बंगलादेशमा प्रधानमन्त्रीपछि अब सेना प्रमुखलाई पनि पदच्यूत गर्ने षड्यन्त्र !

डिसी नेपाल
१५ माघ २०८१ १३:३५

काठमाडौं । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनापछि अहिले वर्तमान सेना प्रमुख जनरल वकार–उज–जमानलाई पनि पदच्युत गर्ने षडयन्त्र रचिएको छ ।

इकोनोमिक टाइम्सका अनुसार बंगलादेशी सेनाका लेफ्टिनेन्ट जनरल मोहम्मद फैजुर रहमानले सेनाको नेतृत्व सम्हाल्ने तयारी गरिरहेका छन्। यस षड्यन्त्रमा धेरै कट्टरपन्थी अधिकारीहरू पनि संलग्न छन्।

फैजुर रहमानले गत हप्ता ढाकामा पाकिस्तानको गोप्य एजेन्सी आईएसआईका प्रमुख र उनको प्रतिनिधिमण्डलसँग कुरा गरेका थिए। यससँगै उनीहरूले बंगलादेशको गुप्तचर एजेन्सी डीजीएफआईबाट सहयोग जुटाउने प्रयास गर्न सक्छन्।

वकार-उज-जमान पूर्व प्रधानमन्त्री शेख हसिना र भारतका समर्थक मानिन्छन्। उनले अगस्ट ५ मा भएको कू पछि शेख हसिनालाई बंगलादेशबाट भाग्न मद्दत गरेका थिए । यसको विपरित मोहम्मद फैजुर रहमान आफ्नो कट्टरपन्थी सोच र पाकिस्तान समर्थक अडानका लागि परिचित छन्।

बंगलादेशका सेना प्रमुख जनरल वकार–उज–जमान ३९ वर्षदेखि सेनामा छन् । बंगलादेश मिलिटरी एकेडेमीबाट स्नातक गरेपछि उनले बंगलादेशको नेशनल युनिभर्सिटीबाट रक्षा अध्ययनमा स्नातकोत्तर गरे। यसबाहेक उनले लण्डनको किङ्स कलेजबाट डिफेन्स स्टडीजमा एम.ए. गरेका छन् ।

नोभेम्बर २०२० मा उनलाई लेफ्टिनेन्ट जनरलको रूपमा बढुवा गरिएको थियो। उनले इन्फेन्ट्री ब्रिगेड, स्कुल अफ इन्फेन्ट्री एण्ड ट्याक्टिक्स र आर्मी हेडक्वार्टरको कमाण्ड गरेका छन् । वकारले संयुक्त राष्ट्र शान्ति मिसनमा पनि काम गरिसकेका छन् ।

प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नुअघि उनी करिब ६ महिना सेनाको चीफ अफ जनरल स्टाफ थिए । २३ जुन २०२४ मा उनी चीफ अफ आर्मी स्टाफ अर्थात् बंगलादेशको सेना प्रमुख बने।

मिडिया रिपोर्टका अनुसार बंगलादेशी सेना प्रमुखकी पत्नी बेगम सरहनाज कमलिका रहमान शेख हसिनाका काका मुस्ताफिजुर रहमानकी छोरी हुन्।

मुस्ताफिजुर रहमानले सन् १९९७ देखि २००० सम्म सेनाको नेतृत्व सम्हालेका थिए । यस अवधिमा शेख हसिना बंगलादेशकी प्रधानमन्त्री पनि थिइन् ।

बंगलादेशमा गत जुन ५ मा उच्च अदालतले रोजगारीमा ३० प्रतिशत कोटा प्रणाली लागू गरेपछि ढाकाका विश्वविद्यालयका विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । यो आरक्षण स्वतन्त्रता सेनानीका परिवारलाई दिइएको थियो। यो आरक्षण खारेज भएपछि विद्यार्थीहरूले प्रधानमन्त्री शेख हसिनाको राजिनामाको माग गर्न थाले ।

केही बेरमै ठूलो संख्यामा विद्यार्थी र आम जनता प्रधानमन्त्री र उनको सरकारविरुद्ध सडकमा उत्रिए । यस विरोधको दुई महिनापछि अगस्ट ५ मा शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर बंगलादेश छोडेर भारत गइन् । त्यसपछि सेनाले देशको कमान्ड लियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *