्ने र जहां सुकै बसे पनि नेपाली जातिलाई नेपालदेशसंग जोड्ने उदेश्यले गैरनाफामुलक संस्था फाउण्डेसनले यी शो हरु आयोजना गर्दै आएको पनि उनले जानकारी दिए।
अमेरिकाबाट शुरु भएको अडिसन युरोपका लण्डन र पोर्चुगल, जापानको टोकियो, चीनको हंगकंगमा फेब्रुअरी १५ र १६ मा हुंदै छ भने अष्ट्रेलियाको सिड्नीमा फेब्रुअरी २३, थाइल्याण्डको बैकक, युएईको दुवाईमा फेब्रुअरी २२ र २३ मा हुने जानकारी पनि दिइयो।
त्यसैगरी कतारको दोहामा फेबु्रअरी २१ मा र भारतको मुम्बईमा मार्च १ र २ मा अडिसन हुने छन्। भारतको सिलगसडीमा मार्चको ८ र ९ तारिकमा अडिसन सम्पन्न गरेपछि नेपालका विभिन्न चार शहरहरु विर्तामोड, पोखरा, नेपालगञ्ज र काठमाडौं अडिसनहरु सम्पन्न गरी संसारभरबाट छनिएका प्रतिभाहरुलाई फाउण्डेसनले आफ्नै खर्चमा नेपाल लैजाने र बांकी प्रतिष्पर्धालाई अघि बढाउने छ। दुवै शो हरु नेपाल टेलिभिजनबाट प्रसारण गरिने जानकारी पनि कार्यक्रममा दिइएको थियो।
अमेरिका र क्यानडाका गीत र नृत्यका ६० भन्दा बढी प्रतिभाहरुले भाग लिएको सो अडिसनबाट गीततर्फ ६ जना र नृत्यतर्फ ५ जना छनौट गरिएको छ।
अमेरिकाको फिल्ड अडिसनका लागि निर्णायकहरुमा गायनतर्फ बरिष्ठ संगीतकार सुशील विश्वकर्मा , गायकहरु केशब पौडेल, अर्जुन रसाइली र संगीतकार मुस्कान बलम्पाकी मगर तथा नृत्यतर्फ नायक दीलिप रायमाझी, शंकर विसी, रुपेश उप्रेती र पार्वती राई थिए।
कार्यक्रममा अध्यक्ष अधिकारीले फाउण्डेसनको संस्कृति विभागको प्रमुखमा पेन्सिलभेनिया निवासी ओमराज गुरुङलाई नियुक्त गरिएको जानकारी पनि दिएका थिए। मेरो डान्स युनिभर्सको अमेरिका अडिसनका दिन इन्ट्रा डान्स स्कूल कोलम्बसका विद्यार्थीहरुले समेत आकर्षक नृत्यहरु देखाएका थिए।
Facebook Comment